ghar sansar

गाउँकी नेता चन्द्रा

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरकी चन्द्रादेवी दमाई गाउँ घरमा नेता र समाजसेवीका रुपमा परिचित छिन् । गाउँका पीडित वासिन्दालाई न्याय दिलाउन उनी सधैं अगाडि हुने गर्छिन् । सानैमा उनको समाजका लागि केही गर्ने सोच थियो ।

‘मान्छे भएर केही गरेर देखाउने सोच थियो, तर समय र भाग्य दुबैले साथ दिएन’ ५१ वर्षिया दमाई भन्छिन्,‘सोच जस्तो त नहुँदो रहेछ, तर नमर्दासम्म समाजका लागि केही न केही गरि रहन्छु ।’

ratnam malkhad

भारतीय सहर खटिमामा जन्मेकी चन्द्रालाई एक महिनापछि तिलकपुर ल्याइएको थियो । खटिमामा सिलाईको काम गर्दा उनका बुवा भगिरथले परिवार लगेका थिए । उनी भगिरथका ६ सन्तानमा माइली थिइन् । उनी फर्किँदा तिलकपुरमा ऐलानी कटान चलेको थियो । ऐलानी कटानबारे ठूली भएपछि बुवा आमाले बताएको उनलाई सम्झना छ ।

१४ वर्षको उमेरमा विवाह हुन अघि उनी बैजाथ माध्यमिक विद्यालयमा कक्षा ५ सम्म पढिन् । त्यति बेला पढाईको महत्व थाहा नभएकाले विद्यालय छाडिन् । अहिले पढाई आएर उनले पढाई महत्व थाहा पाएकी छन् । ‘त्यति बेला त पढेर नि के हुने हो भन्ने थियो, पढाई त चाहिने रहेछ’उनी भन्छिन्,‘अब त पछुतो मात्रै हुन्छ, पढ्नलाई त केही रहेन नि ।’

चन्द्राको विवाहको पनि आफ्नै कहानी छ । महेन्द्रनगर बजारको उनको दाईको कपडा सिलाउने पसल थियो । उनी खाना पुगाउन आउँथिन् । पसलमा सुकासालका उमेश दमाई काम गर्थे । पसल आउजाउ गर्दा उनीसित चिनजान भएर विवाहसम्म पुग्यो ।

घर परिवारलाई जानकारी दिएर उनले प्रेम विवाह गरिन् । ‘म त पसलमा खाना पुगाउन आउँथे, त्यसपछि मात्रै चिनजान भएको हो, त्यो बेला लभसव पनि थिएन, खै के भयो, कसरी म नजिक भए, केही पत्तो पाएन’ उनी भन्छिन्, ‘त्यसपछि त म आफैं विवाह गरी गइ हाले ।’

विवाहको केही वर्षसम्म सुकासाल बसेपछि उनी परिवार सहित फेरि तिलकपुर आइन् । उनले तिलकपुरमा घर बनाएर बस्न थालिन् । उनका श्रीमानले सिलाईको कामलाई निरन्तरता दिए । उनी आफैं पनि सिलाईको काममा सहयोग गर्न थालिन् । उनका तीन छोरी र एक छोरा छन् । सबैभन्दा कान्छा छोरा अगाडिका सबै छोरी हुन् । उनीहरु सबैका विवाह भइ सकेको छ ।

छोरा जन्मिन अघिसम्म चन्द्राले धेरै शारीरिक र मानसिक यातना खेप्नु प¥यो । छोरी मात्रै भएपछि उनी श्रीमानबाट अपहेलित हुनु पर्ने अवस्थामा पुगिन् । श्रीमानले अर्को विवाह गर्छु भन्दा उनी रात दिन चिन्तामा हुन्थिन् । तीन छोरीको मुख हेरेर उनी ती दिन चुपचाप बसेको बताउँछिन् ।

छोरीलाई उनका घर परिवारले भुसको मुटी र अर्काको घर जाने भन्थे । मन छिया हुने यी शब्द छोरा जन्मिएपछि मात्रै उनले सुन्न छाडेकी थिइन् । छोरा जन्मिएपछि उनी समाजका लागि केही गरौ भनेर घर बाहिर आउनु पर्ने सोच बनाइन् । त्यसपछि उनी राजनीति गर्ने सोच बनाएर दल खोज्न थालिन् ।

गाउँ घरमा सबै काँग्रेस भएपछि उनी त्यसैमा लागिन् । काँग्रेसको सदस्यता काटेर उनी राजनीतिमा आइन् । चार वर्ष काँग्रेस हुँदा चाहिने बेलामा साथ नपाएपछि उनी छाडेर बाहिर आइन् । ‘मलाई राजनीति पनि केही थाहा थिएन्, काँग्रेस एमाले भन्ने के हो थाह नै थिएन, माओवादीको त त्यो बेला केही कुरा नै थिएन’ उनी भन्छिन्,‘लौ सदस्य काटि दिनु भन्यो, सदस्य भए, चार वर्षसम्म बसे, त्यसपछि छाडेर बाहिर आए ।’

आफू समस्या परेका बेला काँग्रेसले साथ नदिएपछि उनी पार्टी छाड्न पुगिन् । गाउँका स्थानीयले विना कारण उनीमाथि हातपात गरेको थियो । त्यसमा उनले काँग्रेसको साथ खोजिन् । आफूलाई सहयोग नगरी हातपात गर्नेलाई जोगाउन लागेपछि उनी काँग्रेस छाडि दिइन् ।

उनले हातपात गर्ने ती स्थानीयलाई प्रहरीसम्म पुगाएर कारवाही गराइन् । काँग्रेस छाडेपछि उनी नेकपा माओवादी केन्द्रतिर लागिन् । तिलकपुरका माओवादी नेता लोकराज जोशीसित छलफल गरी उनी माओवादी केन्द्रमा गइन् ।

‘हाम्रो समुदायलाई हेर्ने पार्टी चाहेको थिए, माओवादी आइ सकेको थियो, म त्यसपछि माओवादी भएर अहिलेसम्म माओवादीमै छु’ उनी भन्छिन्, ‘जुन पार्टीले गरीबका लागि बोल्दैन, त्यो पार्टीमा बस्नुको के अर्थ हुन्छ र ?’

माओवादी केन्द्रमा आएपछि वडा कमिटी सदस्य भएकी उनी २०७४ को निर्वाचनमा वडा सदस्य लडिन् । माओवादी केन्द्रका नगर इन्चार्ज जोशी त्यति बेला वडा अध्यक्ष लडेका थिए । माओवादी केन्द्र दोस्रो स्थानमा थियो । अहिले बैशाख ३० गतेको निर्वाचनमा पनि चन्द्रा वडा सदस्य लडेकी थिइन् । ती दुबै चुनावमा निर्वाचित हुन नसके पनि जनताले आफूलाई विश्वास गरी मत दिएकोमा उनी सन्तुष्ट छिन् ।

‘हार जित हुन्छ, त्यसको केही छैन, जनताले मलाई जसरी विश्वास गरी मत दिए, म त्यसको सधैं ऋणी छु’ उनी भन्छिन्,‘जनताले मलाई एक दिन अवश्य जिताउने छन् ।’

दलित समुदायको धेरै वस्ती भएको भीमदत्त नगरपालिका ३ मा यस समुदायका मतदाता निर्णायक मानिन्छन् । दलित समुदायका चन्द्रको पकड बलियो भएकाले उनी सबै दलको प्राथमिकतामा छन् । स्थानीय तह निर्वाचन अघि एमालेले उनलाई ठूलो कसरत गरी पार्टी प्रवेश गराएको थियो । उनी केही दिनपछि नै उनी माओवादी केन्द्रमा फर्किएकी थिइन् । उनी माओवादी केन्द्र छाडेर अन्य दलमा जाने मन नभएको बताउँछिन् ।

राजनीति बाहेक उनी समाजसेवा र अधिकारकर्मी रुपमा पनि गाउँ घरमा भएर काम गर्छिन् । गाउँका पीडित महिला पुरुष सबैका हक अधिकारका लागि बोल्छिन् । गाउँका गरीब दलितलाई अन्याय गरेको उनलाई असह्य हुन्छ । ‘हेप्ने चेप्नेलाई म सहन सक्दिन’ उनी भन्छिन्,‘त्यस विरुद्ध सधैै बोल्छु, त्यसैले त मसित कहिलेकाँही डराउँछन् पनि ।’

गाउँका सबै समस्या समाधानका लागि सक्रिय हुने भएकाले उनी गाउँघरमा नेताका रुपमा परिचित छिन् । दलित गैर दलित दुबै समुदाय उनलाई नेताका रुपमा मान्ने गर्छन् ।

सानैमा पढ्न छाडेकी उनी गैर सरकारी संस्थामा आवद्ध भएर धेरै कुरा सिकेकी छन् । उनी दलित महिला संघ(फेडो) र थारु महिला मञ्चको समूहमा आवद्ध भएकी छन् । फेडोको समूहमा लागेपछि हक अधिकार, ऐन, कानुनबारे थाहा पाएको उनी बताउँछिन् । ‘अधिकार के रहेछ, कस्तो रहेछ, कानुनी कुरा के बुझे’ उनी भन्छिन्,‘यति सिकेर त बोल्ने हिम्मत आएको छ त ।’

चन्द्राले समाजका लागि केही गर्ने प्रतिवद्धता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसम्म राखेकी छन् । २०७४ को स्थानीय तह निर्वाचनका बेलामा दालहालाई भेटेर उनले दालहालाई आफूमा केही गर्ने सोच भएको र त्यसका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले दाहालसित हात मिलाएकी थिइन् ।

‘पुरुषसित हात मिलाउँदा त लाज लाग्ने हो भनेर सोचेकी थिए, तर केही भएन, केही कुरा राख्छु भन्ने हिम्मत राखेर गए’ उनी भन्छिन्,‘हात मिलाएर कुरा राखे, म मेरो समुदायका लागि गल्ती गर्छु भने कान समाउन तयार छु ।’

Himal dental
सम्बन्धित
Loading...