
एमालेमा प्रदेश नेतृत्व नजिकका टिकट पाउने र खोसिने दुबै असन्तुष्ट, फेसबुकमा पोखे एकपछि अर्को असन्तुष्टि

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारका नामावली बाहिर आएपछि एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारी समूहका नेता कार्यकर्ता असन्तुष्ट भएका छन् । उम्मेदवारीमा उम्मेदवार भएका केही नेता पनि असन्तुष्ट भएका छन् ।
एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीको साथ पाएको नेता अहिले उम्मेदवार हुन रोकिएका छन् । उम्मेदवार भएकाले पनि पनि उनीहरुको चाहना विपरित टिकट पाएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ क मा प्रदेश सभा सदस्य टिकट पाएका बीर बहादुर थापाले शुक्रबार उम्मेदवारका नाम बाहिर आएपछि फेसबुकमा पत्रकार सम्मेलन गर्ने भनेर असन्तुष्टि ल्याएका थिए । त्यसपछि कृष्णपुरका जयराज पाण्डेय र झलारीका टेक बहादुर हमालले पनि फेसबुकमा असन्तुष्टि पोखेका थिए ।
एमालेका निवर्तमान अध्यक्ष थापालाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीले अन्तिमसम्म प्रयास गरेका थिए । अध्यक्ष ओलीले थापालाई प्रदेश सभा सदस्य उम्मेदवार बनाएर तारालामा तामाङ्गलाई टिकट दिएका छन् । एमालेका पूर्व अध्यक्ष तामाङ्ग २०७४ को निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
निर्वाचन क्षेत्र नं. २ क मा अन्तिमसम्म टिकटका लागि बलिया दाबेदार मानिएका पाण्डेय र हमाललाई छाडेर राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिहले टिकट पाएका छन् । प्रतिनिधि सभा सदस्यमा निवर्तमान साँसद नर बहादुर धामीलाई टिकट दिएर सिह प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । उनीहरु दुबै जना विद्यार्थी राजनीतिबाट आएका नेता हुन् ।
सिहलाई उम्मेदवार बनाएपछि पाण्डेृय र हमाल दुबै असन्तुष्ट भएका छन् । उनीहरुले झलारीमा दिउँसो पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा थापा, पाण्डेय र हमाल तीन जना उम्मेदवार थिए । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले टिकट दिए पनि पुनर्वासको मेयरमा लड्न थापा डराएका थिए । त्यसपछि पदम पुजारालाई टिकट दिइएको थियो ।

कृष्णपुरमा लोकन्द्र प्रसाद पन्त र शुक्लाफाँटामा रण बहादुर महरालाई टिकट दिएपछि हमाल रोकिएका थिए । त्यसपछि उनीहरु दुबैले निर्वाचन परिचालन कमिटीको नेतृत्व गरेका थिए ।
एमालेको आठौं जिल्ला अधिवेशनमा सिह सहित पाण्डेय र हमाल थापालाई अध्यक्ष बनाउन सक्रिय देखिएका थिए । एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, केन्द्रीय सदस्य कमला बोहरा, राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष सिह सहितको समूहले थापालाई अध्यक्षमा सहयोग गरेको थियो । माओवादी छाडेर आएका थापालाई इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीको साथ थियो ।
आठौं जिल्ला अधिवेशनमा अध्यक्ष सुरेन्द्र विष्ट र निवर्तमान अध्यक्ष थापा प्यानल बनाएर चुनाव लडेका थिए । निवर्तमान अध्यक्ष थापा समूहको लज्जास्पद हार भएको थियो । थापाको हारको कारण इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीले स्थानीय तह निर्वाचनमा टिकट वितरण एकलौटी गरेका थिए ।
थापा अध्यक्ष हुन नसकेपछि स्थानीय तह निर्वाचनमा एमाले जिल्ला सचिव पल्लवराज भट्टको टिकट खोसिएको थियो । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष विष्टलाई पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम रानाले साथ दिएका थिए ।
उनीहरुमध्ये साँसद भट्ट बाहेक सबै उम्मेदवार भएका छन् । पाल कञ्चनपुर ३ मा प्रतिनिधि सभा, धामी कञ्चनपुर २, विष्ट र राना प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । विष्ट र राना दुबै सर्वसम्मत सिफारिश गरिएका थिए ।
एमालेको १० औं महाधिवेशनपछि सुदूरपश्चिममा प्रदेश इन्चार्ज भएका भट्ट र सह इन्चार्ज कर्ण थापाका दुई समूह देखिएका छन् । इन्चार्ज भट्टलाई अध्यक्ष भण्डारी र सह इन्चार्ज रावलले साथ दिएका छन् । सह इन्चार्ज थापालाई पोलिटब्युरो सदस्य पाल सहितका नेताले साथ दिएका छन् ।
टिकट नपाएपछि इन्चार्ज भट्ट समूहका खेम सुवेदी पनि असन्तुष्ट भएका छन् । उनी प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएका थिए । उनलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरिएको थियो ।
एमाले सचिव पल्लवराज भट्टलाई रोक्न अन्तिमसम्म प्रयास गरिएको थियो । स्थानीय तह निर्वाचनमा टिकट खोसिएका कारण भट्टलाई रोक्न नसकिएपछि उनी उम्मेदवार भएका छन् ।
