ghar sansar

कञ्चनपुर ३ क मा स्वतन्त्रको बाढी, दुबै गठबन्धनलाई होलान त भारी

महेन्द्रनगर । एमाले र काँग्रेसका उम्मेदवार नभएपछि कञ्चनपुर ३ क मा धेरै जना स्वतन्त्र उम्मेदवार भएका छन् । प्रदेश सभा सदस्यका १४ उम्मेदवारमा ११ जना स्वतन्त्र छन् ।

उम्मेदवार नभएका एमाले र काँग्रेस दुबै दलका स्वतन्त्र उम्मेदवार छन् । एमालेमा जिल्ला पदाधिकारी नै स्वतन्त्र उम्मेदवार भएका छन् । काँग्रेसबाट वडा अध्यक्ष निर्वाचितदेखि क्षेत्रीय सदस्यसम्म नेता स्वतन्त्र उम्मेदवार बनेका छन् ।

प्रदेश सभा ३ क मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट र एमाले राप्रपा गठबन्धनबाट राप्रपाका धर्मराज जोशी उम्मेदवार भएका छन् । काँग्रेस एमालेबाट उम्मेदवार नभएपछि ती दलका अन्य नेता स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेका जिल्ला उप सचिव कर्ण बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले नछाडेर स्वतन्त्र दिएका चन्दलाई उम्मेदवारी फिर्ताका लागि निर्देशन दिइएको छ । उनले एमाले उम्मेदवार नभएकाले आफूले नै उम्मेदवार भएको दावी गरेका छन् ।

काँग्रेसका क्षेत्रीय प्रतिनिधि पिताम्बर जोशी पार्टी छाडेर स्वतन्त्र उम्मेदवार भएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशी काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनाव लडेका थिए ।

बाणिज्य संघको अध्यक्ष निर्वाचित भएपछि उनी निजी क्षेत्रको प्रतिनिधित्व गर्दै यस पटक स्वतन्त्र भएर चुनावी मैदानमा आएका छन् ।

‘त्यहाँ काँग्रेसको उम्मेदवार नै छैन, भए पनि त्योसित मेरो कुनै सरोकार छैन, म काँग्रेस छाडेर नै स्वतन्त्र भएको हुँ’ उनले भने,‘निजी क्षेत्रको प्रतिनिधित्व गर्दै जनतामा गएको छु, मलाई मत दिनेमा विश्वस्त छु ।’

प्रदेश सभा सदस्यमा सबैभन्दा बढी काँग्रेसका नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवार भएका छन् । भीमदत्त नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष राम बहादुर जप्रेल स्वतन्त्र उम्मेदवार भएका छन् ।

स्थानीय तह निर्वाचनमा उनलाई पुनः वडा अध्यक्षमा टिकट नपाएपछि असन्तुष्ट भएका उनी प्रदेश सभा सदस्य उम्मेदवार भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी निर्वाचित भएका थिए । जप्रेललाई टिकट नदिएर ठेक्कापट्टामा संलग्न गगन सिह धामीलाई टिकट दिइएको थियो ।

काँग्रेसका झण्डा सधैं बोकि रहने भीमदत्त नगरपालिका १७ का गोपाल सिह बुडपाल पनि प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएका छन् । उनी कञ्चनपुर उद्योग बाणिज्य संघको कार्य समिति सदस्य छन् ।

भीमदत्त नगरपालिका ६ का तेज बहादुर लुहार, वडा नं. ५ का दिवान आग्री, वडा नं. १० का पदम सिह खत्री, वडा नं. ७ का महादेब भट्ट, वडा नं. १८ का लोकबिक्रम थापा र वडा नं. ६ का सुरेश दमाई स्वतन्त्र उम्मेदवार भएका छन् ।

उनीहरुमध्ये भीनपा १८ का थापा नेकपा एकीकृत समाजवादी छाडेर स्वतन्त्र उम्मेदवार भएका हुन् । उनी समाजवादीबाट प्रदेश सभा सदस्यमा सिफारिश गरिएका थिए ।

स्वतन्त्र उम्मेदवार आग्री राप्रपाको समानुपातिक उम्मेदवारी छाडेर उम्मेदवार भएका हुन् । उनी अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए । राप्रपाका उम्मेदवार जोशीसित मतभेद भएपछि उनी समानुपातिक छाडेर चुनाव लडेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...