
द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको नेतृत्वमा समुदाय कार्यक्रमको समीक्षा तथा सामाजिक परीक्षण

महेन्द्रनगर । गैर सरकारी संस्था द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नेतृत्वमा समुदाय कार्यक्रमको समीक्षा तथा सामाजिक परीक्षण गरेको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरी समीक्षा र सामाजिक परीक्षण गरिएको छ । नागरिक आवाजसंगको साझेदारीमा यो कार्यक्रम कैलाली र कञ्चनपुरमा सञ्चालन गरिएको हो ।
संस्थाले शनिबार गरेको कार्यक्रम फरक शैली अपनाएर उद्घाटन गरियो । कार्यक्रममा सहभागी सबैलाई मोमबत्ती बाल्न लगाएपछि कार्यक्रमका प्रमुख अतिति बोहराले पानसमा बत्ती बालेर उद्घाटन गरे ।
सशस्त्र द्वन्द्व सहितका विभिन्न आन्दोलनमा दिवंगत भएका सबै व्यक्तिको सम्झनामा सहभागी सबैलाई मोमबत्ती बाल्न दिइएको हो ।
संस्थाका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा संस्थाका कैलाली कार्यक्रम संयोजक मुना खडायत र कञ्चनपुर संयोजक डम्मरी विष्ट कुँबरले संस्थाको प्रगति र लेखा अधिकृत अन्सु चौधरीले आर्थिक प्रगति प्रस्तुत गरिन् ।
संस्थाले हालसम्म ५३ जना द्वन्द्व पीडित महिलालाई नगद सहित सहित सहयोग गरेको छ ।

पीडित महिलालाई उनीहरूको आवश्यकता र रुचिअनुसार विभिन्न सीप प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनका लागि जनही १ लाख ८५ हजारका दरले सहषेग गरिएको जानकारी दिइएको छ ।
उनीहरुमा कृष्णपुर नगरपालिकाका १२, बेदकोटका ११, भीमदत्तका ४, शुक्लाफाँटाका १४, बेलौरीका ७ र लालझाडी गाउँपालिकाका ५ जना छन् ।
कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख बोहराले द्वन्द्वका कारण सिर्जित पीडा र समस्यालाई सम्बोधन गर्दै पीडितको जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम आवश्यक रहेको बताए ।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले द्वन्द्व पीडित तथा एकल महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने बताए ।
भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले पीडित महिलाका लागि केन्द्रले सञ्चालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
बेदकोट नगरपालिका–५ का वडाध्यक्ष तथा नगर प्रवक्ता चित्रदेव भट्टले आफ्नो वडामा केन्द्रले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रहेको बताउँदै चालु आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्र चौधरीले द्वन्द्वपीडित महिलालाई आत्मनिर्भर बनाउन केन्द्रले सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए। उनका अनुसार वडामा द्वन्द्वपीडितहरूको स्मृतिमा स्मारकसमेत निर्माण गरिएको छ ।
साझेदारी संस्था नागरिक आवाजका वरिष्ठ प्रबन्धक हरिबहादुर धामीले द्वन्द्वपीडितलाई आत्मनिर्भर बनाउने कार्यक्रमले उनीहरूको पीडामा मलम लगाउने काम गरेको बताए ।
नेपाली सेनाका पूर्वमेजर तथा समाजसेवी गोरख पुजाराले पीडितको हितका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले द्वन्द्व पीडितका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले द्वन्द्वपीडित तथा एकल महिलाको उपचारमा अस्पतालबाट आवश्यक सहजीकरण भइरहेको बताए ।
केन्द्रकी अध्यक्ष सीता बोहराले सरकारी निकायबाट अपेक्षित रूपमा कार्यक्रम नआए पनि आफूहरू निरन्तर पीडितको हितमा काम गरिरहेको बताइन् ।
उनले आइतबार सरोकारवालाको सहभागितामा कार्यक्रमको समीक्षा तथा सामाजिक लेखाजोखा गर्दै आगामी कार्यक्रमका लागि सुझाव संकलन गरिएको जानकारी दिइन् ।
‘पीडितका लागि ल्याइएका कार्यक्रमलाई प्रभावकारी र दीगो बनाउने हाम्रो मुख्य उद्देश्य हो,’ अध्यक्ष बोहराले भनिन्।
सशस्त्र द्वन्द्वपछि २०६५ मा अधिकारकर्मी बोहराले संस्था खोलेकी हुन् ।

