
महेन्द्रनगर । अध्यक्ष ओलीले अछामबाट प्रतिनिधि सभा सदस्यमा एकल सिफारिश डा. भीम रावलप्रति असन्तुष्टि पोखेपछि एमालेभित्र टिकट वितरणमा फेरि बहस सुरु भएको छ । अध्यक्ष ओलीले एकल सिफारिश भएका रावललाई रोक्न खोजेर आफ्ना विश्वासिलालाई मात्रै टिकट दिने संकेत गरि सकेका छन् ।
अछामका डा. रावलप्रति अध्यक्ष ओलीले असन्तुष्टि पोखेपछि कञ्चनपुर क्षेत्र नं. ३ मा सबैको ध्यान खिचिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ बाट एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट उम्मेदवारका लागि सिफारिश भएका छन् । उनीसंगै एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज निरुदेवी पाल पनि सिफारिश भएकी छन् । पाल निवर्तमान समानुपातिक साँसद हुन् ।
कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा डा. भट्ट, पाल सहित ईश्वरी प्रसाद खरेल, राजेन्द्र सिह रावल र हिरा सिह सार्कीले आकाँक्षा राखेका थिए । उनीहरुमध्ये रावल र खरेललाई प्रदेश सभा तथा सार्कीलाई प्रतिनिधि सभाको समानुपातिकमा सिफारिश गरी उनीहरु दुई जनालाई टिकटका लागि सिफारिश गरिएको हो । एमाले पोलिटब्युरो सदस्य रावल कञ्चनपुर ३ क बाट समानुपातिकको खस आर्य कोटामा सिफारिश गरिएका हुन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य खरेललाई कञ्चनपुर ३ क बाट प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएको छ ।
एमालेमा पाललाई एकल सिफारिशका लागि निवर्तमान साँसद भट्टलाई रोक्न अन्तिमसम्म प्रयास गरिएको थियो । बहालवाला साँसद भएकाले उनलाई रोक्न नसकिएपछि प्रतिनिधि सभा सदस्यमा उनीहरु दुई जनाको नाम प्रदेश कमिटीमा पठाइएको थियो ।
एमाले जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिश गरेपछि निवर्तमान साँसद भट्ट काठमार्डौमा छन् । उनीसंगै सिफारिश भएकी पाल भने निर्वाचन क्षेत्रमा चुनावी तयारीमा लागि सकेका छन् । एमाले नेताहरुका अनुसार उनी टिकट निश्चित भएको भन्दै चुनाव प्रचारमा लागि सकेकी छन् ।
एमाले इन्चार्ज पालले चुनावी तयारी थाले पनि नेता कार्यकर्ता निवर्तमान साँसद डा. भट्टले टिकट पाउने आशावादी देखिएका छन् । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको नतिजाका आधारमा जनमत हेरेर टिकट दिने उनीहरुको अपेक्षा छ । स्थानीय तह निर्वाचनमा अध्यक्ष ओलीसम्म पहुँचका आधारमा टिकट लिएका अधिकाँश नेता पराजित भएका थिए ।
अछामबाट डा. भीम रावलको एकल सिफारिशमा अध्यक्ष ओली असन्तुष्ट भएपछि भने नेता कार्यकर्ता टिकट वितरण पहुँचका आधारमा हुने त्रासले चिन्तित हुन थालेका छन् ।
‘यस पटक एमालेले पहुँच होइन, जनमतका आधारमा टिकट दिने आशा राखेका थियौ, आशा त अझै मारेका छैनौ’ एमालेका एक नेताले भने,‘अछाममा डा. रावलको असन्तुष्टिले यता कञ्चनपुर ३ मा कहीं डा. दिपक भट्टलाई पनि असर पर्न सक्ने भन्ने कुरामा चिन्तित छौ, तर पनि वहाँको जनमत हेरेर टिकट नदिने गल्ती गर्दैन भन्ने सोचेका छौ ।’
एमालेमा अध्यक्ष ओलीसम्म पहुँचका आधारमा पाल बलियो छन् । उनी वर्षौदेखि एमाले अध्यक्ष ओलीको समूह छिन् । त्यस विपरित निवर्तमान साँसद भट्ट डा. भीम रावल समूहका हुन् । एमाले अध्यक्ष ओलीको संसद विघटन विरुद्ध सडकसम्म आएका उनी पार्टी विभाजनमा सहभागी नभएर १० बुँदे सहमति मार्फत एमालेमा बसेका हुन् । एमाले कञ्चपुरको ८ औं जिल्ला अधिवेशनपछि उनी इन्चार्ज पाल समूहमा आवद्ध छन् ।
इन्चार्ज पाल अध्यक्ष ओलीसम्मको पहुँचका आधारमा प्रतिनिधि सभा सदस्यको टिकट पाउनेमा ढुक्क छिन् । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा बालकोटसम्म पहुँच भएका अर्का केन्द्रीय सदस्य कमला बोहरालाई जिल्ला कमिटीबाट सिफारिश नभएर पनि मेयरको टिकट दिएको थियो ।
एमालेमा बौद्धिक नेताका रुपमा चिनिने भट्टले २०७४ को आम निर्वाचनमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई पराजित गरी २०५१ पछि पहिलो पटक जित दिलाएका हुन् । त्यस अघि २०७०, २०६४, २०६५ र २०५६ मा एमाले यस क्षेत्रमा पराजित भएको थियो । २०७० सम्म एमाले कञ्चनपुर क्षेत्र नं. ३ मा राप्रपा भन्दा पछि परेको थियो ।
डा. भट्टले निर्वाचनमा २६ हजार बढी मत ल्याएका थिए । त्यस अघि २०७० को निर्वाचनमा एमालेको कञ्चनपुर ३ मा पाँच हजार भन्दा कम मत थियो । एमाले अध्यक्ष ओलीले खुला मञ्चमा आयोजना गरिएको चुनावी प्रचार सभामा डा. भट्टलाई जिताउन मत मागेका थिए ।
एमालेमा तत्कालिन माधव नेपाल समूहका भएकाले अध्यक्ष ओलीसित उनीसित प्रतिशोध साँधेर टिकट दिन नसक्ने नेताहरुको आशंका छ । अध्यक्ष ओलीले भट्टलाई त्यहीं प्रतिशोधका आधारमा टिकट नदिए कञ्चनपुर ३ मा एमाले फेरि २०७४ अघिको अवस्थामा पुग्ने चिन्ता गर्न थालिएको छ ।
‘२०७४ को जनमत, क्षेत्रीय मतदाता, बौद्धिकता, आफ्नो कार्यकालमा गरिएका कामले साँसद भट्टलाई नै टिकट दिनु पर्छ, वहाँलाई नदिएर मनपरी गरे एमाले २०७० को अवस्थामा पुग्न पनि बेर छैन’ एक नेताले भने,‘अहिले पार्टी बलियो बनाउने भए गुट उपगुट, विगत वर्तमान केही नहेरी नेताको जनमतका आधारमा टिकट दिनु पर्छ ।’
काँग्रेसबाट लेखक फेरि चुनावी मैदानमा छन् । २०५६ देखि चुनाव लड्दै आएका उनी २०७४ मा पराजित भएका छन् । २०६४ मा समानुपातिक साँसद भएका उनी २०७० मा फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।
एमालेमा काँग्रेस नेता पूर्व मन्त्री लेखकसित डा. भट्ट बाहेक चुनाव लड्ने जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट बलियो नेताका रुपमा हेर्ने गरिएको छ । अध्यक्ष विष्ट भने कञ्चनपुर प्रदेश सभा ३ ख बाट एकल सिफारिश भएका छन् । २०७४ मा उनी भीमदत्त नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
एमालेमा डा. भट्ट र अध्यक्ष विष्ट दुबै व्यक्तिगत मतदाता बढी भएका नेताका रुपमा परिचित छन् । एमालेमा डा. भट्ट फेरि उम्मेदवार भए काँग्रेस नेता लेखक असहज अवस्थामा पुग्न सक्ने सम्भावना देखिएको छ ।
निवर्तमान साँसद भट्टसित सिफारिश पाल २०६५ मा संविधान सभा उप निर्वाचन लडेकी थिइन् । माओवादीका कमल क्षेत्रीले जितेको चुनावमा उनी तेस्रो भएकी थिइन् ।
अध्यक्ष ओलीसम्म बलियो पहुँच भएर जिल्ला इन्चार्ज भएकी उनको कार्यकर्तामा कमजोर पकड छ । उनी एमालेको नवौ महाधिवेशनपछि केन्द्रीय सदस्य भएर जिल्ला इन्चार्ज भएकी हुन् । १० आंै महाधिवेशनपछि पोलिटब्युरो सदस्य भएर जिल्ला इन्चार्ज बनेकी छन् । उनलाई एमाले एमाले कञ्चनपुरका अध्यक्ष विष्ट सहित सबै पदाधिकारीको साथ पाएकी छन् ।
एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले भने जिल्ला कमिटीबाट प्रदेश कमिटीमा टिकटका लागि सिफारिश गरिएकाले पार्टीको मापदण्ड अनुसार टिकट पाउने बताए ।
‘कञ्चनपुर क्षेत्र नं. ३ बाट दुई जना सिफारिश हुनु भाको छ, मापदण्डका आधारमा वहाँमध्ये एक जनाले पाउनु हुन्छ’ उनले भने ।
