महेन्द्रनगर । संविधान सभा सदस्यका दुई निर्वाचनमा विजयी र पराजित नेताहरु आगामी प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनमा उम्मेदवारका लागि सिफारिश गरिएका छन् । उनीहरुमध्ये केही नेता आफ्नो दलबाट एकल सिफारिश गरिएका छन् ।
संविधान सभा सदस्य निर्वाचित सत्तारुढ काँग्रेसका बहादुर सिह थापा र सत्ता साझेदार माओवादी केन्द्रका नेता देबीलाल चौधरी आगामी निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश भएका छन् । उनीहरु दुबै जना कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका आकाँक्षी भएका छन् ।
२०६४ को संविधान सभा सदस्य निर्वाचनमा निर्वाचित चौधरी अहिले प्रदेश क बाट उम्मेदवारका आकाँक्षी भएका छन् । २०७० को संविधान सभा सदस्यमा निर्वाचित थापा अहिले प्रदेश क बाट उम्मेदवारका लागि सिफारिश भएका छन् । उनी २०६४ को संविधान सभा सदस्य निर्वाचनमा भने पराजित भएका थिए ।
काँग्रेसका थापा उम्मेदवारका लागि एकल सिफारिश गरिएका छन् । यस क्षेत्रमा नेकपा एमालेबाट संविधान सभा सदस्य कृपाराम राना पनि एकल सिफारिश गरिएका छन् ।
एमाले केन्द्रीय सदस्य राना २०७० को संविधान सभा सदस्य निर्वाचनमा समानुपातिक सभा सदस्य भएका थिए । २०७० मा एमालेका अर्का केन्द्रीय सदस्य नर बहादुर धामीसित काँग्रेसका थापा पराजित भएका थिए । धामी अहिले संघीय साँसद छन् ।
२०७० मा संविधान सभा सदस्य निर्वाचित काँग्रेस नेता दिवान सिह विष्ट कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएका छन् । २०७४ मा माओवादी केन्द्रका नेता विना मगरसित पराजित उनी एकल सिफारिश गरिएका छन् ।
२०७० मा साँसद मगरलाई पराजित गरी संविधान सभा सदस्य भएका उनी यस पटक मगरलाई हराएर अघिल्लो हारको बदला लिने गरी अघि बढेका छन् । सत्तारुढ गठबन्धनमा कञ्चनपुर क्षेत्र नं. १ माओवादी केन्द्रको भागमा पर्ने जोखिम भएपछि नेता विष्ट टिकटका लागि सबै अस्त्र प्रयोग गरी अघि बढेका छन् ।
२०७० को संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ र २ बाट निर्वाचित काँग्रेस नेता रमेश लेखक र एनपी साउँद पनि प्रतिनिधि सभा सदस्यको टिकटका लागि सिफारिश गरिएका छन् । लेखक क्षेत्र नं. ३ र साउँद २ बाट सिफारिश गरिएका छन् ।
साउँद २०६४ को संविधान सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका देबीलाल चौधरीसित पराजित भएका थिए । २०७० निर्वाचित भएका साउँद २०७४ मा पराजित भएका थिए । साउँदले २०७० को निर्वाचनमा एमाले नेता तारालामा तामाङ्गलाई हराएका थिए ।
काँग्रेस केन्द्रीय सदस्य लेखक २०६४ मा समानुपातिक संविधान सभा सदस्य भएका थिए । काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवा लडाएर जितेको तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ उप निर्वाचनमा गुमाएको थियो । संविधान सभा उप निर्वाचनमा माओवादीका हरिश ठकुल्ला निर्वाचित भएका थिए । उनी अहिले माआवादी केन्द्रको उम्मेदवार सूची बाहिर परेका छन् ।
२०६४ को निर्वाचनमा माओवादी केन्द्रले कञ्चनपुरका सबै चार निर्वाचन क्षेत्रमा जित हात पारेका थियो । तत्कालिन क्षेत्र नं. १ बाट निर्वाचित माओवादी नेता पुरन चौधरी राजनीतिमा निष्क्रिय भएका छन् ।
क्षेत्र नं. ३ बाट निर्वाचित टिकेन्द्र प्रसाद भट्ट आगामी निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. ३ क प्रदेश सभा सदस्य टिकटका लागि सिफारिश भएका छन् । उनी माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज हुन् ।
२०७० को संविधान सभा सदस्य निर्वाचनमा पराजित माओवादी केन्द्रका नेता अमिन दहित भने प्रदेश सभा सदस्यका लागि सिफारिश भएका छन् ।
पहिलो संविधान सभा सदस्य निर्वाचन लडेका एमाले नेता निरुदेवी पाल र राजेन्द्र सिह रावल आगामी निर्वाचनमा पनि उम्मेदवारका लागि सिफारिश भएका छन् ।
२०६४ को संविधान सभा निर्वाचनमा रावल लडेका थिए । त्यसपछि भएको उप निर्वाचनमा पाल लडेर पराजित भएकी थिइन् । उनी अहिले कञ्चनपुर क्षेत्र नं. ३ बाट सिफारिश भएकी छन् । एमालेका अर्का नेता रावल क्षेत्र नं. ३ क बाट समानुपातिकमा सिफारिश भएका छन् ।
२०७० एमालेबाट संविधान सभा सदस्य निर्वाचन लडेका उर्वादत्त पन्त भने एकीकृत समाजवादीबाट उम्मेदवारका लागि सिफारिश भएका छन् । उनीसंगै चुनाव लडेका माओवादी केन्द्रका नेता मोहन गिरी पार्टी छाडेर एमाले आएका छन् । उनी कञ्चनपुर क्षेत्र नं. १ ख मा प्रदेश सभा सदस्यका लागि सिफारिश भएका छन् ।
२०७० को संविधान सभा सदस्य निर्वाचनमा पराजित धर्मराज जोशी आगामी निर्वाचनमा प्रदेश सभा सदस्यका आकाँक्षी देखिएका छन् । उनी एमालेसित तालमेल गरी क्षेत्र नं. ३ क बाट चुनाव लड्ने तयारीमा लागेका छन् । एमालेसित तालमेल हुने नहुने निर्णय हुन बाँकी छ ।
२०७० को निर्वाचनमा काँग्रेसका साउँदसित पराजित एमाले नेता तारालामा तामाङ्ग कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका छन् । उनी २०७४ को निर्वाचनमा निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धनको प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्र जितेको थियो । एमाले प्रतिनधि सभामा दुई र माओवादी केन्द्रले एक सीटमा चुनाव लडेको थियो । प्रदेश सभाका ६ सीटमध्ये एमाले ४ र माओवादी दुई क्षेत्रमा चुनाव लडेको थियो ।
कञ्चनपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सभा सदस्य महेशदत्त जोशी प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका छन् । एमालेका साँसद धामी फेरि उम्मेदवारका लागि सोही क्षेत्रबाट सिफारिश गरिएका छन् । २०७० मा संविधान सभा सदस्य निर्वाचन लडेका एमाले नेता लाल बहादुर विश्वकर्मा भने शारीरिक रुपमा अस्वस्थ छन् ।
कञ्चनपुर क्षेत्र नं. ३ ख बाट निर्वाचित मान बहादुर सुनार फेरि उम्मेदवारका लागि सिफारिश गरिएका छन् । नेकपा एकीकृत समाजवादी प्रकाश रावल र लाल बहादुर खड्का फेरि सिफारिश गरिएका छन् । खड्का क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिश गरिएका हुन् ।
एमालेबाट निर्वाचित उनीहरु दुबै पार्टी विभाजन भएपछि समाजवादी भएका हुन् । समाजवादी गएका प्रदेश सभा सदस्य कुलबीर चौधरी एमाले फर्केर फेरि उम्मेदवारका लागि सिफारिश गरिएका छन् ।