
महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले विपद्मा परेका वासिन्दालाई राहत वितरण र पुनस्र्थापन कार्य सुरु गर्न तीन तहका सरकारलाई आग्रह गरेको छ । एमाले कञ्चनपुरले आइतबार विज्ञप्ति प्रकाशित गरी स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारलाई आग्रह गरेको छ ।
एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘विपद्का बेला सूचना प्रणाली, उद्धार र राहतको कार्य प्रभावकारी हुनुपर्छ । तसर्थ विपद् पूर्वको सूचना प्रणालीलाई व्यवस्थित बनाउन, विपद्का बेला खोज तथा उद्धारको कार्यलाई प्रभावकारी गर्न र विपद्पछि राहत वितरणदेखि पुनःस्थापनाका कार्यलाई छिटोछरितो पार्न हामी स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारका साथै सरोकारवाला कार्यालय, निकाय, संघसंस्थालाई आग्रह गर्दै ध्यानाकर्षण गराउन चाहन्छौं ।’

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी अछाम, दार्चुला लगायतका जिल्ला जनधनको क्षति भएको छ । यस बाहेक विपद्बाट घर संरचना र खाद्यान्न बालीमा क्षति पुगेको छ । एमालेले अछाम र दार्चुलामा विपद्मा परी ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित वासिन्दालाई उचित राहतको घोषणा गर्न सरकारसित माग गरेको छ ।
एमालेले तीन वर्षदेखि कञ्चनपुरमा बेमौसमी मनसुले लगातार क्षति गर्दै आएकाले सम्भावित विपद् क्षेत्रको पहिचान र क्षति न्यूनीकरणका लागि स्थानीय विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना बनाएर लागु गर्न माग गरेको छ ।
‘विगत २–३ वर्षदेखि मनसुन अनियमित भइरहेको र असोज कात्तिकमा बाढीको सामना गर्नुपरिरहेको छ । कञ्चनपुर जिल्ला पनि बाढी लगायतका विपद्को उच्च जोखिममा रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘२०७९ भदौ ३१ गतेदेखि वनहरा, मछेली, मोहना र दोदा लगायतका नदी र खोलामा आएको बाढीले जिल्लाका पूर्वी–दक्षिणी क्षेत्रका पालिकामा हजारभन्दा बढी घरपरिवार प्रभावित भएका छन् भने दोधाराचाँदनी नगरपालिका भएर बग्ने जोगबुढा लगायतका नदी र खोलाको बाढीबाट केही बस्ती डुबानमा परेर स्थानीय विस्थापित भएका छन् । गत भदौ महिनामा बेदकोट नगरपालिकाको सार्कीपार्की टोलमा पटक–पटक कटान गरी केही परिवार विस्थापित हुन पुगेका छन् । नेकपा (एमाले) कञ्चनपुर यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ ।’
एमालेले जोखिमयुक्त क्षेत्रको पहिचान र व्यवस्थापनमा ध्यान दिनु पर्ने र जिल्ला विपद् व्यवस्थापन समितिले पर्याप्त समन्वय गर्नु पर्ने आवश्यकता विज्ञप्तिमा औंल्याएको छ ।
एमालेले विपद्मा आफ्ना सबै नेता कार्यकर्तालाई उद्धार, राहत वितरण लगायतका कार्यमा परिचालन हुन निर्देशन दिएको छ ।
‘बाढी, कटान, पटान र डुबानको समयमा जनताले भोग्नुपरेको दुःख–कष्ट र बालीनालीमा भएको क्षतिप्रति हामी गम्भीर भएका छौं । यस्तो दुःखद घडीमा नेकपा (एमाले) का सबै नेता, कार्यकर्ताहरू आ–आफ्नो पालिका र वडा क्षेत्रमा सक्रियताका साथ खोज, उद्धार, राहतमा परिचालन हुन निर्देशन गर्दछौं ’ विज्ञप्तिमा भनिएको छ ।
