कञ्चनपुर २ क मा माओवादी नेता चौधरीको टिकट खोसिएपछि असन्तुष्टि बढ्यो, सत्तारुढ गठबन्धन नै संकट पर्ने नेताहरुको आशंका
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क मा सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रका नेता देवीलाल चौधरीको टिकट खोसिएपछि असन्तुष्टि बढेको छ । माओवादी केन्द्रले चौधरीका लागि पठाएकोे खाली टिकट सुदूरपश्चिम प्रदेश कमिटीले ओमबिक्रम भाट सरललाई दिएपछि नेता असन्तुष्टि बढेको हो ।
माओवादी नेताहरुका अनुसार शनिबार रातिसम्म चौधरीको नाममा आएको टिकट आइतबार विहान एकाएक भाटलाई दिइएको छ । माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले डडेल्धुरा पुख्र्यौली भएका कारण भाटलाई टिकट दिएको नेताहरुको भनाई छ ।
माओवादीका शनिबारसम्म टिकट पाउन निश्चित भएका चौधरी केन्द्रीय कमिटी सदस्य हुन् । माओवादी सशस्त्र जनयुद्धमा होमिएका उनी २०६४ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए । माओवादीको कञ्चनपुर इन्चार्ज भई सकेका छन् ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भाट प्रदेश सभा क र ख दुबैबाट सिफारिश भएका थिए । भाट माओवादी छाड्न अघि एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई विश्वासिला नेताका मानिएका थिए । भट्टले पार्टी छाडे पनि उनी भने माओवादीमा बसेका थिए । माओवादीका बलियो आर्थिक अवस्था भएका नेतामा पर्ने भाट अध्यक्ष प्रचण्डका पनि विश्वासिला मानिन्छन् ।
चौधरीको टिकट खोसेर भाटलाई टिकट दिएपछि सत्तारुढ गठबन्धन असहज अवस्थामा पुगेको अनुमान गर्न थालिएका छन् । चौधरीलाई टिकट नदिएपछि जित हारमा निर्णायक आदिवासी समुदाय रुष्ट हुने माओवादी नेताहरुको आशंका छ ।
‘देबीलालजीलाई मनाएर टिकट दिइएन, त्यसैले गाह्रो हुन सक्छ’ ती नेताले भने,‘पार्टीले यतिसम्म गरेर टिकट दिनु हुँदैन्थ्यो ।’