ghar sansar

चुनाव घोषणापछि सत्तारुढ गठबन्धन दलका नेता कार्यकर्ताले छाड्न थाले पार्टी, रोज्न थाले एमाले

महेन्द्रनगर । संघ र प्रदेशको चुनाव घोषणापछि सत्तारुढ गठबन्धन आवद्ध दलका नेता कार्यकर्ता पार्टी छाडेर नेकपा एमालेमा आउन थालेका छन् । सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता शुक्रबार एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्ने तीन दलका सबै नेता कार्यकर्ता कृष्णपुर नगरपालिकाका हुन् । उनीहरुलाई कार्यक्रम गरी शुक्रबार एमालेले प्रवेश गराएको छ । एमाले सुदूरपश्चिम सह इन्चार्ज राजेन्द्र सिह रावलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।

एमाले प्रवेश गर्नेमा समाजवादीका सबैभन्दा बढी छन् । काँग्रेसका राजेश ताम्रकार र माओवादी केन्द्रका उजेली पनि एमाले प्रवेश गरेका छन् । समाजवादीका जगतराम चौधरी सहित एमाले फर्किएका छन् ।

एमालेले समाजवादीका नेता कार्यकर्ता घर फर्काउन स्थानीय तह निर्वाचन अघि नै घर फर्क अभियान सञ्चालन गरेको थियो । एमालेको त्यहीं अभियान अन्र्तगत उनीहरु फर्किएका हुन् ।

एमाले कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिह ऐरीले उनीहरु एमालेको विचार, सिद्धान्तलाई मन पराएर एमाले प्रवेश गरेको बताए । यस अघि पनि समाजवादीका नेता कार्यकर्तालाई एमाले फर्काइएको थियो ।

एमाले सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज रावलको प्रमुख आतिथ्य र जिल्ला सचिवालय सदस्य एवम् कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयराज पाण्डेय, मोहन सिंह रावल, गोरख नेपाली, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा, सदस्य रमिता राना बडायक लगायतका नेताहरु सहभागी भएका छन् ।

एमाले कृष्णपुर नगर अध्यक्ष ऐरीले कार्यक्रम सञ्चालन गरेका थिए । कृष्णपुर नगरपालिका ५ मा कार्यक्रम गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...