सुदूरपश्चिम प्रदेश सरकारको बजेट कमिसनको चलखेलमा आएको खुलासा, निवर्तमान मन्त्री तामाङ्ग भन्छन्– यहीं बजेट ल्याउन मलाई हटाएको हो
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गले बजेटमा कमिसनका योजना राख्नका लागि आफूलाई मन्त्रीबाट हटाएको खुलासा गरेका छन् ।
महेन्द्रनगर स्मारकमा एमालेको जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले फर्किएपछि मन्तव्य राखेका उनले अहिलेको बजेट ल्याउन आफूलाई हटाएको बताएका हुन् ।
‘अहिलेको यहीं बजेट ल्याउन मलाई मन्त्री पदबाट हटाइएको थियो’ उनले भने,‘अर्थमन्त्रीको हैसियतबाट मबाट यस्तो बजेट आउने सम्भावना थिएन, बजेटमा कमिसन खाइएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले काँग्रेस सरकारमा सहभागी भएपछि तामाङ्ग सहितलाई मन्त्रीबाट हटाएको थियो । तामाङ्गलाई मन्त्रीबाट हटाएर उनी प्रकाश रावललाई आर्थिक मामिला मन्त्री बनाइएको थियो । उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री हुँदा विवादमा मुछिएपछि उनले राजीनामा दिएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले कमिसन रकम डिल गरी बजेटमा योजना समावेश गरिएको भन्दै सुरुमा आलोचना भएको थियो । निवर्तमान आर्थिक मामिला मन्त्री तामाङ्गले सार्वजनिक मञ्चबाटै कमिसन खाएर बजेटमा योजना समावेश गरिएको स्पष्ट पारि दिएका छन् ।
तामाङ्गले केही दिन अघि सुदूरपश्चिम प्रदेश सभामा बजेट सम्बन्धी असन्तुष्टि व्यक्त गरेका थिए । उनी प्रदेश सभामा बोलेपछि नेकपा एकीकृत समाजवादीले उनलाई पार्टी जिम्मेवारीबाट हटाएको थियो ।
एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष तामाङ्ग २०७० को निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत भएका थिए ।