
महेन्द्रनगर । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारीले टिकट वितरणका दिएका अस्वभाविक दबाव अध्यक्ष ओलीले यस पटक अस्वीकार गरि दिएका छन् । यस अघि स्थानीय तह निर्वाचनमा ती दुबै नेताको चाहना अनुसार उम्मेदवार चयन गरिएपछि कञ्चनपुरमा अनपेक्षित नतिजा आएको थियो ।
स्थानीय तह निर्वाचनको नतिजाका कारण अध्यक्ष ओलीले उनीहरुको चाहनालाई समेत ध्यान दिएर मध्यमार्गी बाटो अँगालेर उम्मेदवार चयन गरेका छन् । एमालेमा अध्यक्ष ओलीलाई टिकट बाँडफाँटको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी दिइएको थियो ।
एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीले यस पटक अन्तिमसम्म माओवादी छाडेर एमाले भएका बीर बहादुर थापालाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन अध्यक्ष ओलीलाई दबाव दिएका छन् ।
अध्यक्ष ओलीेले थापालाई प्रदेश सभा सदस्य उम्मेदवा बनाएर पूर्व अध्यक्ष तारालामा तामाङ्गलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएका छन् । एमाले छाडेर एकीकृत समाजवादी भएका तामाङ्ग गत भदौमा एमाले फर्किएका थिए । उनलाई अध्यक्ष ओलीले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
एमालेलाई नेकपाको निरन्तरता भन्दै आएका इन्चार्ज भट्टले थापालाई उम्मेदवार नबनाए पार्टीभित्र पूर्व माओवादी नेता कार्यकर्ता असन्तुष्ट हुन सक्ने बताएका थिए । माओवादी छाडेर एमाले आएपछि अध्यक्ष भएका थापाले पनि उम्मेदवारका नामावली सार्वजनिक भएपछि फेसबुकमा पत्रकार सम्मेलन गर्ने भन्दै असन्तुष्टि जाहेर गरि सकेका छन् ।
एमाले नेताहरुका अनुसार इन्चार्ज भट्ट पूर्व माओवादी कोटाबाट थापालाई उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरेका थिए । त्यसमा एमाले प्रदेश अध्यक्ष भण्डारीले उनलाई अन्तिमसम्म साथ दिएका छन् । अहिले उनीहरु दुबै एमाले अध्यक्ष ओलीका विश्वासपात्र छन् ।
अध्यक्ष ओलीले उनीहरु दुबैको दबाव अस्वीकार गरी एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्टलाई प्रदेश सभा सदस्य उम्मेदवार बनाएका छन् । स्थानीय तह निर्वाचनमा इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीले भट्टको मेयरको टिकट खोसेका थिए । उनीहरुले टिकट दिएका केन्द्रीय सदस्य कमला बोहरा फराकिलो मत अन्तरले पराजित भएपछि उनीहरु चौतर्फी आलोचनामा परेका छन् । भट्ट निर्वाचन क्षेत्र नं. १ ख मा प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् ।
एमाले जिल्ला कमिटीबाट टिकटका लागि सिफारिश नभएकी बोहरालाई टिकट दिएर उनीहरुले भट्टको टिकट खोसेका थिए । उनी २०७४ को निर्वाचनमा बेलौरीको मेयरमा झिनो मत अन्तरले पराजित भएका थिए ।
भट्टलाई रोक्न इन्चार्ज भट्ट, अध्यक्ष भण्डारी अन्य नेता कार्यकर्ता लागि परेका थिए । इन्चार्ज भट्टले बलदेब बुडाललाई उम्मेदवार बनाउन अध्यक्ष ओलीसम्म लबिङ्ग गरेका थिए । काँग्रेस छाडेर माओवादी भएका बुडाल अहिले एमाले छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेलको चाहनालाई पनि ध्यान राखेर उम्मेदवार बनाएका छन् । अध्यक्ष ओलीले एमालेका निवर्तमान साँसद नर बहादुर धामीलाई फेरि चुनाव लडाएका छन् । उनले महासचिव पोखेरलका विश्वासपात्र वचन बहादुर सिहलाई प्रदेश सदस्य उम्मेदवार बनाएका छन् ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश सिहलाई उम्मेदवार बनाउन महासचिव पोखरेलले अन्तिमसम्म प्रयास गरेका थिए । त्यस क्षेत्रमा सिहलाई उम्मेदवार बनाउन अध्यक्ष ओलीले शितल निवासको दबावलाई समेत अस्वीकार गरेका छन् ।
शितल निवासले टेक बहादुर हमाललाई उम्मेदवार बनाउन दबाव दिएको थियो । स्रोतका अनुसार मदन भण्डारी कलेजका प्रमुख डम्बर हमालले शितल निवासबाट हमालका लागि दबाव दिन लगाएका छन् ।
प्रतिनिधि सभा सदस्य नभएर प्रदेश सभा उम्मेदवार भएपछि पाण्डेय र हमाल असन्तुष्ट भएका छन् । उनीहरुले आज दिउँसो झलारीमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ ख मा भने संविधान सभा सदस्य कृपाराम राना सर्वसम्मत सिफारिश भएका थिए । उनी उम्मेदवार सिफारिश भएपछि चुनाव प्रचारमा लागि सकेका छन् । एमालेका केन्द्रीय सदस्य उनी यस अघि स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको निर्वाचन प्रचार समितिका संयोजक थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाल उम्मेदवार भएकी छन् । उनी एमाले कञ्चनपुरका इन्चार्ज पनि हुन् । २०७४ को निर्वाचनमा समानुपातिक बसेकी उनी र निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट टिकटका लागि सिफारिश गरिएका थिए । २०७४ मा निर्वाचित भट्ट निर्वाचन क्षेत्रमा बलियो पकड भएका नेता हुन् । टिकट नपाएपछि भट्टले पाललाई जिताउने अभियानको नेतृत्व लिने भएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ क ख मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार भएका छन् । ३ क एमालेले राप्रपाका नेता धर्मराज जोशीलाई सघाउने भएको छ । निर्वाचन क्षेत्र नं ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल गरिएको छ । त्यस अनुसार ख मा राप्रपा र क मा एमालेका उम्मेदवार छैनन् ।
स्थानीय तह निर्वाचनको नतिजाका आधारमा अध्यक्ष ओलीले यस पटक टिकट वितरण सन्तुलित बनाउने प्रयास गरेको एक नेताले बताए ।
‘पहिला केही नेताले भनेका आधारमा अन्धाधुन्ध टिकट दिइएको थियो, अहिले त्यसमा केही सुधार भएको छ, पार्टीमा योगदान र जनमत भएका नेतालाई रोजिएको जस्तो देखिएको छ, केही अझै समस्या छन्’ ती नेताले भने,‘स्थानीयमा जस्तो गरिएको छैन ।’
स्थानीय तह निर्वाचनमा प्रदेश इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीले अध्यक्ष ओली निवास बालकोटसम्म नाम पुगाएर जिल्ला कमिटीको चाहनालाई वेवास्ता गरी टिकट दिएका थिए ।
