महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीबाट कञ्चनपुर क्षेत्र नं. ३ मा चार उम्मेदवार सिफारिश भएका छन् । समाजवादीको जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि चार जनालाई टिकटका लागि प्रदेश कमिटीमा सिफारिश गरेको हो ।
समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा उर्वादत्त पन्त एक्ल सिफारिश गरिएका छन् । निर्वाचन क्षेत्र नं. ३ मा प्रकाश रावल, हरक सिह धामी र प्रदेश ख मा तारा जोशी उम्मेदवारीका लागि सिफारिश गरिएका छन् ।
प्रतिनिधि सभा सदस्य पन्त र प्रदेश सभा सदस्यका रावल र धामी सबै भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् । प्रदेश सभा सदस्य ख का जोशी भीनपा १२ का हुन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पन्त यस अघि निर्वाचन क्षेत्र नं. ३ मा चार तीन पटक चुनाव लडि सकेका छन् । उनी २०५१ को मध्यावधि निर्वाचन बाहेक दुई निर्वाचनमा पराजित भएका छन् । २०५६ को आम निर्वाचन र २०७० को संविधान सभा निर्वाचन उनी यसै क्षेत्रमा लडेका हुन् ।
२०७० सम्मका सबै चुनाव नेकपा एमालेबाट लडेका उनी यस पटक समाजवादीबाट चुनाव लड्न लागेका छन् । पन्त पार्टीभित्र बौद्धिक र प्रष्ट विचार राख्ने नेताका रुपमा परिचित छन् । पन्त समाजवादीको स्थायी कमिटी सदस्य छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल एमाले छाडेर समाजवादी भएपछि फेरि प्रदेश सभा सदस्यमा उम्मेदवार भएका छन् । उनलाई समाजवादीका जिल्ला सचिव हर्क सिह धामीले एकल सिफारिश हुन रोकि दिएका छन् ।
२०७४ को निर्वाचनमा रावल प्रदेश सभा र धामी भीनपा ६ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेमा दुबै माधव नेपाल समूहका उनीहरु पार्टी विभाजनपछि समाजवादी गएका थिए ।
समाजवादीका कञ्चनपुर सह इन्चार्ज रावल एमाले विभाजन हुँदा अन्तिममा मात्रै समाजवादी गएका थिए । उनी एमाले नेता भीम रावललाई अत्यन्त विश्वासिला हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पाउने भएपछि रावलले एकाएक पार्टी विभाजनलाई साथ दिएका थिए । त्यस अघि राज्य मन्त्रीबाट अपमानजनक रुपमा बर्हिगमन हुन पुगेका रावलका लागि समाजवादी भएर मन्त्री हुने महत्वपूर्ण थियो ।
समाजवादीबाट प्रदेश सभा ख मा सिफारिश भएका जोशी २०७४ को निर्वाचनमा भीनपा १२ को वडा अध्यक्षमा पराजित भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघटन कदममा तटस्थ बसेका उनी पछि समाजवादी भएका हुन् । उनले संसद विघटनको विरोध गरी तटस्थ बस्ने घोषणा गरेका थिए ।
एमाले छाडेर माओवादी भएका उनी २०७४ को चुनाव अघि मात्रै एमाले फर्किएका हुन् । उनी एमालेका पूराना नेता हुन् । यस पटक उनी समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचन लड्न एकल सिफारिश भएका छन् ।
कञ्चनपुर क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका १९, दोधारा चाँदनी नगरपालिका १० र बेदकोट नगरपालिका १ वडा गरी ३० वडा छन् । प्रदेश सभा सदस्य क मा १३ र अन्य सबै वडामा प्रदेश सभा सदस्य ख मा छन् ।
समाजवादीले अन्य क्षेत्रबाट पनि उम्मेदवारका लागि सिफारिश गरेको छ । क्षेत्र नं. १ मा पुनर्वास नगरपालिकाका निवर्तमान मेयर जीवनराज थापा उम्मेदवार सिफारिश भएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित उनी चार महिना अघिको निर्वाचनमा अन्तरले पराजित भएका हुन् । उनी निर्वाचन क्षेत्र नं. १ मा एकल सिफारिश गरिएका छन् । थापा समाजवादीका जिल्ला अध्यक्ष हुन् ।
निर्वाचन क्षेत्र नं. १ का दुई प्रदेशमध्ये समाजवादीले क बाट प्रताप चन्दलाई उम्मेदवार सिफारिश गरेको छ । चन्द यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रदेश सभा ख बाट समाजवादीका उम्मेदवार सिफारिश गरिएका छैनन् ।
एमाले फर्किने सूचीमा अन्तिमसम्म राखिएका बीर बहादुर बुढाथोकी र माधव पन्त निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिश भएका छन् । पन्त स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको उप मेयरमा पराजित भएका थिए । समाजवादीले चार महिनापछि उनलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिश गरेको हो ।
समाजवादीका कञ्चनपुर इन्चार्ज लाल बहादुर खड्का फेरि कञ्चनपुर क्षेत्र नं. २ ख बाट उम्मेदवार सिफारिश भएका छन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभा क बाट भने उम्मेदवारी सिफारिश गरिएको छैन ।
कञ्चनपुर क्षेत्र नं. ३ मा भने संघ र प्रदेशका तीन ओटै क्षेत्रमा समाजवादीका उम्मेदवार सिफारिश गरिएका छन् । प्रतिनिधि सभा सदस्यमा उर्वादत्त पन्तको नाम सिफारिश गरिएको छ ।