महेन्द्रनगर । सातौ पटक चुनावी मैदानमा होमिएका काँग्रेस केन्द्रीय सदस्य एनपी साउँद मतदाता सारी यस पटक टुरिष्ट उम्मेदवारको पहिचानबाट जोगिएका छन् । भीमदत्त नगरपालिका २ उल्टाखामका साउँदले स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकामा मतदाता सारेका हुन् । उनले शुक्लाफाँटा नगरपालिका ७ मा मतदान गरेका थिए ।
आफ्नो निर्वाचन क्षेत्रमा एक पटक चुनाव लडेर पराजित भएपछि उनी क्षेत्र बदलेर चुनाव लड्न थालेका हुन् । उनी पाँच पटक टुरिष्ट उम्मेदवार भएर चुनाव लडेका छन् । उनी २०५६ र २०७० मा निर्वाचित भएका छन् । त्यस बाहेक २०५१, २०७४ र २०७४ मा उनी पराजित भएका छन् ।
काँग्रेस नेता कार्यकर्ताले चुनावमा टुरिष्ट उम्मेदवार भनेपछि उनले गत वर्ष मतदाता सार्ने निर्णय लिएका हुन् । उनी शुक्लाफाँटामा जग्गा किनेका छन् ।
सत्तारुढ गठबन्धनबाट कञ्चनपुर २ मा उनीसंगं प्रदेश सभा सदस्यका उम्मेदवार बहादुर सिह थापा र ओमबिक्रम भाट दुबै आफ्नो क्षेत्र छाडेर अन्य क्षेत्रमा उम्मेदवार भएका छन् । चुनावका लागि काँग्रेसका थापाले निर्वाचन क्षेत्र नै बदलेका छन् ।
भीमदत्त नगरपालिका ६ का उनी कञ्चनपुर ३ छाडेर चुनाव लड्न २ मा पुगेका छन् । उनी २०६४ देखि क्षेत्र छाडेर चुनाव लड्न लागेका छन् । २०६४ मा पराजित भएर लडेका उनी त्यसपछिका दुईमध्ये एक निर्वाचन जितेर संसदमा पुगेका छन् । उनी यस पटक निर्वाचन क्षेत्र नं. २ ख मा प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् ।
प्रदेश सभा सदस्य ख का वासिन्दा माओवादी केन्द्रका नेता ओम बिक्रम भाट भने प्रदेश सभा सदस्य क मा उम्मेदवार भएका छन् । उनी माओवादी केन्द्रबाट दुबै प्रदेशबाट सिफारिश भएका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य देबीलाल चौधरीलाई टिकट नदिएर अन्तिममा भाटलाई उम्मेदवार बनाइएको छ । उनी उम्मेदवार भएपछि माओवादीभित्र असन्तुष्टि बढेको छ ।
सत्ता गठबन्धन बाहेक एमालेले पनि निर्वाचन क्षेत्र नं. २ क मा बाहिरबाट ल्याएर उम्मेदवार बनाएको छ । केही महिना अघि मात्रै जग्गा किनेर बसोबास थालेका राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिह प्रदेश सभा क मा उम्मेदवार भएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका सिह प्रदेश सभामा आएपछि एमालेभित्र व्यापक असन्तुष्टि चुलिएको छ । एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार जयराज पाण्डेय र टेक बहादुर हमालले पार्टी छाडेका छन् । हमाल प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएका छन् ।
स्वतन्त्र उम्मेदवार हमालले कैलालीको पहलमानपुरका सिहलाई ल्याएर उम्मेदवार बनाएपछि आफू स्वतन्त्र चुनाव लड्ने लागेको फेसबुकमा उल्लेख गरेका छन् ।
विद्यार्थी राजनीतिबाट एमालेमा सक्रिय सिह यस अघि बेदकोट नगरपालिकामा बस्दै आएका थिए । केही महिना अघि मात्रै उनले बाणीमा जग्गा किनेर बसोबास थालेको नेताहरु बताउँछन् । सिहले बाणीमा जग्गा किनेपछि धेरैले उनी निर्वाचन लड्ने आशंका गरेका थिए ।
एमालेबाट प्रतिनिधि सभा सदस्यमा निवर्तमान साँसद नर बहादुर धामी र प्रदेश सभामा सिह बाहेक संविधान सभा सदस्य कृपाराम राना उम्मेदवार भएका छन् । धामी र राना दुबै एमाले केन्द्रीय सदस्य छन् ।