महेन्द्रनगर । एमाले फर्किएका बिक्रम बहादुर शाहीले बुधबार एमाले जन सभामा आफूले सदस्यता समेत नलिएर सहयोग गर्न तयार भएको धारणा राखे । १४ वर्षको उमेरदेखि एमाले राजनीतिमा सक्रिय उनी अध्यक्ष ओलीको संसद विघटन विरुद्ध सडकमा गएर नेकपा एकीकृत समाजवादी पुगेका थिए । अध्यक्ष ओलीले खादा ओढाएपछि उनी एमाले फर्किएका छन् ।
ओलीको संसद विघटनको विरोध गर्दै सडकमा जाँदा उनी तत्कालिन नेकपाको कञ्चनपुर इन्चार्ज थिए । एमालेको नवौ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि कञ्चनपुर इन्चार्ज बनाईएका उनी एमाले माओवादी एकतामा पनि इन्चार्ज भएका थिए ।
इन्चार्ज छाडेर समाजवादी गएका उनी एक वर्ष नपुग्दै एमाले फर्किएर पार्टी सदस्यता समेत नलिई सहयोग गर्ने घोषणा सार्वजनिक रुपमा गरि सकेका छन् । समाजवादीको सुदूरपश्चिम प्रदेश अध्यक्ष भएका उनी पछि पोलिटब्यृुरो सदस्य भएका थिए ।
समाजवादी भएपछि उनी राष्ट्रिय सभा सदस्य हुन चाहेका थिए । समाजवादीले गरिमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाएर उनको आकाँक्षालाई रोकि दिएको थियो । त्यसपछि पनि उनको राजदूत बन्ने आकाँक्षामा समाजवादीले वेवास्ता गरि दिएपछि उनी असन्तुष्ट भएका थिए ।
एमाले जन सभामा एमाले विभाजनपछि समाजवादी गएका शाही, तारालामा तामाङ्ग, कुलबीर चौधरी, अशोक कुमार चन्द, माओवादी केन्द्रका मोहन गिरी लगायतका पाँच सय बढी नेता कार्यकर्ता बुधबार एमाले प्रवेश गरेका छन् । उनीहरु सबैलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका छन् ।
पार्टीमा स्वागत गरिएका नेतामध्ये शाही, तामाङ्ग र गिरीलाई बोल्न दिइएको थियो । उनीहरु सबैले आफूहरु कुनै स्वार्थ नराखेर एमाले आएको धारणा राखेका थिए ।
एमालेका पूर्व अध्यक्ष तामाङ्गले एमालेसित कुनै पनि लेनदेन नगरी आफूहरु फर्किएको बताए । उनले अध्यक्ष ओलीलाई कञ्चनपुरमा एमालेलाई फेरि ठूलो बनाउने आश्वासन समेत दिए ।
‘यहाँ आउन हामी कसैले पनि बार्गेनिङ्ग गरेका छैनौ, पार्टी बलियो बनाउन आएका हौ, पार्टीभित्र जिम्मेवारी पाउने कुरा पार्टीभित्र होला’ उनले भने,टिकट पाए लड्ने, नपाए जिताउने हो, पार्टीलाई बलियो बनाउन आएका हौ ।’
तामाङ्गलाई एमालेलाई विघटित नेकपाको निरन्तरता भएको उल्लेख गर्दै आफूले बनाएको पार्टी छाडेर जाँदा ठूलो गल्ती भएको स्वीकार गरे ।
उनले आफूहरु पद छाडेर आएकाले पदको कुनै पनि मतलब नभएको उल्लेख गरे । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलबीर चौधरीलाई संकेत गर्दै उनले आफूहरु मन्त्री पद छाडेर आएको बताए ।
एमाले विभाजन भएर समाजवादी जानु अघिसम्म तामाङ्ग तत्कालिन नेकपाको कञ्चनपुर सचिव थिए । नेकपा बन्नु अघि एमालेको जिल्ला अध्यक्ष थिए ।
युवा अवस्थामा तत्कालिन कालिका गाविसको अध्यक्ष भएका उनी २०७४ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्य भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका आकाँक्षी उनी माओवादी केन्द्रको भागमा परेपछि संसदीय दलका प्रमुख सचेतक भएका थिए ।
अध्यक्ष ओलीको संसद विघटपछि उनलाई संसदीय दलको सचेतकबाट हटाएका थियो । एमाले विभाजनपछि समाजवादी भएपछि उनी गत चैतसम्म सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री भएका थिए ।
स्थानीय तह निर्वाचन अघि काँग्रेस सकारमा सहभागी भएपछि उनलाई हटाएर समाजवादीका प्रकाश रावललाई आर्थिक मामिला मन्त्री बनाइएको थियो । समाजवादीले उनलाई जानकारी नदिएर पार्टीबाट हटाएपछि उनी असन्तुष्ट भएका थिए । मन्त्रीबाट हटाएको धेरै दिनपछि उनले आफू मन्त्रीबाट हटेको जानकारी पाएको फेसबुकमा उल्लेख गरेका थिए ।
तामाङ्ग समाजवादीका केन्द्रीय सदस्य र सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव तथा कञ्चनपुर सह इन्चार्ज थिए । उनी दक्षिणी क्षेत्रमा बलियो जनमत भएका नेताका रुपमा परिचित छन् । नरम कुटनीतिका अनुभवी उनले सबै पार्टीसित समन्वय गरी जान सक्ने नेताको परिचय बनाएका छन् ।
तामाङ्गसंगै चौधरी मन्त्री छाडेर एमाले फर्किएका छन् । चौधरी तामाङ्गका विश्वासिला हुन् । २०७४ को निर्वाचनमा एमालेले प्रदेश सभा सदस्यको टिकट लिएकी मर्यादा विष्टलाई रोकेर चौधरीलाई टिकट दिइएको थियो । चौधरी दक्षिणी क्षेत्रमा आदिवासी जनजाति समुदायका लोकप्रिय नेताका रुपमा परिचित छन् ।
उनी एमाले फर्किन महेन्द्रनगर आएपछि मुख्यमन्त्री त्रिलोचन भट्टलृ पदबाट हटाइ दिएका छन् । अध्यक्ष ओलीबाट खादा ओढर एमाले फर्किँदा चौधरीको पद गई सकेको थियो । उनले केही समयपछि आफू चढेर आएको झण्डावाल गाडी फिर्ता गरि दिएका छन् ।
एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेता मोहन गिरी पनि एमालेबाट केही पाउन भन्दा पनि देश र जनातको भावना बुझ्ने पार्टी भएकाले आएको बताउँछन् । उनले सत्तारुढ गठबन्धनको काम नभएको उल्लेख गर्दै एमाले देशका लागि चाहिने बताए ।
माओवादी केन्द्रले जिम्मेवारी विहिन बनाएपछि गिरी केही समयदेखि निष्क्रिय बसेका थिए । २०७० को संविधान सभा सदस्य निर्वानमा तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट चुनाव लडेका उनी माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यका लागि दावी गरेका थिए । माओवादी केन्द्रले गिरीलाई वेवास्ता गरेपछि उनी पार्टी छाडेर एमाले आएका छन् ।
गिरीसंगै माओवादी केन्द्रबाट संविधान सभा सदस्य भएकी दुर्गा खुना, कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष शंकरदत्त जोशी, घाँसी राम राना, मोहन पन्त, कल्पना गिरी लगायतका नेता कार्यकर्ता एमाले आएका छन् ।
एमाले अध्यक्ष ओलीको संसद विघटन कदमलाई समर्थन गरी एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेता कार्यकर्ता यस अघि एमाले आइ सकेका छन् ।