
महेन्द्रनगर । सीट बाँडफाँटमा सहमति हुन नसकेपछि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनबाट बाहिरिएर सबै क्षेत्रमा चुनाव लड्ने मनस्थिति बनाएको छ ।
कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाका सबै ९ सीटमा सत्तारुढ काँग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भागबण्डा गरी चुनाव लड्न लागेका हुन् । दुई दलबीच भागबण्डामा सहमति हुन नसकेपछि समाजवादी गठबन्धनबाट बाहिरिएको हो ।

सत्तारुढ गठबन्धन र समाजवादीले औपचारिक रुपमा भने अहिलेसम्म बाहिरिएको निर्णय सार्वजनिक गरेका छैनन् । तर ती दुबै दलका नेताहरुले भने सत्तारुढ गठबन्धनबाट समाजवादी बाहिरिएको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका कञ्चनपुर उप सचिव राजेन्द्र पाण्डेयले सत्तारुढ गठबन्धनमा सीट बाँडफाँटको अन्तिम निर्णय बाहिर नआएकाले औपचारिक रुपमा समाजवादी बाहिरिएको भन्न नमिल्ने बताए । ‘हिजोसम्म एक खालको कुरा थियो, आज अर्कै भाको छ, परिस्थिति यही हुन्छ भन्न सकिने अवस्था छैन’ उनले भने,‘बाहिर आए जस्तो पनि हुन सक्छ, त्यसो भए सबै क्षेत्रमा उम्मेदवार खडा गर्छौ ।’
सत्तारुढ गठबन्धनमा यस अघि प्रतिनिधि सभा र प्रदेश सभाका ९ सीटमध्ये ५ काँग्रेसलाई दिएर अन्य चारमा समाजवादी र माओवादीलाई दिने सहमति भएको थियो । ती दलबीच समाजवादीलाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क दिनेमा नेताहरु अन्तिसम्म सहमत भएका थिए ।
कञ्चनपुर ३ मा माओवादी केन्द्रका पूर्व सभासद् टिकेन्द्र प्रसाद भट्टले दावी नछाडेपछि सत्तारुढ काँग्रेस र माओवादीले समाजवादीलाई बाहिर राखेर गठबन्धन गर्ने निर्णय लिने अवस्था आएको हो । निर्वाचन क्षेत्र नं. ३ क मा समाजवादीका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल र लोकबिक्रम थापा बलियो दाबी गरेका थिए । समाजवादीभित्र ती दुई नेता अन्तिमसम्म अडानमा लिए ।
समाजवादीका दुई नेताको अडानका बीच माओवादी केन्द्रका भट्टले पनि नछाडेपछि जिल्लाभर सत्तारुढ गठबन्धन भत्किएको हो । सत्तारुढ काँग्रेस र माओवादीबीच प्रतिनिधि सभाका दुई र एक तथा प्रदेश सभामा बराबरी तीन÷तीन क्षेत्रमा चुनावल लड्ने भएका छन् ।
नेताहरुका अनुसार प्रतिनिधि सभाका निर्वाचन क्षेत्र नं. १ मा माओवादी, २ र ३ मा काँग्रेसले चुनाव लड्ने भएको छ । प्रदेशमा तीनै निर्वाचन क्षेत्रमा क मा माओवादी र ख मा काँग्रेसका उम्मेदवार चुनाव लड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता लोकराज जोशीले सत्तारुढ गठबन्धनमा काँग्रेस र माओवादीबीच तालमेल गरी चुनाव लड्ने गरी सीट भागबण्डा भएको बताए । ‘अब प्रतिनिधि सभाका तीनमध्ये क्षेत्र नं. १ मा माओवादी लड्छ, प्रदेश सभाका तीन सीटमा माओवादी लड्छ’ उनले भने ।
स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि अन्तिमसम्म प्रयास गरिएका थिए । काँग्रेससित सीट बाँडफाँटमा सहमति हुन सनेकपछि माओवादी र समाजवादी तालमेल गरी चुनाव लडेका थिए । अहिले संसदीय निर्वाचनमा समाजवादीलाई बाहिर राखेर काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् ।
