ghar sansar

आफ्नै नगर हार्ने एमालेका यी ठूला नेताले आगामी चुनावमा के गर्लान ?

महेन्द्रनगर । संघ र प्रदेशको निर्वाचन घोषणापछि नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशका कमिटीका चार नेतामाथि नेता कार्यकर्ताको ध्यान खिचिएको छ । स्थानीय तह निर्वाचनमा गरिएको टिकट एकलौटीका कारण आगामी निर्वाचनमा फेरि टिकटलाई लिएर उनीहरुतर्फ ध्यान पुगेको हो ।

एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्जहरु कर्ण थापा र राजेन्द्र सिह रावल तथा प्रदेश अध्यक्ष दामोदर भण्डारीले एमालेका नेता कार्यकर्ताको ध्यान तानेका छन् । प्रदेशका चार नेतामध्ये इन्चार्ज भट्ट, सह इन्चार्ज रावल र अध्यक्ष भण्डारीले फेरि टिकट वितरण एकलौटी गर्ने आशंका एमालेभित्र फैलिएको छ ।

mantra hos123

स्थानीय तह निर्वाचनमा प्रदेशका यी तीन नेताले कञ्चनपुरका आकाँक्षीको नाम एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगाएर टिकटमा एकलौटी गरेको थियो । जिल्ला कमिटीको सिफारिशमा समेत नपरेका नेतालाई बालकोट बोलाएर मेयरको टिकट दिइएको थियो ।

टिकट एकलौटी गरिएका कारण कञ्चनपुरमा एमाले नराम्रोसंग पराजित भएको थियो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा टिकट वितरण मिलाउन नसकिए अवस्था नाजुक हुने एमाले नेताहरु बताउँछन् ।

‘त्यो भन्दा झन खतरा अवस्था आउन सक्छ, टिकट दिने बेलामा पार्टी नेतृत्व, प्रदेश नेतृत्वले सोचविचार गरेन भने अवस्था एकदमै नराम्रो छ’ एमालेका एक प्रदेश कमिटीले सदस्यले भने,‘अहिले पनि त्यहीं हुने हो, सुधार हुने जस्तो छाँटकाँट छैन ।’

सुदूरपश्चिम प्रदेशमा एमालेभित्र इन्चार्ज भट्ट र सह इन्चार्ज थापाका दुई गुट छन् । इन्चार्ज भट्टलाई अध्यक्ष भण्डारी र सह इन्चार्ज रावलले साथ दिएपछि थापा पार्टीचित्र कमजोर अवस्थासित सामाना गरि रहेका छन् ।

स्थानीय तह निर्वाचनमा भट्ट समूहले अधिकाँश स्थानीय तह निर्वाचनको टिकटमा थापा समूहलाई पेलेको थियो । बेलौरी नगरपालिकामा जिल्लाबाट सिफारिश नभएकी कमला बोहरालाई उम्मेदवार बनाएर थापा समूहका पल्लवराज भट्टलाई रोकिएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा झिनो मत अन्तरले पराजित उनी टिकट पाए जित्ने सम्भावना थियो । भट्टसंगै अघिल्लो निर्वाचनमा हारेका अन्य नेता टिकट पाएर चुनाव निर्वाचित भएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशनमा इन्चार्ज भट्ट समूहले साथ दिएको निवर्तमान अध्यक्ष बीर बहादुर थापा प्यानल हारेपछि स्थानीय तह निर्वाचनमा टिकटमा एकलौटी गरी हारको बदला लिइएको थियो । अहिले पनि अध्यक्ष ओलीसंग पहुँचका कारण भट्ट समूह टिकट पेलेर जाने मनस्थितिमा छ ।

एमाले अध्यक्ष ओली संसद विघटन कदमलाई साथ दिएर माओवादी छाडेर आफूसित आएका कारण नेता भट्टका सबै कुरा स्वीकार्न बाध्य छन् । नेता भट्टका लागि अध्यक्ष ओलीले एमालेका निवर्तमान अध्यक्ष भीम रावललाई सुदूरपश्चिममा जिम्मेवारीबाट अलग गरि दिएका छन् ।

अध्यक्ष ओलीको साथ पाएपछि इन्चार्ज भट्ट सहित नेताहरु एकलौटी गर्ने मौका पाएका छन् । स्थानीय तह निर्वाचनको टिकटमा एकलौटी गरेका उनीहरु आफ्नो नगरमा एमाले उम्मेदवार जिताउन विफल भएका छन् ।

एमालेका प्रदेश सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले गोदावरी नगरपालिकामा आफ्नै भाई गोकर्ण भट्टलाई मेयरमा जिताउन सकेन । अध्यक्ष भण्डारीले पनि टिकट दिएका उनका नातेदार पाटन नगरपालिकाको मेयरमा पराजित भएका छन् । एमालेका प्रदेश सह इन्चार्ज रावलले पनि आफ्नो गृह नगर भीमदत्तमा तीन वडा अध्यक्ष बाहेक सबै गुमाएका छन् । जितेका वडा अध्यक्ष पनि सदस्य विना जितेका छन् ।

एमालेको प्रदेश कमिटीमा पेलानमा परेका सह इन्चार्ज कर्ण थापाले भने सुदूरपश्चिममा एमालेलाई जिल्ला समन्वय समितिसम्म पुगाएका छन् । बाजुरा बाहेक अन्य सबै जिल्लामा काँग्रेस नेतृत्वमा समन्वय समिति छन् ।

अहिले विभाजित एमाले प्रदेशका सह इन्चार्ज थापा, रावल र अध्यक्ष भण्डारी अध्यइा ओली गुटका हुन् । एमालेमा तत्कालिन माधव नेपाल समूहको दुई लाइन संघर्षमा उनीहरु सबै अ‍ोलीसंगै थिए । माधव नेपाल समूह पार्टी छाडेर गएपछि उनीहरु दुई गुटमा बाँडिएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाहेक २ र ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमाले नेता आन्तरिक तयारी लागि सकेका छन् । कञ्चनपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य नर बहादुर धामी, संविधान सभा सदस्य कृपाराम राना र युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिह टिकटका लागि लबिङ्गमा लागेका छन् ।

उनीहरुमध्ये धामी र राना पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज हुन् । उनीहरु दुबै एकै समूहमा छन् । अर्का आकाँक्षी सिह एमाले महासचिव शंकर पोखरेलका विश्वासिला मानिन्छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ मा एमाले पोलिटब्युरो सदस्य रावल र निरुदेवी पालले टिकट पाउने चर्चा बाहिर आएका छन् । उनीहरु बाहेक एमालेका प्रतिनिधि सभा सदस्य डा.दिपकप्रकाश भट्ट, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल पनि टिकट दिए चुनाव लड्ने मनस्थिति बनाएर बसेका छन् ।

एमाले अध्यक्ष ओलीसित सिधै पहुँचका कारण रावल र पालमध्ये एकले टिकट पाउने सम्भावना बढी छन् । एमाले कञ्चनपुरका इन्चार्ज पाल र प्रदेश सह इन्चार्ज रावल फरक गुटमा छन् । पाल प्रदेश कमिटी सह इन्चार्ज थापा नजिक छन् ।

निर्वाचन क्षेत्र नं. १ मा भने एमालेसित प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने बलियो नेता नभएकाले टिकटका लागि धेरै जना आकाँक्षी हुन सक्ने सम्भावना छ । त्यसका लागि केही नेता अहिलेलेखि लबिङ्गका लागि काठमाडौं पुगेका छन् ।
एमालेका प्रभावशाली नेताहरु राम कुमार ज्ञवाली, तारालामा तामाङ्ग, जीवनराज थापा, कुलबीर चौधरी समाजवादी गएपछि एमाले अप्ठेरो अवस्थामा पुगेको हो ।

एमालेका पूर्व साँसद लाल बहादुर विश्वकर्मा स्वास्थ्यका कारण चुनाव लड्न नसक्ने अवस्थामा छन् । सत्तारुढ गठबन्धनसित चुनाव लडने बलियो नेता नभएपछि तामाङ्गलाई फर्काएर चुनाव लडाउने मनस्थिति एमालेको बनाएको छ । त्यसका लागि एमाले नेताहरु तामाङ्ग अनौपचारिक रुपमा छलफल समेत गरि सकेका छन् ।

एमालेका पूर्व जिल्ला अध्यक्ष तामाङ्गले निर्वाचन क्षेत्रमा बलियो नेताको परिचय बनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि तामाङ्गको राम्रो सम्बन्ध छ । उनले समाजवादी छाड्न अघिसम्म आफ्नो फेसबुकको प्रोफाइलमा अध्यक्ष ओली र उनकी धर्मपत्नि राधिका शाक्यको तस्बिर राखेका थिए ।

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी साँसद विना मगरसित प्रतिस्पर्धा हुनेछ । सत्तारुढ गठबन्धनमा चुनावी तालमेल भएपछि साँसद मगर फेरि उम्मेदवार हुने निश्चित लगभग निश्चित भएको छ ।

एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौतले स्थानीय तह निर्वाचनका सबै गल्ती र कमजोरी छाडेर संघ र प्रदेशको चुनाव लड्ने बताए । ‘त्यो चुनावमा जे भयो भयो, अब त्यस्ता केही गल्ती कमजोरी कही कतै हुँदैन’ उनले भने ।

स्थानीय तह निर्वाचनमा एमाले सुदूरपश्चिमका २३ तहमा मात्रै निर्वाचित भएको थियो । अघिल्लो निर्वाचनमा ४२ स्थानीय तह एमालेले जितेको थियो ।

Himal dental
सम्बन्धित
Loading...