बैतडीमा सत्तारुढ गठबन्धनका नेता कार्यकर्ताले छाड्न थाले पार्टी, काँग्रेसका पूर्व वडा सभापति र समाजवादीका मेलौली नगर कमिटी सचिव एमाले प्रवेश

महेन्द्रनगर । बैतडीमा सत्तारुढ गठबन्धन आवद्ध दलका दुई नेता सहित कार्यकर्ताले पार्टी छाडेर एमाले प्रवेश गरेका छन् । 

मेलौली नगरपालिका २ का काँग्रेसका निवर्तमान वडा सभापति भान बहादुर चन्द र एकीकृत समाजवादीको मेलौली नगर कमिटीका सचिप किशोर भट्टले पार्टी छाडेका हुन् । उनीहरु दुबै जना एमाले प्रवेश गरेका छन् ।

काँग्रेस छाडेका पूर्व वडा सभापति चन्द २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष लडेका थिए । उनी त्यस अति तत्कालिन सलेना गाविसको अध्यक्ष भएका थिए ।

काँग्रेसले यस पटक स्थानीय तह निर्वाचनमा टिकट नदिएपछि चन्द असन्तुष्ट थिए । चन्द सहित काँग्रेस र समाजवादी दुबै पार्टीका १८ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेको मेलौली नगर सह इन्चार्ज बलभद्र दयालले बताए ।

उनीहरुलाई एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, निर्वमान प्रदेश सभा सदस्य लिलाधर भट्ट लगायतका नेताले टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष भण्डारी आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । उनी यस अघि २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य भएका भट्ट यस फेरि उम्मेदवार भएका छन् ।

सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेपछि काँग्रेस नेता कार्यकर्ता असन्तुष्ट भएका छन् । उनीहरुले काँग्रेस सभापति शेर बहादुर देउवालाई निर्णयबाट पछि हट्न दबाव दिएका छन् ।

Sisu
सम्बन्धित
Loading...