
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ बाट ६ वर्षिय बालकलाई चकलेट दिएर जङ्गलतिर लैजान लागेको आशंकामा तीन भारतीय सहित चार जना पक्राउ गरिएका छन् । स्थानीयले मंगलबार नियन्त्रणमा लिएपछि प्रहरीलाई बुझाएका उनीहरु सबै हिरासतमा राखिएका छन् ।
शुक्लाफाँटा नगरपालिका ८ को पिल्लरीफाँटा र बेलडाँडीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । गाउँमा सुनका गरगहनामा जलप लगाउन भन्दै उनीहरुले ६ वर्षिय बालकलाई चोरी गर्न लागेको भन्दै स्थानीय नियन्त्रण लिएका हुन् ।

स्थानीयले उनीहरुमाथि हरिश भुलका ६ वर्षिय छोरालाई चकलेट र ५ रुपैँया दिएर फकाउन खोजेको र त्यो नमानेपछि औषध खुवाएर बेहास बनाएपछि नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।
बालकलाई बेहोस बनाएपछि उनीहरुलाई स्थानीयले बेलडाँडी र पिलहरीबाट नियन्त्रणमा लिएको हो । वस्तीमा आएपछि उनीहरु दुई दुई जनाको समूह बनाएर छुट्टिएका थिए ।
सुनका गहनामा जलप लगाउन भन्दै गाउँमा आएको बताएपछि स्थानीयले सुरुमा उनीहरु व्यवहार शंकास्पद लागेको थियो । त्यसपछि उनीहरुमाथि स्थानीयले सबै वस्तीमा निगरानी बढाएका थिए । उनीहरुलाई विहान ११ बजे पक्राउ गर्न अघिदेखि स्थानीय उनीहरुलाई पछ्याउन थालि सकेका थिए ।
‘खान लाउन समस्या हुने वस्तीमा सुनका गहना टल्काउन आएका भनेपछि सुरुमा उनीहरुको व्यवहारमा शंका लागेको थियो, त्यसपछि निगरानी बढाएको हो’ शुक्लाफाँटा नगरपालिका ८ का अध्यक्ष बहादुर सिह महराले भने,‘त्यसपछि बच्चामाथि नै त्यस्तो व्यवहार देखाएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छौ ।’
अध्यक्ष महराका अनुसार वस्तीमा सुनका गहनामा जलप लगाउने भनेर उनीहरु पहिलो पटक देखिएका हुन् । यस अघिसम्म वस्तीमा सुनका गहनामा जलप लगाउने भनेर कोही पनि नआएको महराले बताए ।
‘अहिलेसम्म कोही पनि जलप लगाउन आएका छैनन्, पहिलो पटक आएका हुन्’ उनले भने,‘गरीब वस्तीमा सुनका गहना टल्काउने भनेर आएपछि स्वतः शंकाका परि हाले ।’
शुक्लाफाँटा नगरपालिका ८ का यी दुबै वस्तीमा आर्थिक रुपमा कमजोर अवस्थाका वासिन्दा बसोबास गर्दै आएका छन् । पिल्लरीफाँटा जङ्गल अतिक्रमण गरी सुकुम्बासीलाई बसाएको वस्ती हो । यी दुबै वस्तीमा वासिन्दा मजदुरी गरी जीविका चलाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले पक्राउपछि हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।
‘बच्चालाई मिठाई दिएर जङ्गलतिर लगेर चोरी गर्न लागेको भन्दै स्थानीयले लखेटेर नियन्त्रणमा लिएपछि पक्राउ गरी ल्याएका छौ’ उनले भने,‘सोधपुछ गरी अनुसन्धान गर्दछौ ।’
प्रहरीसित सोधपुछमा उनीहरुले आफूहरु सुनका गहरगहनामा जलप लगाउन आएको बयान दिएका छन् । बालकलाई मिठाई दिए नदिएको पनि थाह हुन नसकेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा रौतहकाका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकास कुमार साह छन् । उनीहरुले आफूहरु कैलालीको अत्तरियास्थित कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिएका छन् ।
