एमाले नेतामा अझै छ स्थानीय चुनाव टिकट वितरणको त्रास, भन्छन्– उम्मेदवार हुने मन भएर हुँदैन, यस पाली पनि त्यस्तै हुन सक्छ
महेन्द्रनगर । स्थानीय तह निर्वाचनको टिकट वितरणमा भएको एकलौटीले नेकपा एमालेका नेताहरु मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनका लागि आकाँक्षा राख्न समेत डराएका छन् । उम्मेदवारका लागि अहिले आकाँक्षा राखेपछि टिकट खोसिने त्रासले उनीहरु उम्मेदवार हुने मनसाय बाहिर ल्याउन नसक्ने अवस्थामा पुगेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगाएर एकलौटी रुपमा टिकट वितरण गरेको थियो । स्थानीय तहका प्रमुख उप प्रमुखको उम्मेदवार छान्ने प्रदेश कमिटीको अधिकारलाई प्रयोग गर्न नसके बालकोट पुगेको थियो । उम्मेदवारका आकाँक्षीलाई बालकोट पुगाएपछि जिल्लाबाट प्रदेशमा सिफारिश नभएकालाई समेत बालकोटसित पहुँचका आधारमा टिकट दिइएको थियो ।
‘स्थानीय चुनावमा जे जसरी टिकट बाँडिएको थियो, त्यसले नेताहरुलाई धेरै हदसम्म झस्काएको छ, जिल्लाबाट सिफारिश नै नभएकालाई पनि टिकट दिइयो, यस पाली पनि त्यस्तै हुन सक्छ’ एमालेका एक नेताले भने,‘अहिले नै आकाँक्षा राखेर तयारी गर्दा समस्या आउन सक्छ भन्ने चिन्ता नेताहरुमा छ ।’
चुनाव लड्न सार्वजनिक रुपमा आकाँक्षा बाहिर नल्याएपछि केही नेताहरु अहिले आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक कार्यक्रममा सक्रिय हुन थालेका छन् । उनीहरुमध्ये संघ र प्रदेश निर्वाचनमा टिकट पाउने सम्भावना देखिएको नेताहरु बताउँछन् ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय चुनावमा एमाले कञ्चपुरको आठौं जिल्ला अधिवेशनमा पराजित समूहका नेतालाई टिकट दिएको थियो । आठौं अधिवेशनमा पराजित समूहलाई एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज राजेन्द्र सिह रावल, अध्यक्ष दामोदर भण्डारी, कञ्चनपुर सह इन्चार्ज कमला बोहराको साथ थियो ।
उनीहरु सबै माओवादी छाडेर एमाले आएका निवर्तमान अध्यक्ष बीर बहादुर थापालाई अध्यक्ष बनाउन लागेका थिए । स्थानीय चुनावमा एकलौटी टिकट वितरण गरी उनीहरुले आठौं अधिवेशनमा हारको बदला लिएका थिए । आफूले सहयोग गरेको प्यानल लज्जास्पद रुपमा हारेपछि जिल्लाबाट सिफारिशमा नपरेकी सह इन्चार्ज बोहरा बेलौरी नगरपालिकामा मेयरको उम्मेदवार भएकी थिइन् ।
अहिले पनि उनीहरु एमाले कञ्चनपुरको निर्वाचित कमिटीलाई देखाउने गरी टिकट वितरण गर्नें मनस्थितिमा बनाएका छन् । आठौं अधिवेशन समूहका नेतालाई टिकटमा रोक्न हार्ने समूहका नेता अहिलेदेखि सक्रिय देखिएका छन् । उनीहरुको प्रदेश र एमाले अध्यक्ष ओलीसम्म पहुँच छ । आठौं अधिवेशनमा सचिव जितेका भट्टलाई बालकोटसम्म नामावली लगेर बेलौरीको मेयर हुनबाट रोकिएको थियो ।
अघिल्लो निर्वाचनमा झिनो मत अन्तरले पराजित उनी यस पटक टिकट पाएमा जित्ने सम्भावना थियो । एमाले सह इन्चार्ज बोहरालाई अघि सारेर आर्ठौं निर्वाचन हार्ने समूहले भट्टलाई टिकट दिन रोकेको थियो । भट्ट एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सह इन्चार्ज कर्ण थापा नजिकका हुन् ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा इन्चार्ज भट्ट, सह इन्चार्ज रावल र अध्यक्ष भण्डारी एक समूहमा छन् । एमाले अध्यक्ष ओली समूहका अर्का सह इन्चार्ज थापाको अर्को समूह छन् । बैतडीका भण्डारी सुरुदेखि एमाले ओली समूहमा भए पनि इन्चार्ज भट्ट र सह इन्चार्ज रावल पछिल्लो पटक मात्रै ओली समूहमा गएका हुन् । इन्चार्ज भट्ट अध्यक्ष ओलीको संसद विघटनलाई साथ दिएर एमाले भएपछि इन्चार्ज भएका हुन् ।
संसद विघटनलाई साथ दिएर एमाले आएका कारण अध्यक्ष ओली भट्टको निर्णयलाई अस्वीकार नगर्ने पक्षमा देखिएका छन् । अध्यक्ष ओलीसित सम्बन्धका कारण एमालेको इन्चार्ज भट्टको समूहले थापालाई कमजोर बनाउन सहज भएको हो । स्थानीय तह निर्वाचनमा थापा समूहका अधिकाँश उम्मेदवारलाई टिकट वितराणमा रोकिएको थियो ।
अहिले संसदीय निर्वाचनमा पनि टिकटका लागि अध्यक्ष ओलीसितको पहुँचले काम गर्ने भएपछि अन्य नेता उम्मेदवारको आकाँक्षी हुन समेत डराएका छन् । प्रदेश कमिटीका इन्चार्ज भट्ट, अध्यक्ष भण्डारी र सह इन्चार्ज रावले चुनाव लड्ने भएमा भने टिकट वितरण केही सहज हुने नेताहरुको भनाई छ । स्थानीय तह निर्वाचनमा भने उनीहरु सबै आफ्नो नगरमा पराजित भएका छन् ।
एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य अधिवक्ता नन्दलाल चटौत भने स्थानीय तह निर्वाचनका सबै कमीकजोरी सच्याएर संघ र प्रदेशमा टिकट दिइने बताउँछन् । ‘केही कमजोरी भए होलान, यो चुनाव ती सबैलाई सच्याएर जान्छौ’ उनले भने,‘अब एमाले भएर मात्रै जान्छौ, पार्टीले जसलाई टिकट दिन्छ, त्यो नै हाम्रो उम्मेदवार हुन्छ ।’
स्थानीय तह निर्वाचनमा टिकट वितरण एकलौटीले कञ्चनपुरका ९ स्थानीय तहमध्ये तीन तहमा मात्रै एमाले जितेको छ । अघिल्लो निर्वाचनमा ५ स्थानीय तह सहित अधिकाँश वडा जितेको थियो । यस पटक ती सबै गुमाएर कमजोर अवस्थामा पुगेको छ ।