आफ्नैको चुनौती झेल्दै उम्मेदवार

महेन्द्रनगर । सत्ता गठबन्ध र एमालेलाई यस पटक निर्वाचनमा आफ्नै नेता कार्यकर्ता चुनौती बनेर मैदानमा आएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुमध्ये अधिकाँश पार्टी छाडेर उम्मेदवार भएका छन् । टिकट नपाएपछि असन्तुष्ट भएर पनि धेरै जना चुनावी मैदानमा आएका छन् ।

मुख्यन निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ९ सीटका लागि दल र स्वतन्त्र गरी ८६ जना उम्मेदवार भएका छन् । त्यसमा ३१ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । प्रदेश सभामा ५५ जना चुनावी मैदानमा आएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा संघ तर्फ ८, २ मा १०, ३ मा १३ जनाले उम्मेदवारी दिएका छन । प्रदेश सदस्य ६ सिटका लागि क्षेत्र १ मा १६ , क्षेत्र २ मा २० र क्षेत्र ३ मा १९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

कञ्चनपुर निर्वाचन ३ मा सत्ता गठबन्धनका उम्मेदवार रमेश लेखक विरुद्ध प्रतिनधि सभा र प्रदेश सभा सदस्यसम्म नेता कार्यकर्ता उम्मेदवार भएका छन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह र शारदा चन्द लेखकका लागि प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धी भएका छन् । उनीहरुमध्ये अधिकारकर्मी चन्द काँग्रेस छाडेर चुनावी मैदानमा आएकी छन् । उनीहरु दुबै स्वतन्त्र उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा उनीहरु दुबै लेखकलाई जिताउन सक्रिय रुपमा लागेका थिए ।

प्रदेश सभा सददस्या काँग्रेसका क्षेत्रीय प्रतिनिधि पिताम्बर जोशी, निवर्तमान वडा अध्यक्ष राम बहादुर जप्रेल, गोपाल सिह बुडपाल लगायतका नेता स्वतन्त्र भएका छन् । काँग्रेस छाडेर दुर्गादत्त पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस प्रदेशमा एमाले राप्रपा गठबन्धन विरुद्ध एमालेका कर्ण बहादुर चन्द स्वतन्त्र उम्मेदवार भएका छन् । एमालेबाट पोलिटब्युरो सदस्य निरुदेवी पाल उम्मेदवार भएका छन् । उनी राप्रपासित तालमेल गरी चुनावी मैदानमा गएकी छन् ।

काँग्रेसका लेखकका लागि दोधारा चाँदनीका धन बहादुर शाही र स्वतन्त्र उम्मेदवार भीम बहादुर कुमाल चुनौती बनेर उभिएका छन् । काँग्रेस छाडेर काँग्रेस विपीबाट उम्मेदवार भएका शाही काँग्रेसको साविक दोधारा सभापति हुन् । माओवादी छाडेर स्वतन्त्र भएका कुमाल यस अघि स्थानीय तह निर्वाचनमा मेयर लडि सकेका नेता हुन् ।

कञ्चनपुर १ मा एमालेका प्रतिनिधि सभा सदस्य विरुद्ध नेता कार्यकर्ता चुनावी मैदानमा आएका छन् । यस क्षेत्रमा उनीसित सत्ता गठबन्धनकी विना मगर चुनावी प्रतिस्र्धी छन् । टिकट नपाएपछि यस क्षेत्रका एमाले नेता असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार भएका छन् । एमालेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्य दुबैका दाबेदार असन्तुष्ट छन् ।

प्रतिनिधि सभा सदस्यका लागि सिफारिश खेम सुवेदी, प्रदेश सभा क बाट सिफारिश भक्तराज अधिकारी र स्थिर प्रसाद घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश सभा ख मा टेक बहादुर साउँदले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेले प्रतिनिधि सभा सदस्य सिफारिश भएका बीर बहादुर थापालाई प्रदेश सभा क उम्मेदवार भएपछि प्रदेश सिफारिश भएका नेता असन्तुष्ट भएका छन् । प्रदेश सभा ख मा चुनाव लडाउन तयारी गरिएका सुवेदीलाई अन्तिममा टिकट नदिएर एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट उम्मेदवार भएका छन् ।

निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका एनपी साउँद र एमालेका नर बहादुर धामी दुबैका लागि स्वतन्त्र चुनौती बनेका छन् । सत्ता गठबन्धनमा माओवादी नेता देवीलाल चौधरीको टिकट खोसिएपछि नेता कार्यकर्ता असन्तुष्ट भएका छन् । यस क्षेत्रमा काँग्रेस र माओवादी दुबै दलका नेता स्वतन्त्र भएर चुनावी मैदानमा आएका छन् ।

काँग्रेस छाडेर इन्जिनियर जगदिश अवस्थी स्वतन्त्र र बीर बहादुर बोहरा काँग्रेस विपीबाट उम्मेदवार भएका छन् । माओवादी केन्द्र छाडेर दैजीका झंकरराज जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

काँग्रेसका नारायणदत्त बोहरा पनि स्वतन्त्र उम्मेदवार भएका छन् । माओवादी केन्द्रका जितबहादुर करिया कंग्रहवा पनि स्वतन्त्र भएर उम्मेदवार भएका छन् ।

टिकट नपाएपछि एमाले छाडेका टेक हमाल स्वतन्त्र उम्मेदवार भएका छन् । एमालेबाट टिकट नपाएपछि हमाल र जयराज पाण्डेयले पार्टी छाडेका थिए ।

प्रतिनिधि सभा सदस्यमा सिफारिश गरिएका राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिहलाई उम्मेदवार बनाएपछि उनी दुबै जना असन्तुष्ट भएका हुन् । उम्मेदवारी दर्ताको अघिल्लो दिन उनीहरुले एमाले छाडेका थिए ।

सत्ता गठबन्धनमा चौधरीको टिकट खोसेर ओमबिक्रम भाट उम्मेदवार भएपछि माओवादी केन्द्रको मत नागरिक उन्मुक्ति पार्टीतिर जाने चिन्ता बढेको छ । त्यस प्रदेशमा कानुन पृष्ठभूमिकी गीता चौधरी उम्मेदवार भएकी छन् । उनले फेसबुकमा आफूलाई प्रचार सुरु गरि सकेकी छन् ।

Sisu
सम्बन्धित
Loading...