महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि इन्जिनियर जगदीश अवस्थी चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र उम्मेदवार अवस्थी निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा लागि सकेका छन् ।
शुक्लाफाँटा नगरपालिका ११ दिपनगरका अवस्थी स्वतन्त्र तथा वैकल्पिक शक्तिको सुदूरपश्चिम प्रदेश संयोजक छन् । उनी आगामी निर्वाचनमा क्षेत्र नं. २ बाट संसद बन्ने लक्ष्यका साथ चुनावी मैदानमा आएका छन् ।
‘अहिले म निर्वाचन क्षेत्रमा सबै जनतासम्म सहयोगका लागि पुगि रहेको छु, सबैबाट राम्रो रेन्पोन्स मिलेको छ’ उनले भने,‘जनताले यस पटक मलाई विश्वास गर्नेमा आशावादी छु ।’
३८ वर्षिय अवस्थी नेपाली काँग्रेस छाडेपछि स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्न लागेका हुन् । २०७८ मा काँग्रेसको क्रियाशिल सदस्यता लिएका उनी एक वर्षपछि पार्टी छाड्न पुगेका छन् ।
उनी काँग्रेसको शुक्लाफाँटा नगर समिति सदस्य थिए । त्यस बाहेक उनी काँग्रेसको नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्य थिए । काँग्रेस नगर समिति सदस्य, युवा समिति केन्द्रीय सदस्य र पार्टी क्रियाशिल सदस्यता छाडेर स्वतन्त्र भएर चुनावी मैदानी मैदानमा होमिएका छन् ।
काँग्रेसभित्र अवस्थीले छोटो समयमै बौद्धिक नेताको पहिचान बनाएका थिए । स्थानीय तह निर्वाचनमा उनले शुक्लाफाँटा नगरपालिकाकामा काँग्रेसको चुनावी घोषणा पत्रको अवधारणा बनाएका थिए । त्यस अनुसार विधि अनुसार काँग्रेस चल्न नसक्ने अवस्था देखेपछि उनी असन्तुष्ट भएका हुन् । असन्तुष्टि हल हुन नसक्ने सम्भावना नभएपछि उनी अलग भएका छन् ।
‘स्थानीय शुक्लाफाँटामा न पा को अवधारणा पत्र निर्माण गरेको थिए, पार्टी विधि पद्वति नीति नियममा लैजान पार्टीभित्र सधै फरक मत राख्दै आए’ उनले भने, ‘त्यस अवधारणा अनुरुप नचलेपछि पार्टी परित्याग गरी स्वतन्त्र भएको छु ।’
२०४२ बैशाखमा तत्कालिन सिगास गाविस ९ मा चौखाममा जन्मिएका अवस्थीले सिभिल ईन्जिनियरिङ्गमा डिप्लोमा र भूगोलमा बीए गरेका छन् ।
पूर्व शिक्षक नारायण प्रसाद अवस्थी र जानकी देवी अवस्थीका छोरा उनी २०६२ देखि जिल्लामा प्राविधिक पराशर्मदाता भएर काम गर्दै आएका छन् ।
इन्जिनियर अवस्थी केही समय मिडियामा पनि व्यवस्थापनको काम गरेका छन् । २०६२ देखि तीन वर्ष उनले डडेल्धुरामा हिमखण्ड राष्ट्रिय दैनिकमा काम गरेका थिए ।
पराशर्मदाता बाहेक उनले गैर सरकारी संस्थामा पनि काम गरेका छन् । उनी सुर्खेत–कालिकोट मान्मा रोड बनाउने रोड सेक्टर डेप्लमेन्ट प्रोजेक्ट (आरएसडिपीमा २०६२ देखि २०६७ सम्म काम गरेका छन् ।
२०६७ देखि एक वर्ष कनेक्टीभिटी सेक्टर प्रोजेक्ट आर सि एस पी फिदिम–ताप्लेजुङ्ग रोड, रोड सेक्टर डेप्लमेन्ट प्रोजेक्ट (आरएसडिपी खोडपे–चैनपुर रोड र रोड ईम्प्रुभमेन्ट रोड प्रोजेक्ट ( रिप) चौबिस कोटी मेघौली रोड चितवनमा पनि अवस्थीले काम गरेका छन् ।
बाजुरामा उनी ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणमा २०७३ देखि दुई वर्ष काम गरेका छन् । कैलालीको रानीजमरा सिँचाई परियोजना निर्माण कम्पनीमा परामर्शदाता भएका उनी स्थानीय स्तरमा सामाजिक कार्यमा पनि सक्रिय छन् ।
अवस्थी दिपज्येती ग्रामीण सहकारी संस्थामा २०७६ देखि अध्यक्ष छन् । दिप नगर आधारभूत विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष उनी प्रगति सेवा क्लबलाई नेतृत्व दिएका छन् ।
२०६४ को संविधान सभा सदस्य निर्वाचनमा पर्यवेक्षक भएका उनी रेडियो कार्यक्रम साथी सँग मनका कुरा स्रोता क्लवमा आवद्व भएका छन् । त्यसरी आवद्ध हुँदा उनी विभिन्न तालिममा सहभागी भएका छन् ।
इन्जिनियरिङ्ग विषयका उनी साहित्य संगतिमा औधी रुची राख्नेमा पर्छन् । उनले गीत रचना र गजल प्रकाशित गरेका छन् ।
स्वरुप राज आचार्यको स्वर र क्रिति श्याम सुन्दर जोशीको संगित रहेको अनायसै उनीसंग बोलको गीत अवस्थीले रचना गरेका हुन् । उनले त्यस गीतमा आफैले अभियन पनि गरेका छन् । त्यस बाहेक अवस्थीले मोतीका पदचापहरुमा केही गजल प्रकाशित गरेका छन् ।
अघिल्लो दुई वर्षसम्म उनी कोभिड महामारीबाट पीडित वासिन्दाको घरसम्म राहत लिएर पुगेका थिए । उनी क्वारेन्टाइन सञ्चालनका लागि सहयोग गर्नेमा अग्र पंक्तिमा देखिएका थिए । अहिले उनी प्रतिनिधि सभा सदस्यका लागि सहयोग माग्दै वासिन्दासम्म पुगेका छन् ।