
महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउन लागेका छन् । एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पालले अध्यक्ष ओली भदौ १५ गते कञ्चनपुर आउने सार्वजनिक गरेकी छन् ।
पोलिटब्युरो सदस्य पालका अनुसार कैलाली र कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमका लागि उनी आउन लागेका हुन् । यस अघि अध्यक्ष ओली स्थानीय तह निर्वाचनमा जिल्ला सह इन्चार्ज कमला बोहराको प्रचारका लागि बेलौरी आएका थिए ।

अध्यक्ष ओली पार्टीका सबै उम्मेदवारका लागि नभएर व्यक्तिगत पहुँचका आधारमा बोहराको प्रचारमा आएको भन्दै एमाले नेता कार्यकर्ताले असन्तुष्टि पोखेका थिए ।
एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गएका नेताहरु एमाले फर्किने तयारीमा छन् । उनीहरु अहिले पार्टी प्रवेशका लागि अध्यक्ष ओलीसित छलफलमा छन् ।
समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिक्रम बहादुर शाही सहित नेताहरु तारालामा तामाङ्ग, अशोक कुमार चन्द, बीर बहादुर बुढाथोकी, विना बुढाथोकी लगायतका नेताहरु फर्किन लागेका छन् ।
उनीहरुमध्ये चन्द बाहेक सबै नेता गत भदौमा पार्टी विभाजनपछि समाजवादी गएका थिए । चन्द भने एमाले कञ्चनपुरको आठौं अधिवेशनमा पराजित भएपछि गत चैतमा समाजवादी गएका थिए ।
