सशस्त्र प्रहरीको सईबाट रिटायर्ड भएपछि राजनीतिमा फर्किए चाँदनीका किशोर
सशस्त्र प्रहरी हुन अघि अखिलका नेता थिए, अहिले युवा संघका नगर अध्यक्ष भए
महेन्द्रनगर । सशस्त्र प्रहरीमा डेढ दशक सेवा गरी अवकाश पाएपछि दोधारा चाँदनी नगरपालिका १ का किशोर आग्री फेरि राजनीतिमा फर्किएका छन् । २०५९ मा सशस्त्र प्रहरी भएपछि राजनीतिबाट अलग हुन पुगेका उनी अवकाश पाएपछि फेरि राजनीतिलाई निरन्तरता दिएका हुन् ।
उनी अहिले एमालेको राष्ट्रिय युवा संघको दोधारा चाँदनी नगर कमिटी अध्यक्ष भएका छन् । सशस्त्र प्रहरी हुन अघि उनी एमालेका विद्यार्थी संगठन अनेरास्ववियुका नेता थिए । तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र उत्तीर्ण गरी अध्ययनका लागि काठमाडौं गएपछि उनी सशस्त्र प्रहरीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरेका उनी १६ वर्षमा सशस्त्र प्रहरीको वरिष्ठ सहायक प्रहरी निरीक्षक भएर अवकाश भएका हुन् ।
‘म पहिला विद्यार्थी राजनीतमा थिए, सशस्त्र प्रहरीमा भर्ना भएपछि राजनीति गर्ने कुरा भएन, त्यस कारण राजनीतिबाट लभगग अलग नै भए’ उनले भने,‘सशस्त्र प्रहरीबाट अवकाश पाएर घर आएपछि फेरि राजनीतिमा फर्किएको छु, जसमा म पहिलादेखि नै थिए ।’
सशस्त्र प्रहरीमा १६ वर्ष ४ महिना सेवा गरी २०७५ मा अवकाश पाएपछि तीन वर्ष दुबही प्रहरीमा जागिर पनि गरेका छन् । विदेशबाट घर फर्केपछि उनी एमालेका दोधारा चाँदनीका नेताहरुको आग्रहमा राजनीतिमा फर्किएका छन् ।
‘नेताहरुले पनि अब गाउँमा केही गर्नु पर्छ, गाउँ ठाउँको विकास गर्न सबै लाग्नु पर्छ, मलाई पनि राजनीतिमा सक्रिय हुन सुझाव दिनु भयो’ उनले भने,‘त्यसले नै मलाई राजनीतिमा फर्किन प्रेरित ग¥यो ।’
राजनीतिमा फर्किएका आग्री आफूले धेरै ठूलो सपना नदेखे पनि दोधारा चाँदनीको विकासका लागि आफूले सक्दो प्रयास गर्ने अठोट लिएका छन् ।
‘अब राजनीतिमा फर्किएपछि धेरै ठूलो गर्ने र आफू हुने त सपना देखेको छैन’ उनले भने,‘यो नगरको विकासका लागि सक्ने जति कोशिस गर्छु’ उनले भने, ‘त्यसमा सबैको साथ सहयोग पाउने आशा राखेको छु ।’
गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालयबाट २०५७ एसएलसी उत्तीर्ण गरेपछि तत्कालिन सिद्धनाद्ध बहुमुखी क्याम्पसमा अध्ययन गर्दा उनी एमालेको अखिलको राजनीतिमा सक्रिय भएका हुन् । अखिलबाट उनी २०५८ मा स्ववियु निर्वाचनमा सचिवको उम्मेदवार भएका थिए ।
दोधारा चाँदनी नगरपालिकाको महाकाली माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पढेका उनले गड्डाचौकीबाट एसएलसी उत्तीर्ण गरेका थिए । गाउँ नजिक माध्यमिक विद्यालय नभएपछि उनी गड्डाचौकी आएर पढेका हुन् । उनी कक्षा १ देखि १० सम्म सधैं प्रथम भएका थिए ।
पढाईमा अब्बल आग्री गीत संगित क्षेत्रमा रुची थियो । उनले क्याम्पस अध्ययनका क्रममा निराशा गीति एल्मब बजारमा ल्याएका थिए । आइए उत्तीर्ण गरेपछि उनी संगित विषय अध्ययनका लागि काठमाडौं गएका थिए । काठमाडौंको ललितकला क्याम्पसमा प्रवेश परीक्षा छुटेपछि रत्न राज्य लक्ष्मीदेवी क्याम्पसमा बिए अध्ययनका लागि भर्ना गरेको चार महिनापछि सशस्त्र प्रहरी सहायक निरीक्षक भएका थिए ।
‘सशस्त्र प्रहरीमा जागिर खाने सोच नै थिएन, म त काठमाडौंमा म्युजिक पढ्न गएको थिए, इन्ट्रान्सको म्याद सकि सकिएको रहेछ’ उनले भने,‘त्यसपछि आरआरमा बिए भर्ना भए, तीन चार महिनापछि त म भर्ना नै भई हाले ।’
संगितमा रुची भए पनि आग्रीको रेन्जर अध्ययन गरी वन प्राविधिक सेवाको जागिर गर्ने लक्ष्य थियो । रेन्जर अध्ययनका लागि ८० हजार खर्च जुटाउन नसकेपछि उनी वन प्राविधि बन्ने सपना छाड्न बाध्य भएका थिए । एसएसली उत्तीर्ण गरेपछि उनी रेन्जर अध्ययनका लागि प्रयास गरेका थिए । घर परिवारबाट साथ पाउन नसकेपछि उनी रेन्जर सपना छाडेर आइए भर्ना गरेका थिए ।
६ दाईभाई साइलो उनी ६ महिनाको हुँदा बुवाको निधन भएको थियो । उनकी आमा छिन् । उनी र कान्छा भाई बाहेक उनका अन्य दाई भाई भारतमा रोजगारी गर्छन् ।
‘म ६ वर्षको हुँदा बुवाले छाडेर जानु भयो, आमा हुनु हुन्छ, रेन्जर नै बन्ने लक्ष्य थियो, कही कतैबाट सहयोग पाएन’ उनले भने,‘पैसा नभएर पढ्न सकिने कुरा भएन, त्यसपछि त्यो सपना छाड्नै पर्ने भयो ।’
दोधारा चाँदनी नगरपालिका १ बस्नु अघि उनको परिवार भीमदत्त नगरपालिका १८ गोबरैयामा बस्दै आएको थियो । बझाङ्ग पुख्र्यौलीका उनी चार वर्षको हुँदाको आग्री परिवार दोधारा चाँदनी सरेको थियो । उनी गोबरैयामा जन्मिएका हुन् ।
राजनीतिमा फर्किएपछि उनी गीत संगितलाई अघि बढाउन थालेका छन् । केही महिना अघि मात्रै उनले गीति एल्बम रिलिज गरेका थिए । उनी डेढ दुई सय गीत समावेश गरी गीति संग्रह निकाल्ने योजना बनाएका छन् । आर्थिक अभावले पछिल्लो पटक रिलिज भएको एल्बम पनि बजारमा ल्याउन नसकिएको उनी बताउँछन् ।
‘म जता गए पनि गीत संगित छाड्नै सक्दिन’ उनले भने,‘अब राजनीतिसंगै गीत संगितमा पनि जमेर लाग्छु ।’
स्थानीय तह निर्वाचनमा उनले वडा अध्यक्ष लड्ने इच्छा राखेका थिए । आगामी दिनमा पनि वडा अध्यक्ष चुनाव लड्ने उनी बताउँछन् । ‘म स्थानीय राजनीति नै गर्छु, पार्टीले टिकट दिए अर्को वर्ष वडा अध्यक्षमा चुनाव लड्छु’ उनले भने ।
दुई सन्तानका बुवा उनी आगामी निर्वाचनमा एमालेलाई जिताउन सक्रिय रुपमा लाग्ने बताउँछन् । ‘म सक्रिय रुपमा लाग्छु, अरु पनि लाग्छु पर्छ’ उनले भने,‘पार्टीभित्र पनि खासै अरु केही समस्या छैन, मन अलि कति जोड्न पर्ने हो, अरु त केही नै छैन’ उनले भने ।