
महेन्द्रनगर । सत्तारुढ काँग्रेसबाट आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि एकै घर परिवारका सदस्य उम्मेदवार सिफारिश गरिएका छन् । काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा गरेको सिफारिशमा लोग्ने स्वास्नी, दाजु भाई र काका भतिजा उम्मेदवार सिफारिशमा परेका छन् ।
काँग्रेस कञ्चनपुरका पूर्व सभापति अन्तराम भट्ट र उनकी धर्मपत्नि तारादेवी भट्ट उम्मेदवार सिफारिश भएका छन् । उनीहरु दुबै जना कञ्चनपुर क्षेत्र नं. ३ बाट समानुपातिकमा सिफारिश भएका छन् ।
पूर्व सभापति भट्ट प्रत्यक्ष र उनकी धर्मपत्नि महिलातर्फ समानुपातिकमा सिफारिश भएकी छन् । तारादेवी भट्टलाई राष्ट्रिय सभाका निवर्तमान सदस्य हुन् ।
कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिश नारायण प्रकाश साउँद र उनका दाई उदयप्रकाश साउँद पनि उम्मेदवारका लागि सिफारिश भएका छन् । महेन्द्रनगर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक साउँदका दाई उदयप्रकाश समानुपातिकमा सिफारिश भएका छन् । उनी निर्वाचन क्षेत्र नं. ३ क बाट समानुपातिकमा सिफारिश भएका छन् ।
काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री साउँद २०५१ देखि कञ्चनपुरमा चुनाव लड्दै आएका छन् । उनले हालसम्म लडेका पाँच निर्वाचनमा दुई जितेका छन् । तीनमा पराजित भएका छन् । साँउद यस पटक पनि निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्न उम्मेदवारका लागि सिफारिश भएका छन् ।
काँग्रेसका महाधिवेशन प्रतिनिधि बेदप्रकाश चौधरी निर्वाचन क्षेत्र नं. २ बाट समानुपातिकमा सिफारिश भएका छन् । उनीसंगै सोही क्षेत्रबाट उनका काका रोशनलाल चौधरी पनि सिफारिश भएका छन् । सरकारी जागिरबाट अवकाश पाएपछि रोशनलाल काँग्रेस राजनीतिमा लागेका छन् ।
निर्वाचन क्षेत्र नं. २ ख मा सिद्धराज भट्ट र उनका भाई पुष्पराज भट्ट पनि उम्मेदवारका लागि सिफारिश भएका छन् । उनीहरु समानुपातिकमा सिफारिश भएका छन् । काँग्रेसको शिक्षक संघको राजनीतिमा सक्रिय सिद्धराज शुक्लाफाँटाको मेयरमा पनि आकाँक्षी थिए । उनका भाई पुष्पराज काँग्रेसको ट्रेड युनियन राजनीतिमा आवद्ध छन् ।
निर्वाचन क्षेत्र नं. ३ क बाट रामसोगर ठाकुर र उनकी धर्मपत्नि सीता ठाकुर समानुपातिकमा उम्मेदवारका आकाँक्षी थिए । जिल्ला समितिले ठाकुर पत्निको नाम काटेर सामसोगरलाई मात्रै प्रदेश समितिमा सिफारिश गरेको छ ।
