महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा आगामी निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ बाट माओवादी साँसद विना मगर फेरि उम्मेदवार हुने भएकी छन् । सत्तारुढ गठबन्धनको सीट बाडफाँट कार्यदलमा गरिएको भागबण्डामा कञ्चनपुर १ माओवादी केन्द्रले लिने सहमति जुटेको हो ।
सत्तारुढ गठबन्धनले देशभरका ११० सीटको भागबण्डा टुङ्गो लगाउँदा कञ्चनपुर १ माओवादीको भागमा परेको छ । यस क्षेत्रमा माओवादी साँसद मगर एकल रुपमा सिफारिश भएकी छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् । उनी एमालेसितको गठबन्धनबाट २०७४ मा साँसद निर्वाचित भएकी हुन् ।
कञ्चनपुर क्षेत्र नं. १ मा काँग्रेस नेता दिवान सिह विष्टले पनि दावी गरेका छन् । उनी पनि एकल रुपमा उम्मेदवार सिफारिश भएका छन् । साँसद मगरसित पाँच वर्ष अघि पराजित विष्टलाई जसरी पनि उम्मेदवार काँग्रेसले उनको एकल नाम सिफारिश गरेको छ ।
अघिल्लो निर्वाचनमा एमालेसित गठबन्धन गर्दा पनि माओवादीले प्रतिनिधि सभाका तीन सीटमध्ये एउटा पाएको थियो । अहिले माओवादीले तीन सीटमा दुईमा दावी गरेको छ । त्यसमध्ये क्षेत्र नं. १ र २ बाट उम्मेदवार सिफारिश गरेको छ ।
निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षमा उम्मेदवार सिफारिश समेत नगरेको माओवादी २ मा भने सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी र नवराज ऐर सहितलाई उम्मेदवारका लागि सिफारिश गरेको छ ।
काँग्रेसले क्षेत्र नं. १ र १ मा दुबैमा दावी राखेको छ । यी दुबै क्षेत्रमा काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासिला नेता उम्मेदवार भएका छन् ।
उनीहरु जिल्लाबाट भने सर्वसम्मत हुन नसकेर सिफारिश गरिएका छन् । सर्वसम्मत सिफारिश गरिएका विष्ट संस्थापन इतरका भएकाले उनी देउवाको रोजाईमा पर्न नसक्ने सम्भावना कम हुने नेताहरु बताउँछन् ।
कञ्चनपुर क्षेत्र नं. २ एनपी साउँद र ३ मा रमेश लेखक उम्मेदवार छन् । काँग्रेस संस्थापनका यी दुई नेताका जिल्लामा भने आफ्नै उप गुट छन् । साउँद २०५१ र लेखक २०५६ देखि चुनाव लड्दै आएका छन् ।
साउँद, लेखक र विष्ट २०७० को संविधान सभा सदस्य निर्वाचनमा एकसाथ निर्वाचित भएका थिए । त्यसपछि २०७४ को चुनावमा उनीहरु सबै एकै साथ पराजित भएका थिए ।
काँग्रेस यी तीन नेताले तिनै निर्वाचन क्षेत्रमा आफ्नो बलियो पकड बनाएका छन् । पछिल्लो पटक काँग्रेसको १४ औं महाधिवेशनमा साउँद र विष्ट समूहबीच तालमेल भएको थियो ।