महेन्द्रनगर । नेकपा एमालेका साँसद निरुदेवी पालले दलित समुदायले पाएको अधिकार कार्यान्वयनका लागि पनि सक्रिय हुनु पर्ने बताएकी छन् । उनले स्थानीय तह निर्वाचनमा देशभरका स्थानीय तहमा रिक्त दलित महिला वडा सदस्य पदको प्रसंग उल्लेख गर्दै अधिकार कार्यान्वयनमा जोड दिएकी छन् ।
‘देशभरका १२३ स्थानीय तहमा दलित महिला वडा सदस्य खाली छ, संविधानमै दलित महिला वडा सदस्य अनिवार्यको व्यवस्था गरिएको छ’ दलित महिला संघ (फेडो) कञ्चनपुरले आयोजना गरेको अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी दिने तालिम समापन समारोहमा उनले भनिन्,‘एकातिर दलितले अधिकार नपाएको व्यवस्था छ, अर्कोतिर पाएको अधिकार पनि कार्यान्वयन भएको छैन, कार्यान्वयनका लागि पनि सक्रियता आवश्यक छ ।’
संसदमा अर्को वडाबाट ल्याएर पनि सदस्य बनाउनु पर्ने कुरा उठेको उल्लेख गरिन् । उनले संवैधानिक व्यवस्था अनुसार स्थानीय तह प्रमुख उप प्रमुख एक महिला हुनु पर्नेमा १६३ स्थानीय तहमा दुबै पुरुष भएको बताइन् ।
स्थानीय तह निर्वाचनमा महिलाले वडा अध्यक्षमा टिकट पाउन नसकेको र पाएको वडामा चुनाव हारेको साँसद पालको भनाई थियो ।
समाजमा वर्षौदेखि दलित र गैर दलित समुदायबीच जातीय रुपमा मनमुटाव देखिनु राम्रो नभएको उल्लेख गर्दै उनले दुबै समुदायले एक आपशमा समन्वय गरी जानु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, भीमदत्तका निवर्तमान मेयर सुरेन्द्र विष्ट, गैर सरकारी संस्था महासंघका कोषाध्यक्ष नारु सिह, दलित गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष नर बहादुर विक लगायतले मन्तव्य राखेका थिए ।
फेडोका अध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा गरिएको कार्यक्रममा तालिममा सहभागी मदन कुँबर र दुर्गा नेपालीले सहभागीबाट मन्तव्य राखेका थिए ।
फेडोको नेपालमा दलित महिलाको मानव अधिकार परियोजना अन्र्तगत सञ्चालित तालिममा अधिवक्ता कौशिला योगीले सहजीकरण गरेकी थिइन् ।
फेडोका उपाध्यक्ष लक्ष्मी ताम्रकारले सञ्चालन गरेको कार्यक्रममा सचिव सुनकेस्रा नेपालीले स्वागत गरेकी थिइन् । तालिममा अगुवा महिला अभियन्ता तथा सामुदायिक कार्यगत एकता समूहका ३० जना सहभागी भएका छन् ।