
महेन्द्रनगर । स्वास्थ्य, खेलकूद र शिक्षा क्षेत्रमा योगदान पुगाएका तीन जनाले जनसेवा श्री पदक पाएका छन् । ८ औं संविधान दिवसको अवसरमा उनीहरु पदकबाट विभूषित गरिएका छन् ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, भलिबल प्रशिक्षक जगदीश भट्ट र निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्त विभूषित भएका हुन् । उनीहरु सबैको नाम सोमबार संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान हुने पदकका लागि सार्वजनिक गरिएको छ । उनीहरु सबै भीमदत्त नगरपालिकाका वासिन्दा हुन् ।

पदक पाउने महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष जोशीलाई अघिल्लो वर्ष जिल्ला प्रशासन कार्यालयबाट पदकका लागि सिफारिश गरिएको थियो । जोशीले यस पटक पदक पाएका छन् । गत वर्ष अस्पतालमा अध्यक्ष जोशीको कार्यकाल सकिएको थियो ।
अध्यक्ष जोशीले तीन वर्षे कार्यकालमा अस्पतालको सेवा प्रवाह सुधार र जनशक्ति व्यवस्थापनमा भूमिका निर्वाह गरेका छन् । कोभिड १९ महामारी नियन्त्रणमा जोशीको भूमिकाले चौतर्फी प्रशंसा पाएको थियो ।
अस्पताल सुधारमा खेलेको भूमिका कारण जोशीले स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको उप मेयरमा थोरै मतले हार व्यहोर्न परेको थियो । स्थानीय तह निर्वाचनमा हारपछि पनि उनी सामाजिक सेवामा सक्रिय भएका छन् । उनी अहिले महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएका छन् ।
भलिबलका राष्ट्रिय प्रशिक्षक प्रसाद भट्ट तीन दशकदेखि प्रशिक्षक र खेलाडी रुपमा भलिबलमा सक्रिय छन् । भट्टले भलिबको प्रमुख प्रशिक्षक भएर सेन्ट्रल एशियन गेममा दुई पटक स्वर्ण पदक जिताएका छन् । भलिबल खेलाडीबाट आएका प्रशिक्षक भट्ट खेल क्षेत्रमा निडर, हक्की र प्रष्ट वक्ताका रुपमा परिचित छन् ।
निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् । संघीय शासन व्यवस्था लागू हुन अघि विद्यालय स्रोत व्यक्तिका रुपमा कार्यरत उनी त्यसपछि निङ्गलाशैनी माध्यमिक विद्यालयको प्रधानाध्यापक भएका हुन् । उनी प्रधानाध्यापक भएपछि विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन, प्रोजेक्टर प्रयोग र प्राविधिक शिक्षा सञ्चालनका काम अघि बढेका छन् ।
अघिल्लो वर्ष निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद भट्ट विभूषित भएका थिए । जन सेवा श्री पदक पाउने भलिबलका प्रशिक्षक भट्ट पनि निङ्गलाशैनी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् ।
यसैबीच पद्मा अस्पताल प्रा.ली अत्तरियाका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीले राष्ट्रपतिबाट प्रदान हुने पदक पाएका छन् । उनलाई जन सेवाश्रीबाट विभूषित गरिएको हो । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
