
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि एक दिनमा गरिएका उपलब्धि सार्वजनिक गरेका छन् । नगरपालिका कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी सय दिनका उपलब्धि सार्वजनिक गरिएको छ ।
शुक्लाफाँटाका उप मेयर कल्पना पन्त, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट सहित जनप्रतिनिधि पत्रकार सम्मेलनमा सहभागी भएका छन् । मेयर महराले पत्रकार सम्मेलनमा सय दिनका उपलब्धि पढेर सुनाएका छन् ।

उपलब्धि सुनाएपछि मेयर महराले पत्रकार राखेका जिज्ञासाको जवाफ दिएका छन् ।
‘हामी निर्वाचित भएर आउँदा पूरानो बजेट लगभग सकिन लागेको थियो, त्यसैले धेरै कुरा नयाँ छन्, केही मात्रै पुराना छन्’ उनले भने,‘चुनावमा गरिएका वाचा प्रतिवद्धता अनुसार अघि बढ्ने कोसिस गरेका छौ, त्यस अनुसार नै अघि बढेका छौ ।’
मेयर महराले सय दिनका उपलब्धिलाई विभिन्न भागमा विभाजन गरी सार्वजनिक गरेका छन् । ती सबै विधामा सय दिनमा ४५ उपलब्धि समावेश गरिएका छन् ।
मेयर महराले भूमि व्यवस्थापनको उपलब्धिलाई पहिलो प्राथमिकता दिएका छन् । स्थानीय तह निर्वाचनमा उनले अव्यवस्थित बसोबासीको समस्यालाई प्रमुख चुनाजी मुद्दा बनाएका थिए । त्यस अनुसार महराले सय दिनमा शुक्लाफाँटा नगरपालिकामा जग्गा नापजाँच सुरु, भू–उपयोग परिषद् गठन, अतिक्रमणको चपेटामा परेको वसन्त सामुदायिक वनलाई चन्द वाटिकाको रुपमा संरक्षण गर्ने कार्य अघि बढाएका छन् ।
शुक्लाफाँटा नगरपालिका ९ बाट सुरु गरिएको जग्गा नापजाँच हालसम्म ६० हेक्टरको ४ सय कित्ताको नापी गरिएको छ ।
एशियाली विकास बैंकको अनुदानमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजानका कार्यक्रमलाई मेयर महराले गति दिएका छन् । स्थानीय तह निर्वाचन अघि एकदमै सुस्त भएका कार्यक्रम अहिले गति लिएका छन् । मेयर महराले यसलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको उपलब्धिका रुपमा लिएका छन् । यस बाहेक पूर्वाधार क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु र नगर गौरबका योजनाका लागि बजेट विनियोजन गरेका छन् ।
आर्थिक विकास क्षेत्र अन्र्तगत महराले कृषि, पशु र पर्यटनमा गरिएका काम समावेश गरेका छन् । कृषि क्षेत्रमा गहुँ उत्पादन प्रवद्र्धन कार्यक्रम, च्याउ पकेट कार्यक्रम सञ्चालन, कृषिको पकेटका लागि सम्भाव्यता अध्ययन र किसानलाई कृषि सामाग्री वितरण लगायतका कार्यक्रम गरिएका छन् ।
पशु चिकित्सक र कृषि अधिकृत सबै नियुक्ति प्रक्रिया अघि बढाएका महराले नगरपालिका क्षेत्रभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारमा सहयोगका लागि प्रस्ताव पठाएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी प्रवेशद्वार निर्माणका लागि प्रस्ताव पठाइएको छ ।
मेयर महराले सामाजिक विकास क्षेत्रमा स्वास्थ्य चौकीमा चिकित्सक नियुक्ति र कमजोर अवस्थाका विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङ्ग अध्ययनमा छात्रबृत्ति दिने निर्णय गरेका छन् । पिपलाडीस्थित स्वास्थ्य चौकीमा चिकित्सक नियुक्ति गरिएपछि मेयर महराको चौतर्फी प्रशंसा पाएका छन् ।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र एक सय दिने आमाको पोषण सुधारका लागि गर्भवती र सुत्केरी महिलालाई तरकारीको बिउ वितरण कार्य पनि सुरु गरिएको छ ।
नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि सुझाव लिन नगर शिक्षा आयोग गठनका लागि तयारी अघि बढाएका छन् । महराले आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको नीति ल्याएका छन् । उनी मेयर भएपछि शुक्लाफाँटामा कक्षा ४ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ ।
नगरपालिकामा लथालिङ्ग रोजागर सेवा केन्द्रलाई व्यवस्थित बनाउन कर्मचारी पदपूर्ति गरेका छन् । यस अघि कर्मचारी नहुँदा केन्द्रका कामकाज अस्तव्यस्त भएका थिए।
उप मेयर पन्तले सय दिनमा न्यायिक समितिमा आएका ९ मुद्दामध्ये ६ ओटा मिलापत्र पत्र गरेको उपलब्धिमा समावेश गरिएको छ ।
मेयर महराले करका दायरा बढाएर करको दर भने घटाई दिएका छन् । करका दायरा बढाएपछि नयाँ आर्थिक वर्षको साउन र भदौमा मात्रै अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत राजश्व बढी संकलन गरिएको छ ।
नगरपालिकाले एक सय दिनमा हात्ती सहित जंगली जनावरबाट पीडित १ सय ३० स्थानीयलाई राहत दिइएको छ ।
मेयर महराले नगरपालिकाको संस्थागत विकासलाई पनि ध्यान दिएका छन् । उनले नगरको गुरु योजना बनाउने कार्य अघि बढाएका छन् । स्थानीय तह निर्वाचनमा उनले नगरको गुरु योजना प्रतिवद्धता गरेका थिए । उनले सबै ठेक्कापट्टालाई विद्युतीय खरिद प्रणालीमा लगेका छन् ।
शुक्लाफाँटाका सबै वडामा अनलाइनबाट राजश्व संकलन सुरु गरिएको छ । सेवाग्राहीका गुनासो सुन्न नगरपालिका कार्यालयमा हटलाइन सेवा जडान गरिएको छ ।
