भीमदत्तमा मेयर बोगटीका सय दिन : प्रशंसा पाए थोरै, विवादमा मुछिए धेरै

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले आइतबार पदभार सम्हालेको एक सय दिन पुगेको छ । मेयर बोगटीले एक सय दिनमा प्रशंसा र आलोचना दुबै पाएका छन् । उनी केही निर्णयका कारण उनी विवादमा मुछिएका छन् ।

मेयर बोगटीले एक सय दिनमा दुई नयाँ कार्यक्रम थालनी गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा बोगटीले थालनी गरेका यी दुई कार्यले प्रशंसा बटुलेका छन् । स्थानीय तह निर्वाचनका चुनावी प्रतिवद्धता अनुसार बोगटीले भीमदत्तको वाािर्षक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयनमा ल्याएका छन् ।

मेयर बोगटीको कार्यकाल एक सय दिन पुगेको दुई दिन अघि मात्रै गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम सुरु गरिएको छ । महाकाली प्रादेशिक अस्पताललबाट भीमदत्त नगरपालिका ७ हल्दुखालकी सुत्केरी महिलालाई घर पुगाएर कार्यक्रम सञ्चालन गरिएको थियो ।

भीमदत्त नगरपालिका ८ बाट केही दिन अघि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको थियो । भीमदत्तमा सुरु गरिएका यी दुई नयाँ कार्यक्रमको उद्घाटनमा मेयर बोगटी भने अनुपस्थित भएका छन् ।

मेयर बोगटीले एक सय दिनमा चार कार्यपालिका बैठक र नगर सभा गरेका छन् । उनले गत जेठ ९ गते पदभार सम्हालेका थिए । अहिले एक सय दिन पुग्दासम्म उनले डेढ दर्जन कार्य गरेको सार्वजनिक गरिएको छ । भीमदत्तका नगर प्रवक्ता महेन्द्र खड्काले प्रेस विज्ञप्ति सार्वजनिक गरी काम सार्वजनिक गरिएका छन् ।

ती कार्यमा केही अघिल्लो कार्यकालमा सुरु गरी सम्पन्न गरिएका पनि छन् । त्यसमध्ये मेयर बोगटीले मझगाउँ विमानस्थल, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा खोजी लगायतका पहल गरिएको उल्लेख गरिएको छ ।

मेयर बोगटी महिला जनप्रतिनिधिको पोशाक खरिद र आफ्ना निजी सवारी चालकलाई नगरपालिका कार्यालयमा तलब खुवाएपछि सबैभन्दा बढी विवादमा मुछिएका छन् ।

नगरपालिकाको निर्णय र प्रक्रिया विना उप मेयर सहित ३९ महिला जनप्रतिनिधिका लागि पोशाक खरिद गरिएको छ । निर्णय विना पोशाक खरिद गरिएको बाहिर आएपछि मेयर र उप मेयर आफैंले व्यक्तिगत रुपमा तिर्ने घोषणा गरी जोगिएका छन् ।

निजी चालक वसन्त विष्टलाई मेयर बोगटीले पदभार सम्हालेको दोस्रो दिनदेखि तलब भत्ता खुवाएका छन् । नगरपालिकाका अनुसार चालक विष्टले असार मसान्तसम्म तलब लिएका छन् । उनी मेयर बोगटीको निजी सवारी साधन चलाउँदै आएका छन् ।

मेयरको पदभार सम्हालेपछि उनले सरकारी गाडी नचढ्ने घोषणा गरेका थिए । उनको घोषणापछि अघिल्लो कार्यकालका मेयरले चढ्दै आएको गाडी उप मेयरलाई दिइएको थियो ।

निजी चालकलाई नगरपालिकाले तलब खुवाएपछि उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले त्यस सम्बन्धी सबै कागजात झिकाएर अनुसन्धान अघि बढाएको छ ।

मेयर बोगटीले एक सय दिनमै कार्यपालिका बैठक बहिस्कारको सामना गरेका छन् । विपक्षी एमालेका जनप्रतिनिधिले मेयर बोगटीले एकलौटी निर्णय गरेको भन्दै चौथो कार्यपालिका बैठक बहिस्कार गरेका थिए ।

मेयर बोगटी नगरपालिकामा विपक्षी दलप्रति अनुदान देखिएका छन् । उनले विषयत समिति र न्यायिक समितिमा एकलौटी गरेका छन् । ती दुबैमा काँग्रेस जनप्रतिनिधिलाई जिम्मेवारी दिएका छन् ।

चौथो कार्यपालिका बैठकमा पनि मेयर बोगटीले काँग्रेस सम्बद्ध प्रधानाध्यापक र अध्यक्ष भएका विद्यालयमा मात्रै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गर्न थालेपछि विपक्षी बैठक बहिस्कार गरी बाहिर आएका हुन् । विपक्षीको बहिस्कारपछि विद्यालय छनौटको निर्णय स्थगित गरिएको स्रोतको भनाई छ ।

काँग्रेसका जिल्ला सभापति बोगटी आफ्नै नेता कार्यकर्ताबाट पनि हैरान भएका छन् । नेता कार्यकर्ता कार्यकक्ष गएर दिनभर बस्न थालेपछि उनले कार्यकक्षमा ताला लगाउने गरेका छन् । बोगटी नगरपालिका कार्यालय पार्टी कार्यालय बनाएको आरोप खेप्न पनि बाध्य छन् ।

भीमदत्तमा आफ्नै निर्णय विरुद्ध खोला नाला उत्खनन गरी वडाहरुमा ग्राभेलिङ्ग गर्ने कार्य चलेको छ । असोज १ गते अघि खोला बन्द गर्ने निर्णय गरेपछि नगरपालिका आफैंले उल्लङ्घन गरी अघि बढेको छ ।

भीमदत्त नगरपापलिकाको सबैभन्दा ठूलो आन्तरिक स्रोत महाकाली नदीमा ठेक्का लगाउन मेयर बोगटीले वेवास्ता गरेका छन् । नगरपालिका अनुसार आइइ गरी असोज १ गतेदेखि ठेक्का लगाउनु पर्नेमा अहिलेसम्म तयारी गरिएको छैन । असोज १ गतेदेखि खोलानाला खुल्ने भएकाले त्यस अगावै ठेक्का लगाउनु पर्ने हुन्छ ।

स्रोतका अनुसार नगरपालिका जनप्रतिनिधिले आफ्ना मान्छे राखेर रोयल्टी रकम संकलन गर्ने मनसायका कारण ठेक्का लगाउन आनाकानी गरिएको छ । त्यस बाहेक महाकाली नदी आयोजनाको ठेकेदार कम्पनीबाट १४ करोड अशुल गर्न पनि मेयर बोगटी चुप बसेका छन् ।
नगर सभाको केही दिन अघि मेयर बोगटीले अघिल्लो कार्यकालमा तिर्नु पर्ने दायित्व श्वेतपत्र जारी गरी सार्वजनिक गरेका थिए । श्वेतपत्रमा पनि ठेकेदारबाट लिनु पर्ने रकममा नगरपालिका मौन बसेको थियो ।

नगरपालिका कार्यपालिकाका दुई बैठक र श्वेतपत्र जारी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । अहिले एक सय दिनका काम भने प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरिएको छ ।

भीमदत्तका प्रवक्ता महेन्द्र खड्काले मेयर बोगटी जिल्ला बाहिर भएकाले पत्रकार सम्मेलन नगरी प्रेस विज्ञप्ति मार्फत काम सार्वजनिक गरिएको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.