कञ्चनुर क्षेत्र नं. ३ मा एमालेबाट साँसद भट्ट सहित पाँच नेताले राखे आकाँक्षा, क्षेत्रीय कमिटीले छलफल गरी जिल्लामा सिफारिश गर्ने
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमाले साँसद डा. दिपक प्रकाश भट्ट सहित पाँच नेताले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि आकाँक्षा राखेका छन् ।
एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा शनिबार निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकमा नेताहरुले आकाँक्षा राखेका छन् । उनीहरुमा साँसद भट्ट सहित समानुपातिक साँसद निरुदेवी पाल, नेताहरु राजेन्द्र सिह रावल, ईश्वरी प्रसाद खरेल र हिरासिह सार्की छन् ।
प्रतिनिधि सभा सदस्यका आकाँक्षीमध्ये खरेल बाहेक अन्य चार जना संसदीय निर्वाचन लडि सकेका छन् । उनीहरुमध्ये भट्ट र पाल अहिले पनि साँसद छन् ।
एमाले साँसद भट्टले २०७४ को निर्वाचनमा एमालेलाई २०५१ पछि पहिलो पटक जित दिलाएका हुन् । २०५१ को मध्यावधि निर्वाचन जितेपछि एमालेले त्यसपछिका सबै निर्वाचनमा हार व्यहोर्दैै आएका थिए ।
२०७४ अघि भएका दुई संविधान सभा सदस्य निर्वाचन र २०५६ को आम निर्वाचनमा एमाले पराजित भएको थियो । एमालेलाई मध्यावधि निर्वाचनपछि जित दिलाएका भट्ट फेरि जितेर कञ्चनपुर क्षेत्र नं. ३ मा नयाँ रेकर्ड बनाउने मनस्थितिमा छन् । यस क्षेत्रमा निर्वाचित व्यक्तिले लगातार चुनाव नजितेको रेकर्ड तोड्ने गरी अघि बढेका छन् ।
साँसद भट्टले अघिल्लो निर्वाचनमा यस क्षेत्रमा १८ वर्षदेखि सत्तामा बस्दै आएका काँग्रेस नेता रमेश लेखकलाई पराजित गरेका थिए । लेखक यस क्षेत्रमा २०५६ देखि निर्वाचित हुँदै आएका थिए ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकाँक्षीद्वय साँसद पाल र रावल दुबै जना पहिलो संविधान सभा सदस्य निर्वाचन लडि सकेका छन् । संविधान सभा सदस्य निर्वाचनमा रावल र त्यसपछि भएको उप निर्वाचनमा रावल लडेका थिए । उनीहरु दुबै जना पराजित भएका थिए ।
साँसद पाल र रावल दुबै एमालेको पोलिटब्युरो सदस्य छन् । उनीहरु दुबैले एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँच बनाएका छन् । रावल एमालेको सुदूरपश्चिम प्रदेश सह इन्चार्ज र पाल कञ्चनपुर इन्चार्ज छन् ।
एमालेका आकाँक्षी सार्की मुक्ति समाजका राजनीतिमा सक्रिय छन् । उनी २०७४ को निर्वाचनमा समानुपातिक लडेका थिए ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य खरेल २०५४ का भीमदत्त नगरपालिकाको उप मेयर निर्वाचित भएपछि संसदीय निर्वाचन लडेका छैनन् । उनले अघिल्लो पटक पनि प्रतिनिधि सभा सदस्यमा आकाँक्षा राखेका थिए ।
एमाले क्षेत्रीय समन्वय कमिटीमा आकाँक्षा राखेका नेताहरुसित आइतबार फेरि छलफल गरी जिल्ला कमिटीमा सिफारिश गरिने भएको छ ।
एमालेले प्रदेशबाट एक महिला तीन जानको नाम जिल्ला कमिटीमा सिफारिश गर्ने मापदण्ड बनाएको छ । आकाँक्षीपछि छलफल गरी क्षेत्रीय कमिटीले उम्मेदवार सिफारिश मापदण्ड अनुसार जिल्ला कमिटीमा सिफारिश गर्ने नेताहरु बताउँछन् ।