

महेन्द्रनगर । सार्वजनिक स्थानमा आफूमाथि गरिएको जातीय विभेद विरुद्ध अधिकारकर्मी सन्जु नेपाली प्रहरी कार्यालयसम्म पुगेकी छन् । उनले जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ अनुुसार सार्वजनिक स्थानमा आफूमाथि जातीय विभेद गर्ने पुजारीमाथि कारवाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । किटानी जाहेरी दर्तापछि पुजारी पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
भीमदत्त नगरपालिका ५ नेपाली लगायतका दलित समुदायका ब्रतालु महिलाको ऋषिपञ्चमीका दिन महाकाली नदीको भुजेला घाटमा पुजारी पुजापाठ गर्न अस्वीकार गरेका थिए । त्यस विरुद्ध नेपाली सहितका महिलाहरु न्याय खोज्दै प्रहरीमा पुगेका छन् ।

जातीय विरुद्ध नेपाली लगायतका अन्य महिलाले जाहेरी दिएका छन् । प्रहरीले पुजारी पक्राउ गरी अनुसन्धान अघि बढाएपछि अधिकारकर्मी नेपाली घट्नाको केन्द्रमा छिन् । उनको पक्ष र विपक्षमा समाज विभाजित भएको छ ।
हलिया मुक्ति आन्दोलनमा सानैदेखि सक्रिय उनी अहिले राष्ट्रिय हलिया मुक्ति समाजको केन्द्रीय सदस्य छिन् । उनी दलित समुदाय र हलिया समुदाय सम्बन्धी जानकार छन् । उनी हलिया मुिक्त आन्दोलनमा सक्रिय छिन् ।
नेपाली लगायतका महिलामाथि भएको विभेद घट्नामा पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न राजनीतिक दल आवद्ध सबै दलित जनवर्गीय संगठन एक ठाउँमा आएका छन् । आधा दर्जन बढी संगठनले सामूहिक विज्ञप्ति प्रकाशित गरी कारवाहीको माग गरेका छन् । विज्ञप्तिमा काँग्रेसका भातृ संगठन दलित संघका पदाधिकारी अनुपस्थित भएर सदस्यले मात्रै हस्ताक्षर गरेका छन् ।
संगठनको सामूहिक विज्ञप्ति अघि राजनीतिक दलका ती संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पनि घट्नाको निन्दा गरेका छन् । त्यसमा काँग्रेसका दलित संघ बाहेक अन्य संगठन घट्नाको विरोधमा देखिएका छन । एमालेका उत्पीडित जातीय मुक्ति समाज र माओवादीको दलित मुक्ति मोर्चाले प्रहरीमा किटानी जाहेरी दर्तापछि विज्ञप्ति निकालेका हुन् ।
नेकपा बहुमतले विज्ञिप्त प्रकाशित गरी घट्नाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कानुन अनुसार कारवाहीको माग गरेको छ ।
बहुमत बाहेक अन्य दल विज्ञप्ति समेत निकालेर घट्नाको विरोध गर्न पछि परेका छन् । माओवादी सम्बद्ध दलित मुक्ति मोर्चाका नेता कार्यकर्ता मात्रै विरोधमा देखिएका छन् । माओवादीको दलित मुक्ति मोर्चाले पनि घट्नाको एक सातापछि मात्रै विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ ।
पीडित नेपालीको पक्षमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक खगेन्द्र जोशीले खुलेर लागेका छन् । उनले धर्मका जाहेरी दर्तापछि गरिएको ब्राह्मण समाजको आन्दोलनलाई औचित्यहिन भनेका छन् । उनले केही दिन अघि मान्छेले मान्छेलाई भेदभाव गर्ने र उचनिच व्यवहार गर्ने व्यक्ति ब्राह्मण नहुने भन्दै निन्दा गरेका थिए ।
ब्राह्मण समाजले भने पुजारीलाई नियोजित रुपमा फसाइएको भन्दै सडकमा आएको छ । पुजारीलाई सम्मानपूर्वक रिहाईका लागि दिर्घराज भट्टको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।

भट्ट सहित आचार्य घनश्याम लेखक, साहित्यकार हेमबाबु लेखक लगायतका ब्राह्मण समुदायका सबै अगुवा पुजारी पक्राउ विरुद्ध देखिएका छन् । उनीहरु फेसबुकमा पुजारी पक्राउ विरुद्ध दबाव मुलुक अभियान चलाएका छन् । उनीहरुले पीडित विरुद्ध जाहेरी दिन कानुन व्यवसायीसंग परामर्श गरेका छन् ।
ब्राह्मण समाज पुजारीलाई छाड्नु पर्ने माग राख्दै सडकमा आएपछि जिल्ला समन्वउ समितिका प्रमुख दुर्गा बोहराले सामाजिक सद्भाव कायम राख्न दैनिक छलफल राख्दै आएका छन् । आइतबार पीडित नेपाली सहितलाई पनि समन्वय बोलाएर छलफल गरेका छन् । त्यस अघि बोहराले पीडितसित सम्पर्क नगरी राजनीतिक दलसंग छलफल गरेका थिए । त्यसमा एमाले बाहेक सबै दलका नेता सहभागी भएका छन् ।
‘म लगायतका महिलामाथि सार्वजनिक स्थानमा जातीय विभेद गरिएको छ, यो कानुन विपरित कार्य हो, त्यस विरुद्ध म न्याय माग्न गएकी हुँ’ पीडित नेपालीले भनिन्,‘कुनै व्यक्तिगत आग्रह पूर्वाग्रह भन्ने केही छैन, अदालतले जे गर्ला त्यही मान्छु ।’
पीडित नेपालीले आफूमाथि एनजिओ उक्साहमा सुनियोजित रुपमा घट्ना गराएको भनेर लगाएको गम्भीर आरोपप्रति दुःख व्यक्त गरेकी छन् ।
‘यो एनजिओले गराएको हो, सुनियोजित हो भनेर प्रचार गरिदैँछ, यो निकै दुःखद छ’ उनले भनिन्,‘जाहेरी पर्न अघिसम्म मैले धेरै मान्छेलाई सहयोगका लागि भने कोही आएन, अहिले केही जना आका छन् यो सब घट्नालाई कमजोर बनाउन ममाथि गलत आरोप लगाइएको छ ।’
भुजेला घाटमा पुजारीले आफूहरुलाई पहिला बोलाएर पछि गोत्र सोध्ने क्रममा थर खुलेपछि आफूहरुको पुजापाठ गर्न अस्वीकार गरेको उनी बताउँछिन् । पुजारीले जात भगवानले छुट्याएको पुजापाठ गर्न नसकिने भिडियो समेत बाहिर आई सकेकाले घट्नाको गलत रुपमा प्रचार गर्न थालिएको उनको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख बोहराले सामाजिक सद्भाव बिथोलिने कुरा गरी मुद्दालाई कमजोर बनाउने भूमिका निर्वाह गर्न खोजेको पीडित नेपाली आशंका व्यक्त गर्छिन् ।
‘त्यो घट्नाबारे वहाँको बुझाई के, सही वा गलत के हो केही भन्ने छैन, खाली सद्भाव मात्रै बिथोलिन्छ भनेर वहाँले एकोहारो रटान लाई राख्न भयो’ उनले भनिन्,‘फेसबुकमा वहाँकै पार्टी नेता कार्यकर्ता भड्काउन लागेका छन्, उनी वहाँ चाहिँ सद्भाव बिथोलियो भनेर छलफल गर्नु हुन्छ, यसबाट समन्वय समिति पनि विभेदको घट्ना जाहेरी दिनु ठिक होइन कि भन्ने देखिन्छ ।’
समन्वय समितिको छलफलमा पनि आफूले कानुन अनुसार जाहेरी दिएको र आफूले कुनै पनि सद्भाव बिथोलिने कार्य नगरेको धारणा राखेको उनी बताउँछिन् ।
समन्वय समितिका प्रमुख बोहराले छलफल अघि बढाएपछि काँग्रेस सम्बद्ध दलित संघका पदाधिकारीले विभेद विरोधी घट्नाका छलफलमा आउने छाडेको दलित समुदायका अगुवा बताउँछन् ।
‘सबै दलका भातृ संगठनका पदाधिकारी आउँदा पनि काँग्रेसका कोही पनि आएन, जबकी अघिल्लो दिन संघका सभापति आफैं सहभागी थिए, वहाँ सहितको छलफलबाट दोस्रो दिन विज्ञप्ति निकाल्ने कुरा भएको थियो’ अधिकारकर्मी शिवीराज रानाले भने,‘अर्को दिन अरु दलका आए, संघका सदस्य मात्रै आए, यसले संघका साथीहरुमा केही पार्टीगत रुपमा दबाव परेको आशंका गर्न सकिन्छ ।’

