टिकट खोसिएपछि स्वतन्त्र लड्ने छलफल चलाएका माओवादी नेता चौधरी काँग्रेस उम्मेदवारलाई छाता ओढाउँदै पुगे निर्वाचन अधिकृत कार्यालय
महेन्द्रागर । टिकट खोसिएपछि विहान एमाले र माओवादीका असन्तुष्ट नेता कार्यकर्तासित स्वतन्त्र उम्मेदवारी दिन छलफल गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य देवीलाल चौधरी आइतबार दिउँसो सत्ता गठबन्धनका उम्मेदवारसंगै निर्वाचत अधिकृत कार्यालयमा देखिएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार एनपी साउँद र बहादुर सिह थापालाई छाता ओढाउँदै निर्वाचन अधिकृत कार्यालयमा देखिएका हुन् ।
सत्तारुढ गठबन्धनमा प्रदेश सभा क मा टिकट खोसिएपछि चौधरीले विहान एमाले र माओवादीका असन्तुष्ट कार्यकर्तासित छलफल गरेका थिए । छलफलका क्रममा रेशम चौधरीको नागरिक उन्मूक्ति पार्टीका नेता कार्यकर्ताको फोन आएपछि उनी त्यसैबाट चुनाव लड्ने निष्कर्षमा पुगेका थिए । उन्मुक्ति पार्टीबाट चौधरी चुनाव लडने भनेर चौधरी कार्यक्रमबाट बाहिरिएको सहभागी नेताहरु बताउँछन् ।
माओवादी केन्द्रले शनिबार रातिसम्म चौधरीलाई दिएको टिकट विहान ओमबिक्रम भाट सरललाई दिएपछि उनी असन्तुष्ट भएका थिए । भाट चौधरी भन्दा कनिष्ट नेता हुन् । टिकट खोसिएपछि उनले एमाले र माओवादीका असन्तुष्ट कार्यकर्ता बोलाएर छलफल गरेका थिए । सहभागीहरुका अनुसार एमाले छाडेका जयराज पाण्डेय र टेक हमाल पनि सहभागी भएका थिए ।
माओवादी केन्द्रीय सदस्य चौधरी २०६४ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि वैद्य माओवादी भएर माओवादी केन्द्रमा फर्किएका उनी यस पटक चुनाव लड्न खोजेका थिए । माओवादी केन्द्रले उनलाई टिकट दिने आश्वासन दिएपछि उनी ढुक्क भएका थिए ।
माओवादी केन्द्रले बेदकोट नगरपालिकाका भाटलाई उनको क्षेत्रमा लगेर टिकट दिएपछि उनी आश्चर्यमा परेका थिए । टिकट दिइएका भाट अर्को निर्वाचन क्षेत्रका हुन् । उनी माओवादी प्रदेश कमिटी सदस्य मात्रै छन् ।
सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभामा एनपी साउँद र प्रदेश सभा भाट र बहादुर सिह थापा उम्मेदवार भएका छन् । माओवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले डडेल्धुरा पुख्र्यौलीका आधारमा भाटलाई टिकट दिएका छन् । प्रदेश इन्चार्ज भट्ट र चौधरी दुबै माओवादीका जनयुद्धकालिन नेता हुन् ।