
यस्तो हालतमा पुग्यो एमाले, केन्द्रीय सचिव भन्छन्– कार्यकर्ता धार नभएका हतियार जस्ता भए, वैचारिक स्पष्टता नभएपछि व्यक्तिवादी भए

महेन्द्रनगर । नेकपा (एमाले ) का सचिव लेखराज भट्टले कार्यकर्तालाई धार नभएका हतियार जस्तो भएको टिप्पणी गरेका छन् । उनले कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिनु पर्ने आवश्यकता औल्याउँदै यस्तो बताएका हुन् ।

कैलालीको अत्तरियामा शनिबार एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अहिले पार्टीभित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियारजस्तै बनेको बताए ।

उनले भने ‘कार्यकर्ता, नेता चेतना सहित तिखो हुनु पर्छ । हामीले हतियारमा धार किन लगाउछौं ? किन भने त्यो बुचो भए काट्दैन । हाम्रोमा पनि वैचारिक तिखोपन आएन भने विरोधीसँग लड्न सक्दैनौ ।’ उनले वैचारिक रुपमा स्पष्ट नहुँदा कार्यकर्ताहरु व्यक्तिवादी भएको दाबी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनलाई साथ दिँदै नेकपा माओवादी केन्द्र छाडेर एमाले आएका उनी १० औं राष्ट्रिय महाधिवेशनबाट सचिव भएका थिए । उनी एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज छन् । स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा एमाले अघिल्लो निर्वाचनका जितेका झण्डै आधा स्थानीय गुमाएको थियो ।
