सत्तारुढ गठबन्धनबीच कञ्चनपुरका सीट बाँडफाँटमा लगभग सहमति, काँग्रेस ५ र माओवादी र समाजवादी ४ सीटमा चुनाव लड्ने
महेन्द्रनगर । सत्तारुढ गठबन्धन आवद्ध दलहरु कञ्चनपुरमा सीट बाँडफाँट सहमति नजिक पुगेका छन् । सत्तारुढ गठबन्धनको सीट बाँडफाँट कार्यदलमा नेताहरु प्रतिनिधि सभा र प्रदेश सभाका सीट बाँडफाँटमा लगभग सहमति गरेका छन् ।
प्रतिनिधि सभाका तीन सीटमध्ये दुई सत्तारुढ काँग्रेस र अर्को सीट नेकपा माओवादी केन्द्रलाईलाई दिने सहमति गरिएको छ । काँग्रेसले निर्वाचन क्षेत्र नं. २ र ३ तथा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. १ पाएको हो ।
प्रदेश सभा ६ सीटमा तीन दलले भाग पाएका छन् । सत्तारुढ काँग्रेसले सबैभन्दा बढी तीन सीट पाएको छ । माओवादी केन्द्र दुई र एकीकृत समाजवादीले एक सीट पाएको छ ।
दलहरुबीच सहमति अनुसार निर्वाचन क्षेत्र नं. १ का दुबै प्रदेश सभा सीट काँग्रेसलाई दिइएको छ । त्यस बाहेक काँग्रेसलाई निर्वाचन क्षेत्र नं. २ ख दिने सहमति गरिएको छ ।
माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. २ (क) र निर्वाचन क्षेत्र नं. ३ (ख) पाएको छ । एकीकृत समाजवादीले निर्वाचन क्षेत्र नं. ३ (क) पाएको छ ।
यस अघि २०७४ को निर्वाचनमा एमाले र माओवादी वाम गठबन्धन बनाएर चुनाव लडेका थिए । एमाले प्रतिनिधि सभाका २ र प्रदेश सभाका ६ सीटमा चुनाव लडेको थियो ।
तत्कालिन वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं. ३ का दुबै प्रदेश सभा सदस्यबाट निर्वाचित साँसद अहिले पनि दाबेदार छन् ।