महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीबाट कञ्चनपुरमा प्रदेश सभा सदस्यमा मात्रै उम्मेदवार चुनाव लड्न लागेका छन् । प्रतिनिधि सभा सदस्यका सिफारिश उम्मेदवार समेत उम्मेदवारी नदिएर चुनाव लड्न पछि हटेका छन् ।
सत्तारुढ गठबन्धनबाट समाजवादी बाहिर राखिएपछि प्रदेश सभाका दुई क्षेत्र चुनाव लड्न उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले निर्वाचन क्षेत्र नं. ३ क र पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले निर्वाचन क्षेत्र नं. २ ख मा उम्मेदवारी दिएका छन् । उनीहरु अघिल्लो निर्वाचनमा ती क्षेत्रम निर्वाचित भएका हुन् ।
प्रदेश सभा सदस्यका उम्मेदवार रावल प्रदेश सभा सदस्यका लागि सिफारिश भएका थिए । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २ बाट सिफारिश पूर्व मन्त्री खड्का भने प्रदेश सभा सदस्यमा झरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिश बीर बहादुर बुढाथोकी प्रतिनिधि सभाको समानुपातिक बसेका छन् । उनी निवर्तमान साँसद विना बुढाथोकीका श्रीमान हुन् । अघिल्लो निर्वाचनमा उनकी पत्नि बुढाथोकी समानुपातिक साँसद भएकी थिइन् ।
बुढाथोकी दम्पत्ति गत भदौमा एमाले फर्किने तयारी अन्तिममा रोकिएको थियो । एमालेले भदौ १५ गते गरेको पार्टी स्वागत कार्यक्रममा पार्टी प्रवेशका लागि उनीहरु दुबैको नाम उद्घोषण गरिएको थियो ।
समाजवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर एमाले हुँदै समाजवादी भएका राम अवतार रानाले पनि समानुपातिक उम्मेदवार भएका छन । यसैगरी प्रताप तिरुवा, र राधालक्ष्मी खरेल पनि समानुपातिक उम्मेदवार भएका छन् ।
प्रदेश सभा ३ क बाट माया पन्त र निर्वाचन क्षेत्र नं. २ क बाट तनुक लाल चौधरी समानुपातिक उम्मेदवार भएका छन् । चौधरी समाजवादीका अध्यक्ष माधव कुमार नेपालका विश्वासिला नेता हुन् । अर्का समानुपातिक उम्मेदवार पन्त समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तकी धर्मपत्नि हुन् ।
एमाले छाड्न अघि उनी २०७४ मा भीमदत्त नगरपालिकाको उप मेयर लडेकी थिइन् । नेता पन्त भने समाजवादीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका थिए । २०५१ को मध्यावधि निर्वाचन जितेका पन्तले त्यसपछि लडेका चुनावमा हारे व्यहारेका छन् ।
समाजवादीबाट टिकट नपाएपछि लोक बिक्रम थापा प्रदेश सभा ३ क बाट स्वतन्त्र उम्मेदवार भएका छन् । उनले अन्तिमसम्म टिकटका लागि प्रयास गरेका थिए ।