
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख मा एमालेबाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत सिफारिश कृपाराम राना निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । एमाले जिल्ला कमिटीबाट प्रदेश सभा सदस्यका लागि सिफारिश भएपछि राना नेता, कार्यकर्ता र मतदातासित भेटघाट र छलफलमा व्यस्त भएका छन् ।
एमालेका केन्द्रीय सदस्य एवम् कञ्चनपुर रह इन्चार्ज राना एमालेको तल्ला कमिटीबाट सर्वसम्मत भएर आएका हुन् । एमाले जिल्ला कमिटीले रानाको नाम प्रदेश कमिटीमा पठाएको थियो । एमालेमा केन्द्रीय कमिटीलाई टिकटको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी छ ।

केन्द्रीय कमिटीमा रानाको नाम एकल सिफारिश भएकाले उनको टिकट निश्चित छ । उनी २०७० को संविधान सभाका सदस्य पनि हुन् । ‘जिल्ला कमिटीबाट प्रदेश कमिटी नाम पठाएपछि अहिले केन्द्रीय कमिटीमा पुगेको छ, एमालेमा टिकटको अन्तिम टुङ्गो लगाउने अधिकार केन्द्रीय कमिटीलाई छ’ उनले भने,‘त्यस अनुसार पार्टीले विश्वास गरी टिकट दिनेमा विश्वस्त छु, त्यहीं अनुसार अहिले म निर्वाचन क्षेत्रमा भेटघाट, छलफल लगायतका कार्यक्रममा छु ।’
निर्वाचनका क्षेत्रमा नेता, कार्यकर्ता र मतदातासित भेटघाटमा रानाले वासिन्दाका गुनासो र समस्यामा ध्यान दिएका छन् । वासिन्दाबाट आएका समस्या र गुनासो समाधानका लागि उनले नोट गरी पहल गर्ने सोच बनाएका छन् ।
केही दिन अघि बाढीले शुक्लाफाँटा नगरपालिका १२ मा भत्काएको झोलुङ्गे पुल निर्माणका लागि उनले तत्कालै सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई ध्यानाकर्षण गराएका थिए । उनी क्षतिग्रस्त पुल भत्किएपछि स्थलगत निरीक्षणमा पुगेका थिए ।
रानाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा बेदकोटका ९ र शुक्लाफाँटाका ८ वडा पर्छन् । बेदकोट १, २, ३, ४, ५, ६, ७, ९, १० र शुक्लाफाँटाका १, २,३,४,५,६, १० र १२ नम्बर वडा यस प्रदेश सभामा पर्छन् ।
राना यस अघि संविधान सभा सदस्य भएकाले उनी आफ्नो निर्वाचन क्षेत्रमा सबै वडासित परिचित छन् । संविधान सभा सदस्य हुँदा उनले यस क्षेत्रमा उनले गरेका कामले परिचित छन् ।
रानाले संविधान सभा सदस्य हुँदा खानेपानी योजना, पुल, सडक निर्माण लगायत योजना पहल गरी सञ्चालन गरेका थिए । पिपलाडी स्वास्थ्य चौकीमा रानाले एम्बुलेन्स उपलब्ध गराएका थिए । यसैगरी उनले दैजी र पिपलाडी स्वास्थ्य चौकीमा १५÷१५ शैय्याको अस्पताल बनाउन पहल गरेका थिए ।
यस बाहेक राना आदिवासी राना थारु समुदायको मूल देवता (भुइया) व्यवस्थित बनाउने अभियानको नेतृत्व उनले गरेका थिए । उनी आदिवासी जनजाति समुदायमा परिचित छन् । राना समुदायलाई सूचीकृत गराएका उनी राना थारु समाजका केन्द्रीय अध्यक्ष छन् ।
एमालेभित्र रानाले थोरै बोलेर इमान्दारी पूर्वक जिम्मेवारी वहन गर्ने नेताको परिचय बनाएका छन् । विद्यार्थी जीवनदेखि एमाले भएर आएका उनी शिक्षक पृष्ठभूमिबाट आएका हुन् । २०७० को संविधान सभा सदस्य निर्वाचन हुन अघि उनले शिक्षक सेवाको आयोगको परीक्षा उत्तीर्ण भएका थिए । उनी शिक्षण छाडेर सक्रिय राजनीतिमा आएका हुन् ।
२०७० को निर्वाचनमा एमालेले उनलाई तत्कालिन कञ्चनपुर क्षेत्र नं. २ बाट प्रत्यक्षमा उम्मेदवार बनाएको थियो । तत्कालिन ४ निर्वाचन क्षेत्रमध्ये त्यति बेला क्षेत्र नं. २ कालिका, गाविस हुँदै शुक्लाफाँटा नगरपालिकासम्म थियो ।
निर्वाचन क्षेत्र नं. २ मा आदिवासी समुदायको मतका आधारमा रानालाई टिकट दिइएको थियो । पछि उनलाई समानुपातिक राखेर एमालेका तत्कालिन जिल्ला अध्यक्ष तारालामा तामाङ्गलाई टिकट दिइएका थियो । तामाङ्ग काँग्रेस नेता एनपी साउँदसित पराजित भएका थिए ।
एमाले केन्द्रीय सदस्य हुन अघिसम्म रानाले एमालेका विभिन्न जन वर्गीय संगठन र स्थानीय कमिटीमा नेतृत्व लिएर जिम्मेवारी वहन गरि सकेका छन् । एमालेका गाउँ कमिटी, शिक्षक संगठन, बुद्धिजीवि संगठन र युवा संघमा उनले जिम्मेवारी वहन गरि सकेका छन् ।
बेदकोट नगरपालिका २ साविक दैजी गाविस ६ मा २०३६ असार १६ गते जन्मिएका उनी भलमन्सा शालिक रानाका चार सन्तानमध्ये माइलो हुन्् । अहिले ४३ वर्ष पुगेका उनी यस अघि २०७० मा संविधान सभा सदस्य हुँदा ३४ वर्षका थिए । संविधान सभा सदस्य भएको उनी ९ वर्षपछि प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् ।
शारदा मावि दैजीबाट कक्षा १० उत्तीर्ण गरेका रानाले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनले अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नातक गरेका छन् । शारदा माविमा कक्षा ८ पढ्दा २०५२ देखि उनी वामपन्थी राजनीतिमा लागेका हुन् ।
‘विद्यार्थी जीवनदेखि नै राजनीतिमा आएको हुँ, राजनीति विना समाज, देशले विकासको गति लिन सक्दैन पछाडि परेको वर्ग, समुदायलाई माथि उठाउन सकिदैन’ रानाले भने,‘त्यस कारण राजनीतिमा सक्रिय भए, सास छँदासम्म राजनीतिमै हुन्छ ।’
रानाले आफ्ना भलमन्सा बुवा शालिक रानाको शैलीबाट प्रभावित भएर समाजका लागि केही गर्ने ध्येय राखेर राजनीतिमा आएका हुन् । आदिवासी जनजाति राना समुदायका भलमन्सा सबैका सम्मानजक हुन्छन् । भलमन्सा बुवाको व्यवहार पछ्याउँदै राजनीतिमा आएर उनले एमालेभित्र भद्र नेताको रुपमा परिचति हुन पुगेका छन् ।
‘बुवा भलमन्सा हुनु हुन्थ्यो, वहाँको सुन्ने बानी थियो, सबैको कुरा सुन्नु हुन्थ्यो, ममा पनि त्यो छाप प¥यो’ उनी भन्छन्,‘त्यहीं कारण म पनि अरुका धेरै सुन्छु धेरै बोल्ने गर्दैन, मलाई कुरा भन्दा काम गर्नु चाहिँ धेरै मन लाग्छ ।’
