
कञ्चनपुर १ मा विष्टले टिकट नपाएपछि विना विरुद्ध विद्रोह हुने सम्भावना, काँग्रेस नेता भन्छन्– कोही न कोही लड्छ, विनालाई जित्न दिदैनौ
महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा चुनावी तालमेल गर्ने निर्णय भएपछि काँग्रेसका नेता संविधान सभा सदस्य काठमाडौं गएका छन् । चुनाव घोषणापछि काँग्रेसका दुई केन्द्रीय सदस्य निर्वाचन आउँदा उनी काठमाडौं गएर नेताहरुसित भेटघाटमा व्यस्त भएका छन् ।
काँग्रेसका केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउँद अहिले आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय भएका छन् । लेखक निर्वाचन क्षेत्र नंं. ३ र साउँद २ नम्बरबाट चुनाव लड्दै आएका छन् । विष्ट निर्वाचन क्षेत्र नं. १ का हुन् । काँग्रेस संस्थापन इतरका विष्ट आगामी निर्वाचनमा टिकटका लागि लबिङ्ग गर्न काठमाडौं गएका छन् ।
सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएपछि विष्टले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने सम्भावना बढेको नेताहरु बताउँछन् । काँग्रेस संस्थापनका दुई नेता लेखक र साउँदले निर्वाचन क्षेत्रमा आएर आन्तरिक तयारी थाल्दा विष्ट लबिङ्गका काठमाडौं गएको उनीहरुको भनाई छ ।
लेखक र साउँदले टिकट पाउँदा निर्वाचन क्षेत्र नं. १ नेकपा माओवादी केन्द्रको भाग पर्ने सम्भावना छ । यस अघि तत्कालिन वाम गठबन्धनबाट जितेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर फेरि चुनाव लड्ने तयारीमा छन् । चुनावी तालमेल अनुसार निर्वाचन क्षेत्र नं. १ माओवादी केन्द्रको भाग परेपछि विष्ट उम्मेदवार नहुने अवस्था आउन लागेको हो ।
विष्ट यस पटक मगरलाई हराएर अघिल्लो निर्वाचनको हारको बदला लिने दाउमा छन् । २०७० मा पराजित गरेकी मगरले अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट लडेर फराकिलो मत अन्तरले हराएपछि विष्ट बदला लिने दाउमा छन् । चुनावी तालमेल गरी टिकट नपाउने चिन्तामा विष्ट परेको नेताहरु बताउँछन् ।
‘चुनावी तालमेलको निर्णय भइ सकेको छ, माओवादी केन्द्रले माथिको एक सीट पाउने हो, त्यो क्षेत्र नं. १ नै हो’ काँग्रेसका एक जिल्ला पदाधिकारीले भने,‘साँसद मगरलाई टिकट दिएन भने त गठबन्धन पनि नहुन सक्छ ।’
कञ्चनपुर काँग्रेसका संस्थापन समूहको नेतृत्व लेखक र साउँदले गर्दै आएका छन् । उनीहरुका छुट्टाछुट्टै समूह छन् । संस्थापन इतरको नेतृत्व विष्ट गर्दै आएका छन् । निर्वाचन क्षेत्र नं. १ मा काँग्रेस संस्थापन इतर समूह बलियो छ । लेखक समूह विरुद्ध साउँद र विष्टले तालमेल गर्दै आएका छन् ।
साउँद र लेखक दुबै काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासपात्र भएकाले उनीहरु टिकट पाउनेमा ढुक्क देखिएका छन् । संस्थापन इतरका विष्ट असहज अवस्था आउने देखेपछि नेताहरुसित लबिङ्ग गरि रहेका छन् ।
स्थानीय तह निर्वाचनमा पनि निर्वाचन क्षेत्र नं. १ सबै स्थानीय तहमा चुनावी तालमेल विरुद्ध विज्ञप्ति निकालिएको थियो । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकामा काँग्रेस जितेको थियो । अहिले पनि चुनावी तालमेल गर्ने निर्णयपछि निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसका नेता कार्यकर्ता तालमेल विरुद्ध देखिएका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा विष्टलाई टिकट नदिए काँग्रेस नेता कार्यकर्तामा असन्तुष्टि बढ्ने नेताहरु बताउँछन् । नेता कार्यकर्ता असन्तुष्ट भएर वागी उम्मेदवारी दिन सक्ने सम्भावा रहेको उनीहरु बताउँछन् ।
‘दिवान विष्टजीले टिकट पाएन भने यस क्षेत्रमा अप्ठेरो हुन्छ । काँग्रेसबाट कोही न कोही चुनाव लड्छ’ बुधबार पुनर्वासमा काँग्रेसका एक महाधिवेशन प्रतिनिधिले भने, ‘मगरलाई हामी कुनै पनि हालतमा चुनाव जित्न जिँदैनौ ।’
काँग्रेस कार्यकर्ताले साँसद मगरमाथि आफ्नो पाँच वर्षे कार्यकालमा बेलौरी बाहेक अन्य क्षेत्र नहरेको आरोप लगाएका छन् । ‘चार स्थानीय तहको साँसद हो, वहाँ जितेपछि जहिले पनि बेलौरीलाई हेर्न भयो, हामी त वहाँलाई त्यहीं नै देख्छौ’ काँग्रेसका ती नेताले भने,‘जिताएर पनि केही फाईदा छैन, त्यसैले भोट दिदैनौ ।’
स्थानीय तह निर्वाचनमा साँसद मगरले बेलौरीका मेयर पोतिलाल चौधरीलाई जिताउन माओवादी अध्यक्ष दाहाललाई बोलाएकी थिइन् । निर्वाचन क्षेत्र नं. १ मा बेलौरी बाहेक अन्य सबै तहमा माओवादी पराजित भएको थियो ।
