ghar sansar

शुक्लाफाँटाका जनप्रतिनिधि आफैं ठेकेदार

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधि सार्वजनिक खरिद ऐन मिचेर आफैंले विकास निर्माणका काम गराएका छन् । नगरपालिका कार्यालयबाट पेश्की रकम लगेर वडा अध्यक्ष र सदस्य आफैंले विकास निर्माणका कार्य गरेका छन् ।

महालेखा परीक्षक कार्यालयको २०७९ को वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकाकाले जनप्रतिनिधि आफैं विकास निर्माणका कार्य गरेको देखिएको हो । सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र, शिलबन्दी दरभाउपत्र, कोटेशन, उपभोक्ता समिति वा अन्य प्रक्रियाबाट गरिने काम जनप्रतिनिधिले आफैंले बजेट लगेर गरेका हुन् ।

महालेखाको प्रतिवेदनमा जनप्रतिनिधि आफैंले काम गरेको देखिएपछि तत्कालिन मेयर दिल बहादुर ऐर सहितका पदाधिकारीतिस छलफल गरी रोक्ने प्रतिवद्धता आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरपालिकाबाट बजेट लगेर आफैं काम गर्ने वडा अध्यक्ष र सदस्यमध्ये केही अहिले पनि नगरपालिकामा निर्वाचित भएर आएका छन् । वडा अध्यक्षमध्ये केही चुनाव नलडेर बाहिरिएका छन् । चुनावमा केही पराजित भएका छन् ।

नगरपालिकाबाट बजेट लिएर काम गर्ने शुक्लाफाँटा नगरपालिका १० का अध्यक्ष लाल बहादुर ऐर, ९ का रमेश रमेश, १ का हरिश विष्ट र २ का शिवराज पनेरु छन् । उनीहरुमध्ये ९ का ऐर फेरि अध्यक्षमा निर्वाचित भएका छन् । विष्ट चुनावमा पराजित भएका थिए ।

ऐरद्वय काँग्रेस, पनेरु नेकपा माओवादी केन्द्र र विष्ट समाजवादीका नेता हुन् । विष्ट २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । शुक्लाफाँटा नगरपालिका ९ का अध्यक्ष ऐरले सडक मर्मतका लागि ६१ हजार ३ सय २३ रुपैँया लगेका छन् ।

अर्का १० का अध्यक्ष ऐरले बाटोमा पिल्लर बनाउन ९८ हजार ८ सय ३२, ग्राभेलका लागि ३ लाख ३४ हजार र पोल सार्न ४० हजार ५ सय २५ रुपैँया लगेर आफैैंले काम गरी भुक्तानी लिएका छन् । विष्टले सिलाई कटाई तालिमका लागि दुई लाख पेश्की लिएका छन् । वडा अध्यक्षमा २ का पनेरुले सबैभन्दा बढी ३ लाख लिएका छन् । छाडा चौपाया व्यवस्थापनका लागि पनेरुले बजेट लिएर आफैं काम गरी भुक्तानी लिएका छन् ।

वडा अध्यक्ष बाहेक रकम लिएर काम गर्ने अन्य सबै वडा सदस्य छन् । शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता उत्तरदेव भट्टले पनि वडा सदस्य हुँदा डाइभर्सका लागि ८० हजार रकम लिएका छन् ।

नगरपालिकाबाट रकम लिएर काम गर्ने वडा सदस्यमा मोहन सिह साउँद, लाल बहादुर धानुक, तारादत्त अवस्थी, यशोदा भट्ट, बचन सिह राना, बलदेब भट्ट, श्यामलाल चौधरी,देवी प्रसाद भट्ट र राजेन्द्र बहादुर ऐर छन् । शुक्लाफाँटाका सबै १२ ओटै वडाका अध्यक्षले १३ लाख रकम लिएर खर्च गरेका छन् ।

वडा अध्यक्ष र सदस्यले नगरपालिकाबाट पेश्की लिएर काम गर्ने र काम गरी पेश्की फस्र्यौट गरेको देखिएको हो । निर्माण कार्य सम्पन्न भएपछि जाँच गरी वडा कार्यालयको प्रतिवेदन र वडा अनुगमन समितिको सिफारिशमा नगरपालिकाबाट भुक्तानी हुने व्यवस्था छ ।

वडा अध्यक्ष र सदस्यले काम गराई अनुगमन गराई काम गर्नु पर्नेमा आफैंले काम गरी भुक्तानी लिएका छन् । ‘निर्वाचित पदाधिकारीबाट अनुगमन तथा नियन्त्रण गर्नु पर्नेमा आफैं काम गराई आफैं अनुगमन गर्ने र भुक्तानी लिने परम्पराले आर्थिक अनुशासन नहुने र हिनामिना हुने जोखिम छ’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...