महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र उप मेयर गंगा जोशी दुबैले देउडा खेलेका छन् । दोधारा चाँदनी नगरपालिका १ स्थित कालिका मालिका साँस्कृतिक संरक्षण समाज दोधारा चाँदनीले आयोजना गरेको देउडा विशेष कार्यक्रममा उनीहरु सहभागी भएर देउडा खेलेका छन् ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो चाड गौरामा देउडालाई विशेया प्राथमिकता दिने गरिएको छ । दशैंको टिकाको अघिल्लो दिन सुदूरपश्चिम प्रदेश बाहिर पुख्र्यौलीका मेयर उप मेयर दुबै देउडा संरक्षणका लागि कार्यक्रममा सहभागी भएर देउडा खेलेका छन् ।
दोधारा चाँदनीका मेयर लिम्बुले कार्यक्रम उद्घाटन गरेपछि देउडा सुरु भएको थियो । कार्यक्रममा उनले संस्कृति र कलालाई जोगाई राख्नु पर्नेमा जोड दिए ।
‘हाम्रो देश कला–संस्कृति गहना हो, नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक छ’ उनले भने,‘कला र सस्कृतीलाई जर्गेना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ, कला, संस्कृति र धर्मको संरक्षण तथा संम्वर्धन गर्न जरुरी छ ।’
उप मेयर गंगा देबी जोशीले आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिइन् । कालिका मालिका सास्कृतीक संरक्षण समाज दोधारा चाँदनीका अध्यक्ष कल्चे सुनारको अध्यक्षता कार्यक्रम गरिएको छ ।
कार्यक्रममा उप मेयर जोशी सहित वडा सदस्य मानमती भट्ट, स्वतन्त्र समूहका नेता भिम कुमाल, देउडिया बिक्रम बिक, हरिना भट्ट लगायतका सहभागी भएका छन् ।