पुनर्वासमा भूमिहिनलाई पूर्जा वितरणमा ग्रामीण आवाश कम्पनीको अवरोध, मेयर शर्मा भन्छन्– चुनावी सपना हुरीले उडाउला जस्तो छ
महेन्द्रनगर । पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले चुनावी प्रतिवद्धता अनुसार भूमिहिन, सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा दिन पूर्जा दिने कार्यमा अवरोध आएको बताएका छन् । उनले चुनावमा आफूले देखेको जग्गाधनी पूर्जा वितरणको सपना पूरा नहुने चिन्ता लागेको उल्लेख गरे ।
‘चुनावमा धेरै सपना देखिएको थियो, त्योमध्ये जग्गाधनी पूर्जा वितरण पनि एक थियो’ बुधबार आफ्नो कार्यकक्षमा मेयर शर्माले भने,‘सपना सारा हुरीले उडाउला जस्तो छ, के गर्ने, त्यसमा अवरोध आउने जस्तो छ ।’
ग्रामीण आवास कम्पनीले आफ्नो जमिन भएको भन्दै वर्षौदेखि बसि रहेका वासिन्दालाई जग्गाधीन पूर्जा वितरणमा अवरोध गरेपछि शर्मा चिन्तित भएका हुन् । उनी कम्पनीसित छलफल गरी समस्यालाई समाधान गर्न लागेका छन् ।
‘कम्पनीको पूर्जा भएको जमिनमा बसेको भए पनि ठिकै थियो, त्यो बाहिरको जमिनमा त अवरोध गर्न भएन’ उनले भने,‘फिल्डबुक कायम भएको जमिनमा पनि काम गर्न दिदैँन जस्तो छ, समस्या छ ।’
स्थानीय तह निर्वाचनमा शर्माको भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रमुख चुनावी एजेण्डा थियो । केही दिनपछि डेलिगेसन सहित काठमाडौं जाने शर्मााले यसलाई पनि पूर्जा वितरणमा देखिएको अवरोध पनि सरकारसम्म पुगाउने तयारी गरेका छन् ।
अघिल्लो निर्वाचनमा झिनो मत अन्तरले नेकपा एकीकृत समाजवादीका नेता जीवनराज थापासित पराजित उनी बैशाद ३० गतेको निर्वाचनमा थापालाई नै फराकिलो मत अन्तरले हराउँदै मेयर निर्वाचित भएका थिए । तीन दशकको शिक्षण पेशाबाट अवकाश लिएपछि राजनीतिमा आएका उनी २०७४ मा मेयर लडेका हुन् ।