सत्तारुढ गठबन्धनको चुनावी तालमेल विरुद्ध खनिए एमाले कार्यकर्ता

महेन्द्रनगर । सत्तारुढ गठबन्धनको आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता कार्यकर्ता खनिएका छन् । उनीहरुले फेसबुकमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय राखेर असन्तुष्टि पोखका छन् ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धका दलको चुनावी तालमेलका कारण एमालेलाई कमजोर अवस्थामा पुगाएको थियो । आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेपछि एमाले नेता कार्यकर्ता झस्किएका छन् । उनीहरुले त्यस विरुद्ध फेसबुकमा अभियान चलाएका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, जिल्ला सह इन्चार्ज, नगर अध्यक्ष र विद्यार्थी संगठनका अध्यक्ष सहितले गठबन्धनको चुनावी तालमेल विरुद्ध असन्तुष्टि पोखेका छन् । एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कमला बोहराले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचार र कमिसनमा लिप्त भएको भन्दै फेसबुकमा असन्तुष्टि पोखेकी छन् । स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयरमा पराजित उनी संघ र प्रदेश सभाको निर्वाचनपछि प्रदेश सरकार विरुद्ध देखिएकी छन् ।

सह इन्चार्ज बोहराले असन्तुष्टिले उनी आगामी निर्वाचनमा प्रदेश सभा सदस्यको पनि आकाँक्षी हुन सक्ने एमाले नेताहरुको आशंका छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसित पहुँच भएकी उनी स्थानीय तह निर्वाचनमा जिल्लाको सिफारिशमा नपरी टिकट लिएर आएकी थिइन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हिरा चन्दले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गर्दै हाइब्रिड पार्टी गठन गर्दा राम्रो हुने धारणा ल्याएका छन् । गठबन्धन बनाएर चुनाव लड्ने हो फरक पार्टी बनाउनको अर्थ नहुने उनी बताउँछन् ।

‘आजीवन फरक गठबन्धनमै चुनाव लड्ने भए फरक फरक पार्टी भनेर किन जनतालाई भ्रममा पार्न , नेपाल हाइब्रिड पार्टी गठन गर्दा राम्रो होला’ चन्दले भनेका छन् ।

एमालेको भीमदत्त नगर कमिटीका अध्यक्ष हिमाल बहादुर चन्दले सत्तारुढ गठबन्धनले नेपालको राजनीतिलाई केही समय धमिल्याउने भनेर असन्तुष्टि पोखेका छन् ।

चन्दले सत्तारुढ गठबन्धनलाई जनाधार र जन विश्वास गुमेपछि बनेको अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । उनले गठबन्धनलाई लाजमर्दो भनेर टिप्पणी गरेका छन् ।

‘जनाधार जन विश्वास गुमाएपछिको लाजमर्दो अपवित्र गठबन्धन काला र राता मिल्दा यो संस्करण अझै केही समय नेपालको राजनीतिलाई धमिल्याउने निश्चित छ । जनताले बुझिसके’ चन्दले फेसबुकमा लेखेका छन् ।

एमालेको कृष्णपुर नगर कमिटी अधयक्ष गणेश सिह ऐरीले दलहरुले गठबन्धन नगरी आफ्ना विचार, सिद्धान्त, नीति, कार्यक्रम लिएर चुनाव लड्नु पर्ने धारणा राखेका छन् । स्थानीय तह निर्वाचनलाई संकेत गर्दैै उनले विगतमा पनि गठबन्धनको अवस्था देखिएकाले यस पटक पनि जनताले हिसाबकिता गर्ने नेता ऐरीको भनाई छ ।

‘राजनीतिक पार्टीहरुले आफ्नो विचार, विचार, सिद्धान्त, दृष्टिकोण र एजेण्डा सहित आँट र साहस गरी छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा जानु पर्छ’ उनले भनेका छन्,‘होइन भने किन छुट्टाछुट्टै पार्टी बनाउने, सबै पार्टी एकता गरी अघि बढे भयो , जनताले त हिसाबकिताब गर्ने नै छन्, त्यो त विगतमा पनि धेरै ठाउँमा देखियो, यस पटक पनि देखिन्छ ।’

एमाले सम्बद्ध अनेरास्ववियु कञ्चनपुरका संयोजक कमल रोकायाले एक्लै हार्ने भएपछि गठबन्धन गरी एमालेसित चुनावी प्रतिस्पर्धा गर्ने आँट गर्न लागेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले चुनावमा जनताले गठबन्धनको हिसाबकिताब गर्ने चेतावनी दिएका छन् ।

‘नेकपा एमालेका विरुद्ध पाँच÷पाँच राजनीतिक दलहरु गठबन्धन गरेर चुनावमा जनताको प्यारो पार्टी नेकपा एमालेसंग प्रतिस्पर्धा गर्ने आँटठ गर्दैछन्, तर जनताले यिनीहरुको हिसाब राखेका छन्, देखाउने कुरा निश्चित नै छ’ उनले भनेका छन् ।

अघिल्लो निर्वाचनमा भने एमाले र माओवादी वाम गठबन्धन गरी चुनाव लडेका थिए । तत्कालिन वाम गठबन्धनले कञ्चनपुरका संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा चुनाव जितेको थियो । अहिले काँग्रेस सहितका दलबीच चुनावी गठबन्धन हुँदा एमाले नेता कार्यकर्ता गठबन्धन विरुद्ध देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका दल मित्रवत प्रतिस्पर्धा गरी चुनाव लडेका थिए । कञ्चनपुरमा गठबन्धनमा सीट बाँडफाँटमा सहमति नभएपछि अन्तिममा माओवादी र समाजवादीबीच तालमेल भएको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.