महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा सहमति हुन नसकेपछि कञ्चनपुरमा काँग्रेस र नेकपा माओवादी केन्द्र चुनावी तालेमल गरी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लड्ने भएका छन् । कञ्चनपुरमा सत्तारुढ गठबन्धनबाट समाजवादी बाहिरिएको छ ।
समाजवादीले कञ्चनपुर ३ क वा १ क मा अन्तिमसम्म भागबण्डाका लागि प्रयास गरेको थियो । ती दुबै सीट दिन नसकिने अवस्था आएपछि समाजवादीसित मित्रवत प्रतिस्पर्धा हुने सहमति गरी गठबन्धनमा सहमति गरिएको छ ।
समाजवादी गठबन्धनबाट बाहिर आएपछि कञ्चनपुर ३ क मा माओवादीका टिकेन्द्र प्रसाद भट्ट र निर्वाचन क्षेत्र नं. १ क मा काँग्रेसका बन्धु राना प्रदेश सभा सदस्य चुनाव लड्ने भएका छन् ।
सहमतिपछि कञ्चनपुर १ को प्रतिनिधि सभामा माओवादी केन्द्रकी विना मगर र प्रदेशमा दुबै सीटमा काँग्रेसका उम्मेदवार चुनाव लडने भएका छन् । प्रतिनिधि सभामा मगर चुनाव लड्ने निश्चित भए पनि प्रदेशका दुई मध्ये एक सीट अन्य दलले पाउने सम्भावना थियो ।
प्रतिनिधि सभा सदस्य मगरले सुरुदेखि प्रदेशका दुबै सीटमा काँग्रेसका उम्मेदवार लडाउन दबाव दिएकी थिइन् । एमालेका बलिया उम्मेदवार र काँग्रेसबाट प्रतिनिधि सभाका लागि अन्तिमसम्म अडान दिएका दिवान विष्टका कारण मगर अप्ठेरो पर्ने त्रासमा छिन् । त्यस कारण उनले प्रदेश सभा विष्टलाई जसरी पनि टिकट दिएर दुबै क्षेत्रमा काँग्रेस उम्मेदवार लडाउन खोजेकी छन् ।
उनले काँग्रेसबाट असहयोग हुने खतरामा महसुस गरेकी छन् । त्यस बाहेक पार्टी छाडेका माओवादी नेता कार्यकर्ताका कारण पनि डराएकी छन् ।
सत्तारुढ गठबन्धनमा काँग्रेस र माओवादी मगरलाई जसरी पनि जिताउने पक्षमा देखिएका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् । दाहालकी बुहारी भएका कारण प्रधानमन्त्री शेर बहादुर देउवाले पनि संस्थापन इतरका विष्टको सबै धम्कीलाई वेवास्ता गरी प्रदेश सभा सदस्य उम्मेदवार बनाएका छन् ।
कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्य काँग्रसलाई दिएर प्रदेशका दुई सीट माओवादी र समाजवादीलाई दिने सहमति अन्तिममा आएर रोकिएको छ । कञ्चनपुर ३ क मा समाजवादीका प्रकाश रावल र ख मा माओवादी मान बहादुर सुनारलाई उम्मेदवार बनाउने अनौपचारिक सहमति भएको थियो ।
काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच ३ क मा माओवादी इन्चार्ज टिकेन्द्र प्रसाद भट्टलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
डडेल्धुरा पुख्र्यौलीका कारण भट्टलाई ३ क मा उम्मेदवार बनाएर प्रदेश सभामा एक सीट बढ्ने भएपछि सभापति देउवाले समाजवादीलाई गठबन्धनबाट बाहिर राखि दिएका छन् । प्रदेश सभा ३ क भट्टलाई दिएर माओवादी साँसद मगर पनि अन्तिमसम्म सक्रिय रुपमा लागेको नेताहरुको भनाई छ ।
प्रदेश सभा ३ क मा समाजवादीका प्रकाश रावललाई उम्मेदवार बनाउन काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी लगायतका नेताहरुले प्रधानमन्त्री देउवासम्म लबिङ्ग गरेपछि उनी अन्तिममा पछि हटेको नेताहरु बताउँछन् ।
यस अघि भने काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक भने रावललाई उम्मेदवार बनाउन सकारात्मक देखिएको नेताहरुले बताएका थिए । एमाले छाडेर समाजवादी भएका रावल २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।