दोधारा चाँदनीमा एमालेले पाउला त यति बलिया नेताको साथ, ३६ वर्ष अघि चुनाव लड्दा जसले एकलौटी मत पाएका थिए

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख मा प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका राष्ट्रिय पञ्चायत सदस्य इन्द्र बहादुर खत्रीले चुनाव नलड्ने मनस्थिति बनाएका छन् ।

कञ्चनपुर ३ मा एमालेसित चुनावी तालमेल र शारीरिक अस्वस्थताका कारण खत्री यस पटक खत्री चुनाव नलड्ने निर्णय लिएका छन् । राप्रपाबाट उनी प्रदेश सभा सदस्य टिकटका लागि एकल सिफारिश गरिएका छन् ।

‘टिकटका लागि एकल सिफारिश गरिएको छ, टिकटको समस्या केही छैन, तर पनि म यस पटक चुनाव लड्ने पक्षमा छैन’ खत्रीले भने,‘एकातिर एमालेसित तालमेलको कुरा छ, अर्र्काेतिर मेरो शारीरिक अवस्थाले पनि चुनाव लड्नलाई साथै दिदैन ।’

एमालेसित चुनावी तालमेलका लागि छलफल सकारात्मक भएर अघि बढे पनि अन्तिम निर्णय नगरिएको नेता खत्रीले बताए । ‘एमालेसित तालमेलको निर्णय छलफल भएर अघि बढेको छ, लगभग सहमति भइ सकेको छ, अन्तिम निर्णय हुन मात्रै बाँकी छ’ उनले भने,‘तालमेल भएपछि प्रदेश क मा हाम्रो उम्मेदवार धर्मराज जोशी हुनु हुन्छ , म ख मा हुँदैन, एमालेलाई जिताउन लाग्छु ।’

दोधारा चाँदनीमा पाँच दशकदेखि राजनीतिमा सक्रिय उनी ७४ वर्ष पुगेका छन् । शारीरिक रुपमा पनि चुनावी मैदानमा होमिन सहज नहुने लागेर खत्री यस पटक एकल सिफारिश भएर चुनाव लड्न अनिच्छा देखाउन थालेका हुन् ।

२६ वर्षको उमेरमा चुनाव जितेर प्रधानपञ्च भएका उनी यस अघि २०५६ सम्म चुनाव लडेका छन् । २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य र त्यस अघि तत्कालिन चाँदनी गाउँ पञ्चायतमा लडेका सबै चुनाव जितेका उनी उनी बहुदल आएपछि हारेका छन् । बहुदल आएपछि लडेका चुनावमा पनि उनले निर्वाचितलाई चुनौती दिएका छन् ।

खत्री २०४८ को निर्वाचनमा तत्कालिन कञ्चनपुर २ बाट दोस्रो र त्यसपछि २०५६ को निर्वाचनमा क्षेत्र नं. ३ बाट दोस्रो भएका थिए । त्यसपछि उनी २०७० मा संविधान सभा सदस्य चुनाव लड्न खोजे पनि उनी अन्तिममा पछि हटेका थिए ।
२०४८ अघि भने उनले तत्कालिन चाँदनी गाउँ पञ्चालतको सदस्य, वडा अध्यक्ष र दुई पटक प्रधानपञ्च जितेका छन् ।

२६ वर्षमा प्रधानपञ्च भएका उनले २०४३ मा दोस्रो प्रयासमा राष्ट्रिय पञ्चायत सदस्य जितेका थिए । त्यस अघि उनी लबरु रानासित पराजित भएका थिए । पञ्चायत सदस्यमा निर्वाचित हुँदा उनलाई दोधारा चाँदनी क्षेत्रबाट ७५ प्रतिशत मत पाएका थिए ।

भूमि सुधार मन्त्री भएका राना सहित २२ जना उम्मेदवार चुनाव लडेका थिए । खत्रीले जितेको चुनावमा राना दोस्रो र पदम ठकुराठी तेस्रो भएका थिए । ठकुराठी त्यस अघि २०३७ मा पनि चुनाव लडेका थिए ।

बहुदल आएपछि दुई निर्वाचन हारे पनि आफ्नो दबदबा कायम राखेका खत्री दोधारा चाँदनीको विकासका भूमिका खेल्ने नेताका रुपमा परिचित छन् । महाकाली नदीमा तटबन्ध निर्माण, झोलुङ्गे पुल निर्माणको पहल, बाटाघाटा निर्माण, बिजुली बत्ती पुगाउने कार्यको श्रेय नेता खत्रीले पाएका छन् ।

खत्रीले तत्कालिन राजा स्वर्गिय विरेन्द्र बिक्रम शाहलाई दोधारा चाँदनीसम्म ल्याएका थिए । राजा विरेन्द्र आएपछि मात्रै महाकाली नदीको तटबन्धको गुरु योजना बनेर काम अघि बढेको उनी बताउँछन् । राष्ट्रिय पञ्चायत सदस्य जितेपछि राजासितको भेटमा दोधारा चाँदनीको समस्या सुनाएपछि राजा आउन तयार भएका थिए ।

राजाले दोधारा चाँदनीको भ्रमण गरेपछि महाकाली नदीमा तटबन्धनका लागि १३ करोडको गुरु योजना बनाएको थियो । महाकाली नदीमा तटबन्ध बनेपछि वासिन्दाले सुरक्षित रुपमा बस्न थालेको उनको भनाई छ । ‘त्यस अघिसम्म बर्खामा बस्न नसकिने अवस्था थियो, पानीले पूरै जलमग्न हुन्थ्यो’ उनले भने ।

महाकाली नदीमा तटबन्ध, विजुली जडान लगायतका एजेण्डालाई लिएर चुनाव लडेका उनी तत्कालिन चाँदनी गाउँ पञ्चायतको प्रधानपञ्च छाडेर चुनाव लडेका हुन् ।

‘त्यो बेला विचारको कुरा थिएन, मलाई सबैले मत हाले, पूर्विया पश्चिमा केही भनेन’ उनले भने,‘त्यसो हेरेको म सल्यानी भोट पाएर कसरी जित्थे र, सबैले दिए पो जिते ।’

भारतीय सेनामा कार्यरत बुवाले भीमदत्त नगरपालिका १७ बाँसखेडामा बसोबास गरी २०२५ मा दोधारा चाँदनी बसाई सराई गरेका हुन् । भारतीय सेनामा कार्यरत उनका बुवा गाउँका भलमन्सा थिए । दोधारा चाँदनी बस्न थालेपछि खत्री पञ्चायत राजनीतिमा लागेर वडा सदस्य जितेर साँसदसम्म भएका हुन् ।

राष्ट्रिय पञ्चायत सदस्य हुँदा उनी वन सुदृढीकरण उच्च स्तरीय आयोगको अध्यक्ष भएका थिए । आयोगको अध्यक्ष राज्य मन्त्री सरह हुने व्यवस्था थियो । आयोगको अध्यक्ष हुँदा उनले वन फँडानी रोक्ने, वृक्षारोपण गर्ने लगायतका वन संरक्षण कार्यक्रमलाई देशभरि सञ्चालन गरेका थिए ।

खत्री पञ्चायत सदस्य भएका बेलामा धनगढीदेखि बेलौरीसम्मको विद्युतीकरण गरिएको थियो । कलुवापुर श्रीपुर सडक र महकाली सिँचाई आयोजनाको तेस्रो चरणको काम खत्रीले अघि बढाएका थिए । अहिलेसम्म ती दुबै काम अधुरा छन् । कलुवापुर सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरबको योजना राखेको छ ।

राजनीतिक दलहरुले दोधारा चाँदनीको विकासमा खत्रीको भूमिकालाई सबै मञ्चमा सम्झिने गरेका छन् । दोधारा चाँदनीका सबै कार्यक्रममा नेताहरुले आफूले गरेको काम भन्न अघि आफ्नो नाम लिने गरेको उनी बताउँछन् ।

‘काँग्रेस नेताले भाषण गर्दा मैले यो गरे, त्यो गरे भन्नु अघि यहाँको विकासमा इन्द्र बहादुर योगदान गरेका छन् भन्छन्, एमाले माओवादीका नेताले पनि त्यहीं नै भन्ने गर्छन्’ उनले भने,‘योले पनि मैले आफ्नो कार्यकालमा केही गरेको रहेछु भन्ने सन्तुष्टि मिल्छ ।’

नेता खत्रीको लोकप्रियताका कारण राजनीतिक विभिन्न राजनीतिक दलका शीर्ष नेतासम्म उनको घर पुगेका छन् । पञ्चायतकालमा तत्कालिन राजालाई आफ्नो घरसम्म ल्याएका उनी बहुदल आएपछि शीर्ष नेताको प्राथमिकतामा परेका छन् ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जना खत्रीको घर पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनको घर पुगेका छन् ।

घर आएका प्रचण्डलाई उनले महाकाली नदी किनारको बयलबन्ध सहितका क्षेत्रमा लगेर घुमाएका थिए । अध्यक्ष प्रचण्डले दोधारा चाँदनीका विकासका लागि भूमिका खेल्ने वचन दिएका थिए ।

दोधारा चाँदनीको विकासका लागि खत्रीले राजनीतिक जीवन समेत दाउमा राखेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाबाट दोधारा चाँदनीको कायापलट हुने सपना देखेर उनी २०६४ मा उनलाई जिताउन सक्रिय भएर लागेका थिए । प्रधानमन्त्री देउवाले चुनावी वाचा अनुसार विकासका लागि वास्ता नगरेपछि उनले साथ छाडेका थिए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित प्रधानमन्त्री भई सक्नु भएको व्यक्तित्वले यस क्षेत्रमा जितेपछि कायापलट हुने सपना देखेर जिताउन लागे, महाकाली नदीमा पक्की तटबन्ध, पुल, सिँचाई, सबै कुरा पूरा हुने सपना देखे’ उनले भने,‘जितेपछि भने कायापलट भएन, बरु यस क्षेत्रबाट राजीनामा दिए, मेरो स्वार्थ विकासको थियो, त्यो नै पूरा नभएपछि बस्न ठिक थिएन, बाहिर आए ।’

प्रधानमन्त्री देउवाले जितेपछि आफूले भेट गरी आफ्नो सपना सुनाउँदा उनले सरकार र पार्टी नेतृत्वमा नभएकाले गर्न नसकेको जवाफ दिएका थिए ।

देउवाले चुनाव जितेपछि दोधारा चाँदनीमा माओवादी केन्द्रका नेता मान बहादुर सुनारले खत्रीको साथ पाएर २०७० को संविधान सभा सदस्य निर्वाचन जित्ने सपना देखे । त्यसका लागि उनले अध्यक्ष प्रचण्ड सहित नेताहरु पोष्ट बहादुर बोगटी, हरिबोल गजुरलेलाई खत्रीका घरमा ल्याए । त्यसपछि उनी सुनारको घरमा बसेर तत्कालिन कञ्चनपुर ४ बाट संविधान सभा सदस्य टिकट दिने निर्णय गरी माओवादी प्रवेश गरेका थिए ।

माओवादीबाट टिकटको निर्णय गरिएका उनी अन्तिममा धोका पाएपछि फेरि राप्रपामा फर्किएका हुन् । माओवादीबाट उम्मेदवार भएर चुनाव लड्दा उनलाई राप्रपाका नेता कार्यकर्ताले साथ दिने बताएका थिए । दोधारा चाँदनीमा उनको लोकप्रियता पार्टी भन्दा व्यक्तित्वले बनाएकाले उनी जुन दलमा गए पनि नेता कार्यकर्ताबाट उनी सधै साथ पाउने गरेका छन् ।

माओवादी केन्द्रबाट टिकट पाएर २०७० मा चुनाव लडेको भए जितिने दावी उनी गर्छन् । माओवादी केन्द्रबाट सुनार सहित मोहन गिरी पनि आकाँक्षी थपिएपछि उनको टिकट खोसिएको थियो ।

माओवादी केन्द्र छाडेर एमाले आएका बेलडाँडी गिरीले आफूलाई जिउँदो सहिद भनेपछि उनलाई टिकट दिइएको थियो । सुनारले आफूलाई सहयोग गर्नेमा ढुक्क उनी उनको दावीपछि झस्किएका थिए । सुनार २०५१ को मध्यावधि निर्वाचन लड्दा खत्रीले उनलाई साथ दिएका थिए ।

एमालेसित चुनावी तालमेल भएपछि खत्री एमालेका उम्मेदवारलाई जिताउन यस पटक चुनावी मैदानमा होमिने भएका छन् । एमालेबाट प्रतिनिधि सभामा निवर्तमान साँसद डा.दिपक प्रकाश भट्ट र निरुदेवी पाल सिफारिश गरिएका छन् । प्रदेश सभामा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट एकल सिफारिश भएका छन् ।

सत्तारुढ गठबन्धनबाट प्रदेश सभामा मान बहादुर सुनार वा बेल बहादुर रानामध्ये एक जना उम्मेदवार हुने भएका छन् । प्रतिनिधि सभा सदस्यमा काँग्रेसका रमेश लेखक उम्मेदवार छन् ।

‘दोधारा चाँदनीमा एमाले सत्तारुढ गठबन्धन सबै बलियो नै छन्, स्थानीय तह निर्वाचनको मत हेर्दा एमाले अझै बलियो छ’ उनले भने, ‘यता त प्रतिस्पर्धा नै हुन्छ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.