महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अवैध रुपमा किनेको पोशाकको खर्च जनप्रतिनिधिबाट व्यहोर्न पर्ने सुझाव स्थानीय शासनका विज्ञले दिएका छन् । उनीहरुले पोशाकको खर्च जनप्रतिनिधि आफैंले तिरेर गल्ती सुधार्न राम्रो हुने बताएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निर्देशनमा उप मेयर निलम लेखक जोशीले आफू सहित ३९ जना महिला जनप्रतिनिधिका लागि महालक्ष्मी इम्पोरियम र सिटी टेलरिङ्ग एण्ड सर्ट सटिङ्गबाट सारी, ब्लाउज, पेटीकोट र कोट खरिद गरेकी छन् । सारी बाहेक अन्य सबै कपडा अहिले सिटी टेलरिङ्गमा सिलाउन दिइएको छ ।
मेयर बोगटीको निर्देशनमा अवैध रुपमा पोशाक खरिद गरिएको बाहिर आएपछि विज्ञले आफ्ना धारणा बाहिर ल्याएका छन् । स्थानीय शासन विज्ञ विसनदत्त जोशीले अवैध रुपमा खरिद गरिएको भएमा आफैंले खर्च व्यहोरी गल्ती सुधार्न उत्तम हुने बताए ।
‘यदि समाचारमा भनिएझंै प्रक्रिया नै पूरा नगरेको हो यसरी नै प्रक्रिया पूरा नै नगरिएको हो भने पोशाक खरिदको पैसा स्वयम् आफैंले व्यहोरेर गल्ती सुधार्न उत्तम हो’ जोशीले फेसबुकमा भनेका छन् ।
जोशीले जनप्रतिनिधिले राज्यबाट लिइने सेवा सुविधा पनि मापदण्ड र प्रक्रिया अनुसार लिनु पर्नेमा जोड दिएका छन् । भीमदत्तले जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनमा नभएको व्यवस्था विपरित महिला जनप्रतिनिधिका लागि पोशाक खरिद गर्न लागेको हो । उप मेयरमा अर्डरमा किनिएिको पोशाक र सिलाई खर्च सबै गरी १० लाख भन्दा बढी खर्च हुने आशंका गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र खरिद ईकाई पोशाक खरिदबारे अनविज्ञता देखाएका छन् । कार्यालयबाट खरिदको कुनै पनि प्रक्रियामा नगएर ती दुई पसलबाट कपडा खरिद गरी सिलाउन दिइएको छ ।