महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको १४ औं अधिवेशनमा पारस जोशी सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेशदत्त जोशीका छोरा पारस २४ वर्षको उमेरमा निर्माणको सदस्यमा चुनाव लड्न लागेका हुन् । उनी एक वर्षदेखि जोशी बिल्डर्स एण्ड कम्पनीका निर्देशक छन् ।
‘म एक वर्षदेखि निर्देशक भएर काम गर्र्दै आएको छु, यस पटक निर्माणमा सदस्यका लागि चुनाव लड्न लागेको छु’ उनले भने,‘अहिले त्यसका लागि प्रचारप्रसारमा छु ।’
जोशीका बुवा गणेशदत्त पनि निर्माण र व्यापार दुबै क्षेत्रमा सक्रिय छन् । उनका हजुर बुवा पनि व्यापार र निर्माण व्यवसायमा सक्रिय थिए । पुख्र्यौली पेशालाई निरन्तरता दिएर व्यवस्थापनमा संकायमा डिग्री गरेका जोशीले त्यसैलाई निरन्तरता दिएका छन् ।
‘हो, अब म पनि पूर्ण रुपमा निर्माण व्यापारको क्षेत्रमा लाग्छु’ उनले भने,‘बाबु बाजेले पनि यहीं पेशा गर्दै आउनु भएको छ, म पनि यसैमा लाग्छु ।’ उनका बुवा जोशी पनि निर्माण व्यवसायी संघमा मतदाता छन् ।
शंकरदेब क्याम्पसबाट सूचना प्रविधि व्यवस्थापनमा स्नातक गरेका उनले भारतको सेमबायोसिस विश्वद्यिालयमा व्यवस्थापन प्रशासनमा स्नातकोत्तर गरेका हुन् ।
उनी गत वर्ष अघि मात्रै अध्ययन पूरा गरी घर फर्किएका हुन् । घर फर्किएपछि उनी कम्पनीको निर्देशक भएका छन् । ‘पढाई सकेर आएपछि म निर्देशक भए’ उनले भने,‘अब प्रोफेसनली यसै पेशामा लाग्छु ।’
निर्माण व्यवसायी संघको भदौ २४ गते २५ औं साधारण सभा तथा १४ औं अधिवेशन हुने लागेको छ । अधिवेशनमा संघका वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी र निवर्तमान वरिष्ठ उपाध्यक्ष निरञ्जन प्रसाद भट्टका चुनावी प्यानल घोषणा गरिएको छ ।
अधिवेशनमा संघमा सात सदस्य निर्वाचित हुने छन् ।