माओवादी साँसद मगरको साथ छाड्दै नेता कार्यकर्ता

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्रनगर स्मारकमा खादा लगाएर सत्ता साझेदार नेपा माओवादी केन्द्रका नेता संविधान सभा सदस्य दुर्गा खुना सहित मोहन गिरी, घाँसी राम राना, कल्पना गिरी लगायतलाई पार्टी प्रवेश गराएका छन् । उनीहरु एमाले फर्किएका नेकपा एकीकृत समाजवादीका तारालामा तामाङ्ग, बिक्रम बहादुर शाही सहित एमालेमा आएका हुन् ।

माओवादी छाडेर एमाले आएका गिरी बेलडाँडी गाउँपालिकाका बलियो पकड भएका नेता हुन् । माओवादी केन्द्रबाट उनी २०७० को संविधान सभा सदस्य निर्वाचन तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट लडेका थिए । माओवादी केन्द्रका साँसद पूर्व मन्त्री विना मगरको क्षेत्रका उनी पार्टीभित्र जिम्मेवारी विहीन बनाइएका थिए । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनाउन रोकिएपछि उनी असन्तुष्ट थिए ।

बेलडाँडीका गिरीले माओवादी छाड्न अघिसम्म साँसद मगरको क्षेत्रका धेरै नेता कार्यकर्ता पार्टी छाडेर अन्यत्र गएका छन् । मगरको गृह नगर पुनर्वासबाट साँसद मगरलाई छाड्ने क्रम लालझाडी, बेलौरी हुँदै बेलडाँडीसम्म पुगेको छ । गिरीले बुधबारदेखि बेलडाँडीमा पनि मगरको साथ छाडेका छन् । उनीसंगै स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिकाको उपाध्यक्ष लडेकी कल्पना गिरीले माओवादी छाडेकी छन् ।

साँसद मगरको माओवादी केन्द्रसम्म पकड छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी उनी माइती घरमा बसेर राजनीति गर्दै आएकी छन् । २०७० को संविधान सभा सदस्य निर्वाचनमा पराजित भएकी उनी चार वर्ष अघि फराकिलो मत अन्तरले साँसद निर्वाचित भएकी थिइन् ।

आगामी निर्वाचनमा पनि उनी चुनाव लड्ने तयारीमा छिन् । २०७४ मा एमालेसित गठबन्धनबाट जितेकी उनलाई यस पटक काँग्रेसको सहयोग पाउन लागेकी छन् । काँग्रेस माओवादी सहितको सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्न नसक्ने निर्णय गरी सीट बाँडफाँट गरि सकेका छन् ।

साँसद मगरले फेरि टिकट पाउने निश्चित भएपछि नेता कार्यकर्ता भने पार्टी छाडेर अन्यत्र जान थालेका छन् । माओवादी केन्द्रको हेडक्वाटरसित पहुँचका आधारमा मगर मात्रै प्राथमिकतामा पर्ने भएपछि नेता कार्यकर्ता असन्तुष्ट हुन थालेका छन् । माओवादी केन्द्रमा बसेर असन्तुष्टि व्यवस्थापन गर्न नसकिने भएपछि उनी पार्टी छाडेर साँसद मगरप्रतिको असन्तुष्टि पोख्न थालेका छन् ।

‘प्रचण्डजीसित सम्बन्ध भएपछि त्यहाँ भनेर पनि केही हुने छैन, खाली चुनाव जिताउन मात्रै झोला बोकेर पनि काम छैन’ माओवादी केन्द्रका एक नेताले भने,‘त्यो भन्दा यहाँ बस्नु भन्दा पार्टी छाडेर अन्यत्र जान ठिक छ भन्ने लागेर गई रहेका छन् ।’

साँसद मगरप्रति २०७० को संविधान सभा सदस्य निर्वाचनदेखि असन्तुष्टि पोख्न थालिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मगरलाई टिकट दिएपछि त्यस विरुद्ध नेताहरुले बागी दिएका थिए । उनीहरुलाई प्रचण्डले काठमाडौं बोलाएर सम्झाएका थिए ।

माओवादीबाट छुट्टिएको तत्कालिन वैद्य माओवादीले चुनाव बहिस्कार गरी हराउने नीति लिएका थिए । पुनर्वासमा त्यसको नेतृत्व बीर बहादुर थापा पातलले गरेका थिए । साँसद मगर हारेपछि माओवादी केन्द्र फर्किएका उनी दुई वर्ष अघि एमाले आएका थिए । केही महिना एमाले जिल्ला अध्यक्ष भएका उनी आठौं जिल्ला अधिवेशनमा पराजित भएका थिए ।

माओवादी केन्द्र फर्केपछि थापा २०७४ मा पुनर्वास नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । त्यसपछि माओवादी केन्द्रको जिल्ला अध्यक्ष भएका उनी तत्कालिन नेकपाको अध्यक्ष हुँदै सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि एमाले आएका थिए ।

पुनर्वासमा थापा सहित पदम पुजारा लगायतले नेता साँसद मगरलाई छाडि सकेका छन् । पुजारा एमाले पुनर्वास नगर कमिटीको अध्यक्ष छन् । उनी स्थानीय तह निर्वाचनमा एमालेबाट पुनर्वासको मेयर लडेका थिए ।

साँसद मगरले सबैभन्दा बढी प्राथमिकता दिएको बेलारी नगरपालिकामा पनि उनलाई नेता कार्यकर्ताले छाडेका छन् । स्थानीय तह निर्वाचनमा यज्ञ कँडेल एमाले फर्किएका थिए । २०७४ को निर्वाचनमा एमाले छाडेर माओवादी गएका कँडेल यस पटक एमाले फर्किएका छन् । माओवादी केन्द्रका नेता बलदेब बुडाल, राधाकृष्ण जोशी, प्रेम सिह बोहरा लगायत त्यस अघि एमाले आएका थिए ।

बेलौरीका मेयर पोतिलाल चौधरीलाई जिताउन साँसद मगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बेलौरी बोलाएर चुनावी सभा गरेकी थिइन् । साँसद मगरले जिल्ला आउँदा अधिकाँश समय बेलौरीमा बिताउने गरेको नेताहरु बताउँछन् ।

लालझाडी गाउँपालिकाका माओवादी केन्द्रका नेता खेमराज ओझा नेकपा विघटनपछि एमाले आएका थिए । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले लालझाडीमा अध्यक्ष उपाध्यक्ष सहित अधिकाँश वडा गुमाएको छ । लालझाडीमा उम्मेदवार जिताउन साँसद मगरले मौन अवधिमा भोजभतेर गरेपछि चौतर्फी आलोचना भएको थियो ।

माओवादी साँसद मगर आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा कम आउने साँसदमा पर्छिन् । साँसद निर्वाचित भएको पाँच वर्षे कार्यकाल सकिन लाग्दासम्म उनी संसदमा बोलेकी छैनन् । खानेपानी तथा सरसफाई मन्त्री भएर पनि मगरले आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएको आरोप खेप्नु पर्ने परिस्थित बनाएकी छन् ।

माओवादी नेता कार्यकर्ता बाहेक सत्तारुढ काँग्रेसका नेता कार्यकर्ता पनि चुनावमा साँसद मगरलाई असहयोग गर्ने पक्षमा मनस्थितिमा छन् । ‘चुनाव जितेपछि आफ्नो क्षेत्रका लागि केही पनि गर्न नसक्ने नेतालाई गठबन्धन भए पनि स्वीकार गर्न सकिदैँन’ काँग्रेसका एक महाधिवेशन प्रतिनिधिले भने,‘चुनावमा विवेकको अधिकार प्रयोग गर्छौ ।’

माओवादीका नेता कार्यकर्ता छाडेर अन्यत्र जान थालेपछि साँसद मगरलाई आगामी निर्वाचन असहज हुने अनुमान गर्न थालिएका छन् । पाँच वर्ष अघि एमालेको सहयोगमा फराकिलो मत अन्तरले जितेकी उनी २०७० को निर्वाचनमा तेस्रो भएकी थिइन् । काँग्रेसका दिवान सिह विष्टले चुनाव जित्दा एमालेका लाल बहादुर बिक दोस्रो भएका थिए ।

स्थानीय तह निर्वाचनमा साँसद मगरले आफ्नो निर्वाचन क्षेत्रमा पकड गुमाएकी छन् । बेलौरी बाहेक अन्य तीन स्थानीय तहमा पनि माओवादी केन्द्रको कमजोर नतिजा आएको छ । लालझाडीमा माओवादी केन्द्रले अघिल्लो जितलाई कायम राख्न असफल भएको छ । बेलडाँडीमा माओवादी केन्द्रका लागि पछिल्ला दुई निर्वाचन निराशाजनक भएका छन् ।

एकीकृत समाजवादीसित गठबन्धन गरी चुनाल लडेका आफ्नै गृह नगरमा पनि साँसद मगर कमजोर देखिएकी छन् । स्थानीय तह निर्वाचनमा पुनर्वासको मेयर उप मेयर दुबै काँग्रेसले जितेको छ । माओवादी सहयोगमा मेयर लडेका निवर्तमान मेयर जीवनराज थापा २०७४ मा माओवादी केन्द्रका बीर बहादुर थापाले ल्याएको मत भन्दा कम मत ल्याएका छन् ।

माओवादी केन्द्र सम्बद्ध नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका जिल्ला अध्यक्ष बिरेन्द्र सिह साउँद नेता कार्यकर्ताले पार्टी छाड्दा केही असर पर्ने भए पनि ठूलो मात्रा नपर्ने बताउँछन् ।

‘असर त हुन्छ, अहिले गएका नेता कार्यकर्ताबाट त्यति ठूलो असर पर्दैन, वहाँहरु त्यति बलियो नेता होइनन्’ उनले भने,‘ अहिले त एक पार्टीबाट अर्कोमा जानु आउनु संस्कार जस्तो छ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.