महेन्द्रनगर । भीमदत्त नगरपालिका क्षेत्रका ई रिक्सा व्यवसायीले रिक्सा सञ्चालन कार्यविधि बनाउनु पर्ने सहितका सात बुँदे माग राखेर नगरपालिकालाई ज्ञापन बुझाएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई रिक्सा इकाई कमिटीले सोमबार भीमदत्तका उप मेयर निलम लेखक जोशीलाई ज्ञापन बुझाएको हो । ज्ञापन पत्रमा माग सुनुवाई नभए आन्दोलनमा उत्रिने चेतवानी दिइएको छ ।
ज्ञापन पत्रमा ई रिक्सा सञ्चालन कार्यविधि निर्माण, ई रिक्सा नगरपालिका कार्यालयमा दर्ता, आवश्यकता पहिचान गरेर मात्रै रिक्सा भित्र्याउनु पर्ने, पार्किङ्ग व्यवस्था, सार्वजनिक शौचालय व्यवस्था, श्रम डेस्क स्थापना र भाडादर निर्धारण गर्नु पर्ने माग राखिएका छन् ।
भीमदत्तका उप मेयर जोशीले ज्ञापन पत्र बुझ्दै माग सम्बोधन गर्ने आश्वासन दिएकी छन् । उप मेयर जोशी अहिले भीमदत्तमा कार्य वाहक मेयर छन् ।
ई रिक्सा इकाई कमिटी भीमदत्तका अध्यक्ष रमेश कोली र सचिव राजेन्द्र कठायतको नेतृत्वमा ज्ञापन बुझाइएको छ ।
ज्ञापन पत्र बुझाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेताहरु धन बहादुर खडायत, जिफन्टका नगर अध्यक्ष शंकर जोशी, सह सचिव जनक बहादुर चन्द लगायतका नगरपालिका पुगेका छन् ।
जिफन्टका नगर अध्यक्ष जोशीले ई रिक्सा मजदुरले अघि सारेका मागलाई नगरपालिकाले पूरा गर्नु पर्ने बताए । ‘यसमा जिफन्टको पूर्ण ऐक्यवद्धता छ’ उनले भने,‘यी माग नगरपालिकाले पूरा गर्नु पर्छ’ उनले भने ।
महेन्द्रनगर बजार क्षेत्रमा भेला भएर व्यवसायी नगरपालिका पुगेका छन् । कार्यालयभित्र ज्ञापन बुझाउँदा बाहिर ई रिक्सा खडा गरिएको छ । व्यवयासी कृष्ण तिरुवाले ई रिक्सा पार्किङ्ग नभएर सबैभन्दा ठूलो मारमा परेको बताए ।
‘पार्किङ्ग गने ठाउँ छैन्, साइडमा रोक्यो कि ट्राफिक प्रहरी आइ हाल्छन्, राख्न दिदैँनन्’ उनले भने,‘अन्त पार्किङ्ग गर्ने ठाउँ नै छैन, धेरै नै समस्या छ ।’
ई रिक्सालाई मजदुर परिचय पत्र र लाइसेन्स पनि आवश्यक भएको उनले बताए । भीमदत्त नगरपालिकामा अढाई सय इ रिक्सा छन् । यी सबै ई रिक्सा विद्युतीय हुन् ।