
महेन्द्रनगर । सशस्त्र द्वन्द्वकालमा तत्कालिन नेकपा माओवादीले बम विस्फोट गरी घर धवस्त बनाएका भीमदत्त नगरपालिका ६ का दिवान आग्रीले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि लगातार सरकारलाई गुहार्दै आएका उनले अहिलेसम्म क्षतिपूर्ति नपाएका हुन् ।
तत्कालिन नेकपा माओवादीले २०६१ चैत ३० गते आग्रीको भीमदत्त नगरपालिका ५ वनखेस्थित घरमा बम विस्फोट गरेको थियो । वम विस्फोटबाट आग्रीको घर ध्वस्त भएको थियो ।

वनखेतस्थित घरमा वम विस्फोट हुँदा आग्री भीनपा ६ स्थित घरमा बुवाको किरिया बसेका थिए । किरियामा बसेका उनलाई अपरण गरी लैजान खोजे पनि उनी भागेर जोगिएका थिए । त्यसपछि उनका दाई मोहन आग्रीलाई अपरण गरी एक महिनापछि मात्रै छाडिएको थियो ।
तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते गरेको शाही घोषणाको आग्रीले समथर्न गरेपछि उनी माओवादीको निशानामा परेका थिए । उनले शाही घोषणापछि राजाको कदमलाई सर्मथन गरी महेन्द्रनगरको भानुचोक मदनचोक सडक खण्डलाई ज्ञानेन्द्र मार्ग नामाकरण गरेका थिए । त्यस बाहेक उनी राजाले घोषणा गरेको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा लडेका थिए ।
राजाको शाही घोषणाको समर्थन गरेका आग्री त्यस बेला नेपाल देशभक्त संघमा आवद्ध थिए । उनले तत्कालिन युवराज पारसको जन्म दिनमा आफ्नै खर्चमा पश्चिमी सीमा गड्डाचौकीमा प्रवेशद्वार बनाउन सुरु गरेका थिए । प्रवेशद्वार अहिलेसम्म निर्माण हुन बाँकी छ ।
आग्रीले केही दिन अघि आगामी निर्वाचनका लागि गरेको उम्मेदवारी घोषणा कार्यक्रममा घर ध्वस्त भएको क्षतिपूर्ति नपाएको दुखेसो राखेका थिए । ‘२०६१ चैत ३ गते मेरो वनखेतस्थित घर वम विस्फोट गरी ध्वस्त बनाएको थियो, अहिलेसम्म राज्यबाट क्षतिपूर्तिू पाएको छैन’ उनले भनेका थिए ।
आग्रीका अनुसार माओवादीको वम विस्फोटबाट आग्रीको घरमा झण्डै करोड हाराहारीमा क्षति भएको थियो । जिल्ला प्रशासन कार्यालयले केही वर्ष अघि उनलाई केही रकम क्षतिपूर्ति दिन खोजे पनि उनले लिन अस्वीकार गरेका थिए ।
‘करोडौको क्षति हुँदा दुई चार लाख लिएर केही काम थिएन’ उनले भने,‘राज्यले दिने भए क्षति भएको आधारमा दिनु पर्छ ।’
आग्रीले आगामी निर्वाचनका लागि कञ्चनपुर ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी प्रतिनिधि सभा वा प्रदेश सभा निर्वाचन लड्ने यकिन गरेका छैनन् । उनी २०७४ मा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्य निर्वाचन लडेका थिए ।
अहिले पनि उनी प्रदेश सभा सदस्य निर्वाचन लड्न मनस्थिति बनाएका छन् । प्रदेश खारेज हुने हल्ला बाहिर आएपछि उनले उम्मेदवारी मात्रै घोषणा गरेका हुन् । उनले निर्वाचित भएपछि राज्यबाट पाउने सेवा सुविधा अनाथ बालबालिकामा खर्च गर्ने घोषणा गरेका छन् ।
