

महेन्द्रनगर । नेपालमा पहिलो पटक समुद्री तथा तटीय क्षेत्रमा बसोबास गर्ने ‘कोलर्ड किङफिसर’ (Collared Kingfisher) प्रजातिको चरा अभिलेख भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित खेतबारी क्षेत्रमा यो चरा भेटिएसँगै नेपालमा अभिलेखित चरा प्रजातिको कुल संख्या ९०४ पुगेको छ ।

नेपाल पन्छीविद् संघअन्तर्गतको नेपाल बर्ड रेकर्ड कमिटी (NBRC) का अनुसार गत असोज १३ गते (२९ सेप्टेम्बर २०२६) साँझ धनुषाको कुवा मङ्गलैया फाटक, चौरी पोखरी तथा विजयहुड गार्डेन आसपास स्थानीय पक्षी अवलोकनकर्ता अनिल मण्डलले बिजुलीको तार र रुखमा बसेको अवस्थामा यो चरा देखेका थिए ।
मण्डलले खिचेको तस्बिर र पठाएको विवरणमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग परामर्श गरी समितिले यो नेपालका लागि नयाँ प्रजाति भएको पुष्टि गरेको हो ।
वैज्ञानिक नाम Todiramphus chloris (उपप्रजाति Todiramphus chloris humii) रहेको यो चरा अल्सेडिनिडे (Alcedinidae) परिवारमा पर्छ । मुख्यतः दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया र प्रशान्त महासागरीय तटीय क्षेत्रमा पाइने यो प्रजातिको नजिकको स्थायी बासस्थान भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको सुन्दरवन क्षेत्र हो ।
भूपरिवेष्ठित देश नेपालमा यो चरा गङ्गा–ब्रह्मपुत्र नदी प्रणाली पछ्याउँदै भौँतारिएर (Vagrant) वा मौसमका कारण बाटो बिराएर आइपुगेको अनुमान पन्छी विद्हरूको छ ।
