
बेलडाँडी गाउँपालिका आफैंले सार्वजनिक जग्गा मिचेर बनाउन थाल्यो अस्पताल, जग्गाको स्वामित्व नआउँदै अघि बढ्यो ठेक्का प्रक्रिया
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी अस्पताल बनाउने तयारी अघि बढाएको छ । गाउँपालिकाको ७२ बिगाहा जमिनको अतिक्रमण खाली गरी त्यसमा १५ शैय्याको अस्पताल बनाउन लागेको हो ।
बेलडाँडी गाउँपालिका २ स्थित ७२ बिगाहा सार्वजनिक जग्गा व्यक्तिगत र संस्थागत रुपमा वर्षौदेखि अतिक्रमण भएको छ । त्यस अतिक्रमणलाई हटाएर गाउँपालिकाले अस्पलात बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरि सकेका छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीको सार्वजनिक सूचनामा १५ शैय्याको अस्पताल बनाउन डीपिआर तयार भएर ठेक्का प्रक्रिया अघि बढाइको उल्लेख गरेका छन् ।
अस्पातलको ठेक्का प्रक्रिया अघि बढाउन सार्वजनिक सूचना आव्हान गरिए पनि जग्गाको भोगाधिकार गाउँपालिकाले पाएको छैन । गाउँपालिकाले जग्गाको भोगाधिकारका लागि प्रक्रिया मात्रै अघि बढाएको हो । जग्गाको भोगाधिकार नहुँदै गाउँपालिका आफैं सार्वजनिक जग्गा अतिक्रमण गरी अस्पताल बनाउन अघि बढेको हो ।
‘व्यक्तिगत र संस्थागत रुपमा गरिएको अतिक्रमण हटाएर स्थानीय सरकार आफैं अतिक्रमण गरी संरचना बनाउन लागेको छ , यो राम्रो होइन, कम्तिमा जग्गाको भोगाधिकार त लिनु पर्छ’ स्थानीयले भने ।
गाउँपालिकाका प्रवक्ता गज बहादुर विष्टले अस्पतालका लागि चाहिने जग्गाको भोगाधिकारका लागि प्रक्रिया अघि बढाएको बताए । ‘भोगाधिकार मन्त्रिपरिषद्बाट हुन्छ, त्यसका लागि कागजात पठाई सकेका छौ’ उनले भने,‘अस्पतालका लागि ठेक्का आव्हान भई सकेको छ, त्यसको पक्रिया अघि बढी सकेको छ ।’
प्रवक्ता विष्टले सार्वजनिक जग्गा अतिक्रमण गरी तीन चार परिवार मात्रै बसेको बताए । ‘अस्पताललाई चाहिने जति सबै खाली गर्छौ’ उनले भने ।
प्रवक्ता विष्टका अनुसार १८ करोड बढीमा ठेक्का आव्हान गरिएको छ । त्यसका लागि ६ जना निर्माण व्यवसायीले ठेक्काका टेण्डर हालेका छन् ।
बेलडाँडी गाउँपालिकाको अध्यक्ष हरिशचन्द रानाले चुनावमा निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकबाट १५ शैय्याको अस्पताल बनाउने निर्णय गरेका थिए ।
महालेखा परीक्षकको कार्यालयले बर्सेनी स्थानीय तहलाई जग्गाको स्वामित्व नभएका जमिनमा सरकारी पूँजी खर्च गरी संरचना नबनाउन सचेत गराउँदै आएको छ । महालेखाको बर्सेनी वार्षिक प्रतिवेदनमा स्वामित्व नभएको जग्गामा संरचना बनाउन हुने विषय उल्लेख हुँदै आएको छ ।
गाउँपालिकाले अस्पताल बनाउने स्थान यकिन नगरी सुरुमा डीपिआर बनाएर जग्गा खोजी गर्न लागेको हो । गाउँपालिकाभित्र अन्यत्र सार्वजनिक जग्गा नभएपछि ७२ बिगाहामा बनाउन लागिएको हो । गाउँपालिकासित अन्यत्र सार्वजनिक जग्गा नभएकाले संरचना बनाउन नसकिने अवस्था छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले सार्वजनिक सूचनामा अस्पताल बनाउन विभिन्न संघ संस्थासित गरिएका जग्गा सम्बन्धी सम्झौता गाउँ सभाबाट खारेज गरिएको उल्लेख गरिएको छ । गाउँ सभाको निर्णय अनुसार साउन १२ गते बसेको कार्यपालिकाको बैठकबाट सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने सूचना आव्हान गरिएको हो ।
